कङ्गोमा लडाकुकाे आक्रमणमा परेर २४ जनाकाे ज्यान गयाे

 माघ १७, २०७६ शुक्रबार १५:४८:११ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रजातान्त्रिक देश कङ्गोको पूर्वमा एलाइड डेमोक्रेटिक फोर्सेजका लडाकुले गरेको पछिल्लो आक्रमणमा २४ सर्वसाधारणको ज्यान गएको छ। 

यसै साताभित्र विद्रोही लडाकुको आक्रमणबाट मारिनेको संख्या ६० पुगेको अधिकारीहरुले बताएका छन् । अस्थिर बेनी क्षेत्रको ओइचा नजिकै २४ जनाको शव भेटिएको वरिष्ठ प्रशासक डोनाट किबवानाले जानकारी दिनुभयो । 

तर कङ्गो अनुसन्धान समूह र ह्युमन राइट्स वाचको संयुक्त विज्ञप्तिमा त्यस आक्रमणमा १९ जनाको मात्र ज्यान गएको उल्लेख छ । कङ्गोको सेनाले एडीएफ समूह विरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेको छ ।

छिमेकी मुलुक युगान्डामा स्थापना भएको एडीएफ हाल कङ्गोको पूर्वमा सक्रिय छ । यो क्षेत्र लामो समयदेखि विभिन्न समूहको आक्रमणबाट आक्रान्त छ । कङ्गो र यसका छिमेकी देशमा सक्रिय समूहहरु आम नागरिकको नरसंहारमा निरन्तर संलग्न रहेको पाइएको छ । 

बेनीमा अक्टोबर २०१४ देखि सक्रिय एडीएफले एक हजारभन्दा बढी नागरिकको हत्या गरिसकेको छ । यो समूह मूल रुपमा अतिवादी इस्लामिक विद्रोही समूह हो । यस समूहले सुरुका वर्षहरुमा युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीको विरोधीका रुपमा आफूलाई उभ्याएको थियो ।  

सन् १९९५ देखि यो समूह कङ्गो युद्धमा सहभागी भएको थियो र युगान्डाभित्र सैन्य कारबाही रोकेको थियो । यो समूहमा विभिन्न देशका नागरिक भर्ती भएको अनुमान छ । 

संयुक्त राष्ट्रका विज्ञहरूले २०१८ मा यो समूहमा करिब ४५० जना लडाकु मात्र रहेको बताएका छन् । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया