कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई भरतपुर अस्पतालमा छुट्टै कक्ष

 माघ १८, २०७६ शनिबार १३:६:५२ | रासस
unn.prixa.net

चितवन - छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार सुरु गरेको छ । 

उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच शय्याको छुट्टै कक्ष खडा गरी सेवा सुरु गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीका अनुसार शङ्कास्पद बिरामीलाई अलग्गै परीक्षण गरी उपचार गर्नका लागि आइसोलेसन वार्ड खडा गरी काम सुरु गरिएको छ । 

अस्पतालको ए ब्लकमा कक्ष खडा गरिएको छ । अस्पतालमा कार्यरत  विशेषज्ञ  चिकित्सक डा‍‍ प्रमोद पौडेल र कल्याण सापकोटालाई कक्षको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । 

उहाँहरु दुवै फिजिसियन हुनुहुन्छ । परीक्षणबाट कुनै बिरामीमा कोरोना भाइरसको सङ्क्रमणको शङ्का लागेमा नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाउने व्यवस्था मिलाइएको छ । 

बिरामी र सर्वसाधारणको लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक सामग्री बनाएर प्रकाशन एवं प्रसारणको प्रक्रिया सुरु गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो । 

नियमितरुपमा साबुनपानीले हात धुने, फ्लूजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरेमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिनेछ । 

यस्तै खोक्दा वा हाँछ्यु गर्दा नाक र मुख छोप्ने, फ्लूजस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खान पौडेलले सुझाव दिनुभयो । 

अस्पतालले त्यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि कोरोना भाइरससम्बन्धी विशेष प्रशिक्षण एवं अन्तक्र्रिया कार्यक्रम गर्ने जनाएको छ । 

केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया