चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो

 माघ २०, २०७६ सोमबार ७:८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ । 

एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ । चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ । 

यस्तै थप ३ हजारमा कोरोना संक्रमण भएको पनि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । अब संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ । चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ । 

चीनमा कडाई 

कोरोना भाइरसको कारण चीनको वुहान सहरमा यातायात तथा बजार सबै बन्द रहेका छन् । वुहानभन्दा बाहिरका शहरहरुमा पनि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । ६० लाख जनसंख्या रहेको वुहानको पूर्वी सहरमा कोरोनाको प्रकोप अझै बढ्न सक्ने भन्दै स्थानीय सरकारले चेतावनी दिएको छ । 

चिनिया सरकारी सञचारमाध्यमले वुहान सहरबाट ७ लाखभन्दा धेरै मानिस वुहानमा नाकाबन्दी गर्नुअघि नै सहर छाडेर बाहिर गईसकेका बताएका बीबीसीले जनाएको छ । 

वुहानको पूर्वी सहर वेन्जुउमा बसोबास गर्नेहरूलाई खाना र अन्य अत्यावश्यक सामान किन्नको लागि एउटा परिवारको एक जनालाई दिनमा दुई पटक घरबाट बाहिर निस्कन अनुमती दिएको छ । बाँकी समय कोही पनि घर बाहिर निस्कन पाउँदैनन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया