चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा

 माघ २२, २०७६ बुधबार ८:४४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा भएको नेपाली दूतावासले जनाएको छ ।

चीनमा गर्नुपर्ने सबै काम पूरा भएको र अब नेपालमा राख्ने ठाउँको टुङ्गो लगाएर जानकारी गराएपछि नेपालीलाई फर्काउने काम थालिने दूतावासले जनाएको हो । चीनको हुबेई प्रान्तसहित विभिन्न ठाउँबाट १ सय ८० नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन् । 

चीनबाट फर्कने नेपालीलाई खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्र वा पाँचखालको शान्ति कार्य तालिम केन्द्रमा राख्ने तयारी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सुरक्षा निकायका प्रमुखहरु सहभागी बैठकमा सम्भावित ठाउँबारे छलफल भएको छ । बुधबार थप निरीक्षण गरेर ठाउँबारेमा निर्णय लिने तयारी छ । 

चीनबाट नेपाली नागरिक फिर्ता ल्याएर दुई हप्तासम्म विशेष निगरानीमा राखेर कोरोना भए वा नभएको पुष्टि भएपछि मात्र घर पठाउने सरकारको तयारी छ ।

चीनबाट ल्याउने बेलामै स्वास्थ्य परीक्षण हुने र कोरोना नभएको पुष्टि भएपछि मात्रै चीनले पठाउने तयारी गरिरहेकाे पनि सरकारले प्रष्ट पारेको छ । अहिलेसम्म चीनमा रहेका कुनै पनि नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन ।

यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई आफ्ना नागरिक फिर्ता ल्याउनुअघि भाइरस नियन्त्रणको प्रयास गर्न र विश्व स्वास्थ्य सङ्गठनको सुझाव लिन आग्रह गर्नुभएको छ । उहाँले प्रकोप फैलन नदिन सबै देशको उत्तिकै जिम्मेवारी भएको पनि बताउनु भएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया