निर्भया बलात्कार र हत्यामा संलग्नलाई मृत्युदण्ड फेरि राेकियाे

 माघ १८, २०७६ शनिबार ७:३५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड पुनः रोकिएको छ । गएको माघ ३ गते पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चारजना दोषीलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइने भनिए पनि फेरि रोकिएको हो । 

जीवनरक्षाको अपिल गरेकामध्ये विनय शर्माको मुद्दा अदालतमा विचाराधिन रहेकाले तोकिएको मितिमा फाँसी नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब पटियाला हाउस कोर्टले डेथ वारेन्टीको आदेश नदिएसम्म उनीहरुको मृत्युदण्ड नहुने खबरमा उल्लेख छ । 

यसअघि जनवरी २२ अर्थात माघ ८ गते नै उनीहरुलाई फाँसी दिनेगरी सजाय सुनाइए पनि फाँसीको दिन फेब्रुअरी १ तारिखका लागि सारिएको थियो । अदालतले बलात्कार घटनाका दोषी ठहर गरेका अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई बिहान ६ बजे फाँसी दिने फैसला गरेको थियो ।

अदालतले दोषी ठहर गरेकामध्ये मुकेश सिंहले दिएको जीवनरक्षाको अपील राष्ट्रपति रामनाथ कोविन्दले खारेज गरिदिनुभएको थियो । घटनामा संलग्न मुकेशका दाजु राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् ।

राष्ट्रपतिले जीवनरक्षाको अपिल खारेज गरेपछि अदालतका अधिकारीले चार जना दोषीको विरुद्धमा नयाँ ‘डेथ वारेन्ट’ जारी गरेकोे हो । सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षकी एक मेडिकल छात्रालाई गुडिरहेको बसमा सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा चारजनालाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

यस्तो थियो घटना

सन् २०१२ डिसेम्बर १६ तारिखमा रातीको समयमा दिल्लीमा २३ वर्षकी छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलात्कार गरेका थिए । 

चारजना दोषीबाहेक एक प्रमुख आरोपित राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए । घटना हुँदा नाबालिग रहेका एकजना अपराधीलाई सुधारगृह पठाइएको थियो । 

सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो । उनलाई सन् २०१३ अगष्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो ।

उनी अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन् । बाहिर राख्दा उनलाई असुरक्षा हुने ठानेर उनलाई सँस्थामा राखिएको हो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया