खाना पकाउने ग्यासकाे मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्याे

 माघ २०, २०७६ सोमबार १९:२७:२३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले साेमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।

यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ३७५ रुपैयाँ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।

समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतितलिटर ९९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको छ ।

पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिनुभयो । निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ । मूल्य समायोजनपछि भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ ।

वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया