नेपाल भ्रमण वर्षका लागि वैकल्पिक पर्यटन बजारको खोजी

 माघ १८, २०७६ शनिबार २०:२३:३१ | रासस
unn.prixa.net

काठमाण्डाै - सरकारले चीनमा देखिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावलाई मध्यनजर गरी वैकल्पिक पर्यटन बजारको खोजी गर्ने भएको छ ।

प्रमुख पर्यटकीय स्रोत बजारका रूपमा रहेको चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा प्रभाव पार्ने सम्भावित जोखिम नियन्त्रण र वैकल्पिक पर्यटन बजारको खोजी गर्न लागिएको हो । 

कोरोनाको प्रभावका कारण चीनबाट नेपाल आउने पर्यटकको कमीलाई पूर्ति गर्न अन्य गन्तव्य बजारको खोजी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एउटा समिति गठन गरी काम अघि बढाएको छ ।

त्यस प्रयोजनका निम्ति मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीको एक समिति बनाइएको छ । समितिलाई तीन दिनभित्र सङ्क्रमण व्यवस्थापनका लागि वैकल्पिक बजारका लागि प्रस्तावसहितको प्रतिवेदन मन्त्रालयसमक्ष पेश गर्न निर्देशन दिइएको छ ।

चीनबाट हुनसक्ने पर्यटकको कमीलाई पूर्ति गर्न अन्य वैकल्पिक गन्तव्य बजारको खोजी भइरहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिनुभयो ।

काेरोना भाइसरको प्रकोपले नेपालको पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरणका विषयमा आज सरोकारवालासँगको छलफलमा उहाँले वैकल्पिक बजारका रूपमा खाडी मुलुकलगायतका गन्तव्यमा पर्यटन प्रवर्द्धनको काम तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।

चिनियाँ पर्यटक कम आउने तथा होटल, एयरलाइन्सले पनि आफ्ना सेवामा कटौती गर्न थालेका सन्दर्भमा वैकल्पिक बजार खोज्नु नेपालका लागि अपरिहार्य भइसकेको छ । सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष अभियानको रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

भ्रमण वर्षको औपचारिक शुभारम्भ गरी प्रवर्द्धनात्मक गतिविधि सञ्चालन भइरहेको छ । भ्रमण वर्ष अवधिमा चीनबाट मात्रै पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य थियो । तर, यो लक्ष्यलाई अहिले चीनमा देखापरेको कोरोना भाइरसको प्रकोपले प्रत्यक्ष असर पुग्ने देखिएको छ । 

चीनमा फैलँदै गएको कोरोना भाइरसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्न जाने सम्भावना औँल्याउँदै सरोकारवालाले पनि वैकल्पिक बजारको खोजी गर्न आग्रह गर्दै आएका छन् । नेपालको प्रमुख पर्यटकीय स्रोत बजार चीनबाट वार्षिकरूपमा दुई लाखभन्दा बढी पर्यटक नेपाल आउने गरेका छन् ।

पछिल्ला चार वर्षको आँकडा हेर्दा चिनियाँ पर्यटकको सङ्ख्यामा निरन्तर बढोत्तरी भइरहेको छ । पर्यटन बोर्डका अनुसार चीनबाट सन् २०१६ मा एक लाख चार हजार पाँच, सन् २०१७ मा एक लाख छ हजार र सन् २०१८ मा एक लाख ५३ हजार ६३३ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
    
अध्यागमन विभागको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०१९ मा झण्डै १२ लाख पर्यटक नेपाल आएका छन् । एघार लाख ९७ हजार १९१ पर्यटक आएका छन् ।   यो सङ्ख्यामध्ये चीनबाट सर्वाधिक बढी एक लाख ६९ हजार पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१८ मा १२ लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
    
मन्त्री भट्टराईले भ्रमण वर्ष मनाइरहेका बेला चीनबाट हुनसक्ने पर्यटकको कमीलाई अन्य गन्तव्यबाट पूर्ति गर्ने गरी बजार पहिचान र प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अघि बढाइने बताउनुभयो ।

उहाँले भ्रमण वर्षको अवधिमा चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन चीनले माथिल्लो निकायदेखि तल्लोतहसम्म चासो दिएको जानकारी गराउनुभयो । “नेपाल अहिले पनि पर्यटनका हिसाबले सुरक्षित छ, सरकार सजग र संवेदनशील भएर लागेको छ”, उहाँले भन्नुभयो ।

पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चीनबाट हुने पर्यटकीय क्षतिलाई पूर्ति गर्न अन्य पर्यटकीय गन्तव्य बजारको खोजी र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक घिमिरेले चीनसँग सीमा जोडिएका नाकामा स्वास्थ्य कक्ष खडा गरी निरन्तर अनुगमन भइरहेको जानकारी दिनुभयो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यागमनमा कुनै समस्या नरहेको तर कोरोनाको अनावश्यक प्रचार भइरहेको गुनासो गर्नुभयो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि विमानस्थलले विशेष सतर्कता अपनाएको बताउनुभयो । नेपाल एयरलाइन्सका सर्भिस निर्देशक जनकराज कालाखेती निगमका गन्तव्यमा कोरोना भाइरसको प्रकोप नरहेको र सम्भावित जोखिम नियन्त्रणका लागि आन्तरिक प्रयास गरिएको उल्लेख गर्नुभयो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनका केही गन्तव्यमा छोटो अवधिका लागि उडान सेवा स्थगन गरिएको बताउनुभयो । होटल एशोसिएशन अफ नेपाल ९हान० का प्रथम उपाध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अहिलेसम्म प्रभाव नपरेको र सदस्य होटललाई सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० का अध्यक्ष खोमबहादुर सुवेदीले सरकारी निकायबाट कोरोनाको प्रकोप नरहेको सन्देशसहितको विज्ञप्ति जारी गरिनुपर्नेमा जोड दिनुभयो ।
 
चीनमा रहेका नेपाली सुरक्षित छन् 
    
कोरोना भाइसरको प्रकोपबाट चीनमा रहेका नेपालीहरु सुरक्षित रहेको पर्यटन मन्त्रालयले जनाएको छ । नेपालस्थिति चिनियाँ दूतावास र चीनस्थित नेपाली दूतावासको समन्वयमा जानकारी लिइरहेको र हालसम्म कुनै समस्या नरहेको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताउनुभयो । सचिव अधिकारीले कोरोना भाइरसको प्रकोपबाट सुरक्षित हुन सरकारले सबै किसिमका संयन्त्र परिचालन गरेको उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री भट्टराईले चीनमा भएका सबै नेपाली विद्यार्थीमा कुनै समस्या नरहेको तर अन्य मुलुकले आफ्ना नागरिक स्वदेश फर्काइरहेका सन्दर्भमा आवश्यक परेको खण्डमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरुलाई स्वदेश ल्याउने गरी योजना बनाइएको जानकारी दिनुभयो । यद्यपि, यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले चीन सरकारसँग समन्वय गरिरहेको जनाइएको छ ।
    
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले नेपालमा कोरोना भाइरसको प्रकोप फेला नपरेको र केही शङ्कास्पद व्यक्तिमा गरिएको परीक्षणबाट समेत नपाइएकाले हल्लाभन्दा पनि सतर्कता अपनाउनेतिर ध्यान केन्द्रित भएको बताउनुभयो । उहाँले देशभरको संयन्त्रलाई परिचालन गरिएको र सम्भावित स्थानमा स्वास्थ्यकक्ष खडा गरी निगरानी बढाइएको बताउनुभयो ।
     
नेपाली राजदूतावास बेइजिङ, हुबेइ/उहानसहित चीनमा रहनुहुने सबै नेपालीसँग नियमित सम्पर्कमा छ । सङ्क्रमणसम्बन्धी आधिकारिक जानकारी एवं सल्लाह, सुझाव तथा सहयोगका लागि दूतावासले स्थापना गरेका हटलाइन, बेइजिङ, ग्वाञ्जाओ, ल्हासा, हङ्कङ र साङ्घाइमा सम्पर्क गर्न अनुरोध गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणका कारण उत्पन्न असाधारण अवस्थामा चीन सरकारले चालेका कदमलाई मनन् गरी यो अवस्थाबाट नआत्तिन, अफवाह वा हल्लाबाट जोगिन एवं सङ्क्रमण नियन्त्रण र सुरक्षाका लागि चालिएका प्रयासमा हरसम्भव सहयोग गर्न चीनमा रहेका सम्पूर्ण नेपालीलाई आग्रहसमेत गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

– राससका लागि सिबी अधिकारीले तयार पार्नुभएकाे

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया