वैदेशिक रोजगारीको नाममा कसैले प्रलोभन देखाउँदैछ ? प्रहरीमा उजुरी दिनुहोस्

 माघ १७, २०७६ शुक्रबार १५:५१:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – के तपाईँलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै राम्रो काम र कमाइको प्रलोभन देखाएर कसैले पैसा मागिरहेको छ ? या तपाईँसँग रकम उठाइसकेको छ ? 

अहिले सरकारले एजेण्ट रहने व्यवस्था खारेज गरेकाले तपाईँलाई कोही व्यक्तिले प्रलोभनमा पारेर वा कुनै बहाना गरेर वैदेशिक रोजगारीको नाममा ठगीमा पर्दैैछु भन्ने लागेमा आफ्नै ठाउँमा रहेको प्रहरी कार्यालयको मुद्दा इकाइमा उजुरी दिनुहोस् । 

वैदेशिक रोजगारीको नाममा पीडित हुनेले अब न्याय माग्न काठमाण्डौ नै आउन पर्दैन । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीच समझदारी भएसँगै अब आफूलाई पायक पर्नेे आफ्नो गाउँ घर नजिकैको प्रहरी चौकीसहित अन्य प्रहरी ईकाईमा पनि उजुरी दिन सकिन्छ। 

इजाजत नलिइ वैदेशिक रोजगारीको काम गरे पक्राउ

अहिले ४३ लाखभन्दा धेरै नेपाली वैदेशिक रोजगारीको सिलसिलामा गएका छन् । देशभित्र गाउँगाउँमा वैदेशिक रोजगारीको ठगी व्याप्त छ । सरकारले एजेण्ट खारेज गरिसकेको छ तर एजेण्टले वैदेशिक रोजगारीमा पठाउँछु भन्दै रकम असुल्दै ठग्न छाडेका छैनन् । 

तर अब वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत प्राप्त नगरी वैदेशिक रोजगारीमा पठाउँछु भन्दै कुनै व्यक्ति, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, सहकारी लगायतले पैसा लिने, पासपोर्ट लिने र प्रलोभन देखाएमा त्यस्ता व्यक्ति वा संस्थाका सञ्चालकलाई प्रहरीले पक्राउ गर्नेछन् । यसरी पक्राउ गरेको व्यक्तिलाई वैदेशिक रोजगार विभागमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नका लागि पठाउन पर्छ । 

व्यवसाय गर्न इजाजत नलिएकाले प्रलोभन दिने, पैसा उठाउने गरेको सूचना प्राप्त भएमा विभागले प्रहरीसँग समन्वय गरी त्यस ठाउँमा छापा मार्न पठाउन सक्नेछ । 
तर यसअघि यसरी ठगीमा परेमा पनि न्याय माग्न काठमाण्डौ नै आउन पर्थ्यो।

पछिल्लो समय प्रमुख जिल्ला अधिकारीलाई वैदेशिक रोजगारीको मुद्दा हेर्न जिम्मेवारी दिइएको थियो । अब प्रहरीको इकाईले उजुरीका सम्बन्धमा पीडितले उजुरीसाथ पेश गरेका प्रमाणले आरोप प्रमाणित हुने अवस्था देखिएमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मार्फत कारबाही चलाउन सक्नेछ । यसका लागि प्रहरीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लेखी पठाउनेछ ।

पीडितले वैदेशिक रोजगार खुल्ने कागज, प्रमाण, लिखत, बैंक भौचर, मनि ट्रान्सफरको भौचर वा अन्य परिस्थितजन्य प्रमाण (साक्षीसँग सोधपुछ गर्ने लगायत)को आधारमा कसैले वैदेशिक रोजगारसम्बन्धी कसुर गरेको खुल्ने भएमा वैदेशिक रोजगार ऐनअनुसार प्रजिअमार्फत कारबाही अघि बढाउन सक्ने विभागले जनाएको छ।

तर, आरोपित व्यक्ति इजाजतपत्रवाला म्यानपावर कम्पनी संस्थाको सञ्चालक वा कर्मचारी भएमा प्रहरीले उजुरीलाई सोझै वैदेशिक रोजगार विभाग काठमाण्डौमा पठाउने छ । 

‘वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्दा न्याय माग्न अब काठमाण्डौ आउन त पर्दैन नै साथै, आफ्नै गाउँठाउँबाटै न्यायको प्रक्रिया अघि बढ्दा पीडितलाई सजिलो हुने र न्याय पनि पाउने विश्वास लिएका छौं,’ महानिर्देशक भूसाल भन्नुहुन्छ, ‘हामीले न्याय माग्ने बाटोहरु खुल्ला गरिदिएका हौं ।’

न्याय प्रक्रिया छिटो बनाउनका लागि प्रहरीसँगको समन्वयमा विभागको अनुसन्धान टोलीले सँगसँगै खटेर काम गर्ने र न्याय जतिसक्दो छिटो दिलाउने विभागका महानिर्देशक भूसालले बताउनुभयो । 

व्यक्तिगत ठगी घट्यो

एजेण्ट खारेजपछि व्यक्तिगत ठगीको उजुरीमा ४४ प्रतिशतले कमी आएको वैदेशिक रोजगार विभागले जनाएको छ । गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा यो आर्थिक वर्षको पहिलो ६ महिनामा व्यक्तिगत ठगीमा ४४ प्रतिशतले कमी आएको महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिनुभयो । 

यस्तै, ठगीमा उजुरीकर्ताले दाबी गरेको बीगो रकममा ३० प्रतिशत घटेको र विभागले आरोपितहरूका विरुद्ध अदालतमा दाबी गरेको बीगो रकम ३७ प्रतिशतले बढेको  विभागले जनाएको छ । 

नेपाल प्रहरीसँगको भएको सम्झौताले व्यक्तिगत ठगी थप नियन्त्रण हुने महानिर्देशक भूसालले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया