चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याइने

 माघ २०, २०७६ सोमबार १८:१६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म एक सय ८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताउनु भयो । परीक्षणका क्रममा सङ्क्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उहाँले जनकारी दिनुभयो । ‘त्यहाँ पनि सबैको स्वास्थ्य जाँच हुन्छ । यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन, त्यहीँ उपचार हुन्छ । बाँकी अन्यलाई फिर्ता गरिन्छ’, उहाँले भन्नुभयो ।

अहिलेसम्म सबै सुरक्षित रहेको पनि प्रवक्ता श्रेष्ठले प्रस्ट पार्नु भएको छ । नेपाल फर्काइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । ‘क्वारेन्टाइनमा स्वस्थ मान्छेलाई राखिन्छ । उहाँहरु सबै स्वस्थ हुनुहुन्छ । आइसोलेसनमा हो संक्रमितमा राख्ने’, श्रेष्ठले भन्नुभयो ।

मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भैरहेको जनाएको छ । मङ्गलबार बेलुकीसम्म ठाउँ यकिन हुने प्रवक्ता श्रेष्ठले बताउनु भयो । मन्त्रालयले तीन तहमा समिति बनाएर अध्ययन गरिरहेको बताउँदै उहाँले फर्काइएका नेपालीलाई दुई हप्तासम्म क्वारेन्टाइनमा राखिने जानकारी दिनुभयाे । 

यसअघि वुहानबाट फर्किका एक जनामा सङ्क्रमण देखिएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया