कोरोना भइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र : मन्त्री ढकाल

 माघ १८, २०७६ शनिबार १७:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताउनुभएको छ ।

मन्त्री ढकालले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले ब्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताउनुभयो ।
 
अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भन्नुभयो, ‘१४/१५ दिनसम्म कैयौँ बिरामीलाई हामीले राख्यौँ, तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ ।’

उहाँले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरिकाले राख्नसक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालिम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताउनुभयो । 

ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उहाँले जानकारी दिनुभयो । बिरामीको सङ्ख्याका आधारमा केन्द्र बनाइने उहाँले बताउनुभयो ।

सरकारले अहिले १०० भन्दा बढी शय्याको विशेष उपचार ९आइसोलेसन० कक्ष तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभयो । पच्चीस शय्याका दुई घुम्ती अस्पताल पनि रहेको मन्त्री ढकालको भनाइ थियो । रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताउनुभयो । 

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड, सुझाव र निर्देशनअनुसार अघि बढेको उहाँको भनाइ थियो । हालसम्म नेपालमा पाँच जना बिरामीलाई रोगको आशङ्का भएकाले परीक्षण गरिएकामा तीन जनामा नेगेटिभ देखिएको र बाँकी दुई जनालाई निगरानीमा राखिएको मन्त्री ढकालले बताउनुभयाे। 

चीनमा रहेका विद्यार्थीलाई फर्काउने विषयमा आवश्यक गृहकार्य अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री ढकालले सर्वसाधारण र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले सङ्घ मातहत रहेका अस्पतालमा विकास समिति गठनका लागि प्रक्रिया अघि बढेको बताउनुभयो । स्तरोन्नति भएका अस्पतालमा प्राप्त स्रोत, साधन उपयोग गरी उपचारमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २२, २०७६

तपाईको प्रतिक्रिया