कामकाे खाेजीमा काभ्रे आएका रोहिङ्ग्या काठमाण्डौ फर्किए

 माघ २२, २०७६ बुधबार १७:४२:१ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक - कामको खोजीमा झण्डै साढे दुई महिनाअघि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिङ्ग्या परिवार मङ्गलबार पुनः काठमाण्डौको कपनमा नै फर्किएका छन् ।

स्थानीयवासी सत्यराम थापाको जग्गामा बसोबास गर्दै आएका सो समुदायका १० परिवारका झण्डै ३४ जना पुनः मङ्गलबारदेखि कुशादेवी छोडेर कपन फर्केको वडा नं ३ का वडाध्यक्ष ईश्वर थापाले बताउनुभयो । 

एक हप्ताअगाडिदेखि नै जानका लागि सामानहरु ओसार्ने क्रममा रहेका उनीहरु बुधबार सबै परिवार फर्किएको वडाध्यक्ष थापाले बताउनुभयो । कपनमा बस्दै आएका ती समुदाय त्यहाँका जग्गाको भाडा सम्झौता सकेपछि विकल्प खोज्दै यता आएको पाइएको र अहिले फेरि उतै फर्केर गएको उहाँले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले ३४ मध्ये १७ जना १८ गते शनिबारदेखि नै कपनको लसुनटार भन्ने ठाउँमा गएको बताउनुभयो । 

बाँकी रहेकामध्ये सातजना सोमबार गएको र बाँकी १० जना मङ्गलबार गएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो । अब त्यो ठाउँमा रोहिङ्ग्या समुदायको कोही पनि व्यक्ति बसोबास नरहेको उहाँले बताउनुभयो ।

 ती समुदायका दश परिवारको ३४ जनामा १ देखि ६२ वर्षसम्मका व्यक्ति रहेका र तीमध्ये १३ साना बालबालिका र आठ महिला रहेको प्रहरीले जनाएको छ ।
त्यसरी आएका रोहिङ्ग्या कुशादेवी आसपासमा कामको खोजी गर्दै जीविकोपार्जन गर्दै आएको थियो ।

ती परिवारका पुरुष व्यक्तिहरु दैनिक गुजारा चलाउन काम खोज्ने र श्रम गर्ने रहेको तथा महिला घरको काम गर्ने र परिवार हेरचाह गर्ने गर्दै आएको थियो । सुरुमा १४० जनाको सङ्ख्यामा हुने भन्दै टहरा बनाउन थालेका उनीहरुले पछि ३४ जना मात्रै हुने भन्दै बनाएको टहरा भत्काएर ११ वटा टहरामा बस्दै आएका थिए । 

रोहिङ्ग्या समुदायका नुर हप्पिसका अनुसार बनाएको टहराका परिवारअनुसार स्वयंले भाडा तिर्नेगरी बस्दै आएकामा पछिल्लो समय उतै फर्केको हो। नयाँ मान्छेहरु आएपछि सशङ्कित बनेका त्यहाँका स्थानीय बासिन्दालाई उनीहरुले आफूहरु परिश्रम गरेर खाने मान्छे भएका कारण सशङ्कित नहुन आग्रह गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया