कोरोना भाइरसकाे स‌ङ्क्रमण रोकथामका लागि उच्चस्तरीय समिति गठन

 माघ १७, २०७६ शुक्रबार १८:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको स‌ङ्क्रमण रोकथामका लागि सरकारले उच्चस्तरीय समिति बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार उच्चस्तरीय समितिसहित तीनवटा समिति गठन गरेको हो ।  

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति गठन भएको छ । स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

चीनको वुहान शहरमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि आउनसक्ने भएकाले उच्च सतर्कतासहित काम गर्न समिति गठन गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयाे।  उहाँका अनुसार सरसकारले कोरोना भाइरस रोकथामका लागि थप अरु काम गर्दै जानेछ । 

यस्तै उहाँले नेपालमा अहिले आत्तिइहाल्नु पर्ने अवस्था नआएको पनि बताउनुभयो । यस्तै, कोरोना भाइरसबारे जाँच, स्वास्थ्यकर्मीलाई तालिम र चेतना अभिवृद्धि कार्यक्रमका लागि डाक्टरसहितको टोली शुक्रबार केरुङ र तातोपानी नाकामा पुगेको छ । 

स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहितको टोली त्यसतर्फ गएको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया