चीनबाट नेपाल फर्कन १ सय ८० जनाको आवेदन, छुटेकालाई इमेल गर्न दूतावासको आग्रह

 माघ २०, २०७६ सोमबार ९:३१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चीनको हुबेइ प्रान्तका विभिन्न सहरमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्कनको लागि आवेदन दिएका छन् । उनीहरुले आइतबार आवेदन दिएका चीनमा रहेका नेपाली दूतावासले जनाएको छ ।

दूतावासले आवेदन दिनेहरुको नाम सार्वजनिक गर्दै आफ्नो नाम रहे, नरहेको यकीन गर्न भनेको छ । सूचीमा नाम नभएमा आफ्नो व्यक्तिगत विवरणसहित  [email protected] मा इमेल गर्न दूतावासले आग्रह गरेको छ । 

राख्ने ठाउँको खोजी हुँदै

कोरोना भाइरसको संक्रमण फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्ने ठाउँ खोज्ने गृहकार्य भइरहेको सरकारले जनाएको छ । डाक्टरको निगरानी सहितको विशेष ठाउँ चाहिने भएकाले त्यस्तो ठाउँ खोज्ने गृहकार्य भइरहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

कोरोना प्रभावित क्षेत्रबाट ल्याएका नेपालीलाई घर पठाउनुअघि दुई हप्तासम्म निगरानीमा राखेर भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नुपर्ने भएकोले त्यस्ता ठाउँ बनाउने गृहकार्य भइरहेको उहाँले बताउनुभयो । 

कीर्तिपुर, स्टाफ कलेज जावलाखेल र भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्र, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अस्पताल लगायतका ठाउँबारेमा छलफल भैरहेको मन्त्रालयले जनाएको छ । उपचारको लागि ५० शैयासम्मको आईसोलेसन वार्ड बनाउने जिम्मा भने नेपाली सेनालाई दिने तयारी छ । 

मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धार र उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिन थप गृहकार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई थप गृहकार्य गर्न निर्देशन दिएको हो । सरकारले कोरोना भाइरसको सँक्रमणको जोखिम रहेका क्षेत्रमा रहेका नेपालीलाई विमान चार्टर गरेर नेपाल ल्याउने तयारी गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया