कोरोना भाइरस : वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउने प्रक्रिया सुरु

 माघ १८, २०७६ शनिबार ८:४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोना भाइरसको संक्रमण रहेको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन प्रक्रिया सुरु गरेको छ । नेपाली विद्यार्थीलाई स्वदेश ल्याउनको लागि सहजीकरण गर्न चीन सरकारलाई पत्र पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसरी ल्याउने विद्यार्थीलाई आइसोलेसन अर्थात छुट्टै ठाउँमा राख्ने व्यवस्था भएपछि मात्र चीनले फिर्ता ल्याउन अनुमति दिनेछ । यसरी ल्याइएका विद्यार्थीलाई आवश्यक पर्दा निगरानीको लागि छुट्टै ठाउँको व्यवस्था गर्न काठमाण्डौका केही अस्पताललाई निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ ।

 वुहान शहरमा रहेका नेपाली विद्यार्थीमध्ये १ सय ७७ जना नेपाली दूतावासको सम्पर्कमा छन् । उनीहरु कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भए पनि मनोवैज्ञानिक त्रासमा छन् । विद्यार्थीहरुले आफूहरुलाई छिटो स्वदेश फर्काउने पहल गर्न सरकारसँग आग्रह गर्दै आएका छन् । 

यसैबीच स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपालीलाई नआत्तिन तर सजक हुन अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ती निकालेर चीन सरकारले चालेका कदमलाई मनन गरी सुरक्षाका लागि चालिएका सबै प्रयासमा सहयोग गर्न आग्रह गरेको छ । 

वुहानमा रहेका नेपालीलाई बेइजिङमा रहेको नेपाली दूतावासको नियमित सम्पर्कमा रहन पनि मन्त्रालयले भनेको छ । स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपालीको स्वास्थ्य सुरक्षा तथा अरु आवश्यक व्यवस्थाका लागि प्रतिवद्ध रहेको पनि जनाएको छ । 

कोरोना भाइरसको संक्रमणको रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उच्चस्तरीय समिति पनि बनाएको छ ।  

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया