व्यापार घाटा सुधारतर्फ : निर्यात २६ प्रतिशतले बढ्यो, आयात ४ प्रतिशतले घट्यो

 माघ १८, २०७६ शनिबार ११:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा सुधारतर्फ गैरहेको देखिएको छ । भन्सार विभागले निकालेको तथ्याङ्क अनुसार साउनदेखि पुस महिनासम्म ६ खर्ब ९४ अर्ब रुपैयाँको सामान आयात भएको छ । 

यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा ४  दशमलव ०४ अङ्कले कमी हो । अघिल्लो आर्थिक वर्षको ६ महिनामा ७ खर्ब २३ अर्ब रुपैयाँको सामान आयात भएको थियो । 

निर्यात व्यापार भने गएको आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा २६ दशमलव १३ प्रतिशतले बढेको छ । साउनदेखि पुससम्म नेपालले ५७ अर्ब २७ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले ४५ अर्ब ४१ करोड रुपैयाँको सामान निर्यात गरेको थियो । 

आयात घट्दा र निर्यात बढ्दा व्यापार घाटामा पनि केही सुधार भएको छ । ६ महिनामा व्यापार घाटा ६ दशमलव ०६ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ ।

६ महिनामा देशको समग्र व्यापार पनि २ दशमलव २६ प्रतिशतले घटेर ७ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत  र निर्यातको झण्डै ८ प्रतिशत रहेको छ । 


 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया