चीनमा रहेका विद्यार्थी ल्याउन जहाज तयारी अवस्थामा छ : पर्यटनमन्त्री भट्टराई

 माघ १८, २०७६ शनिबार १२:४६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन जहाज तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा रहेको बताउनुभएको हो । 

पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताउनुभयो । 

चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् । अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि दुईवटा जहाज तयारी अवस्थामा रहेको बताउनुभएको हो । 

‘आवश्यक पर्‍यो भने दुईवटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन् । दुबै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु । कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ’, उहाँले भन्नुभयो ।

बाहिर फैलाइएजस्तो भयावह अवस्था नभएको चिनियाँ अधिकारीहरुले आफूहरुलाई विश्वस्त बनाएको पनि उहाँले बताउनुभयो । 

‘यही होला भन्न त सकिन्न तर धेरैले आफ्नो स्वार्थपूर्तिका लागि यस्तो प्रचार गर्ने गर्दछन् हामी जोगिनुपर्छ’ उहाँले भन्नुभयो । नेपाल आउने पर्यटक र आउन चाहने पर्यटकहरुलाई नेपाल सुरक्षित र ठिक छ भन्ने सन्देश प्रवाह गर्न पनि उहाँले सबैमा आग्रह गर्नुभएको छ । 

विभिन्न पर्यटकीय स्थलहरुमा अझै प्रचार सामग्री अपुग भएको उल्लेख गर्दै भट्टराईले ठमेल, लुम्बिनी लगायतका क्षेत्रमा नेपाली, अंग्रेजी र चिनियाँ भाषाका प्रचार सामग्री पठाउने तयारी भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया