दश लाख मान्छेसहित निजगढ विमानस्थल उद्घाटन गरिने, जहाज चार्टर गरेर पत्रकारलाई भैरहवा !

 माघ २२, २०७६ बुधबार १५:५९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हरेकजसो कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल सञ्चालनको बारेमा केही न केही बोल्नुहुन्छ । निजगढ विमानस्थल कुनै हालतमा बन्ने र भैरहवाबाट छिटै अन्तर्राष्ट्रिय उडान सुरु हुने मन्त्री भट्टराईको दावी हुन्छ । 

मन्त्री बनेको केही दिनमै गएको साउनमा भैरहवामा भएको कार्यक्रममा मन्त्री भट्टराईले १० लाख मान्छे उतारेर निजगढ विमानस्थलको शिलान्यास गरिने बताउनुभएको थियो । उहाँले उपमहानगरपालिकाका मेयरलाई बसभरी मान्छे निजगढ पठाउन तयार रहनसमेत भन्नुभएको थियो । 

यस्तै डिसेम्बर ७ तारिखमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवसको अवसरमा एअरपोर्ट होटलमा भएको कार्यक्रममा मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा आवश्यक परेमा अदालतमा पुगेर बहस गर्न सकिने बताउनुभएको थियो । 

उहाँले सन् २०२० को सुरुमै भैरहवा अन्तर्राष्ट्रय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने पनि दावी गर्नुभएको थियो । तर आयोजना सम्पन्न नभएपछि अब उहाँले जेठभित्रै उडान हुने बताउन थाल्नुभएको छ । 

बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका विमानस्थलको अवस्थाका बारेमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा पनि उहाँले भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे हल्का जवाफ दिनुभयो । निजगढको शिलान्यास र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनेबारे गम्भिर जवाफ दिनुभएन ।

निजगढमा हजारौँ मान्छे उतारेर मंसिरमै विमानस्थलको शिलान्यास गर्ने भन्नुभएको थियो, कुरा मात्रै भयो काम किन भएन मन्त्री ज्यू ? 

पत्रकारको प्रश्नमा मन्त्री भट्टराईले भन्नुभयो, ‘निजगढमा हजारौँ होइन लाखाैँ मान्छे उतार्छु भनेको हो मैले, तपाइँले सुन्न भुल्नुभएछ, अझै लाख पनि होइन, १० लाख भनेको मैले, र १० लाख मान्छे उतार्नुपर्छ, त्यो देशको गेम चेञ्जर आयोजना हो, यसमा सिंगो  नेपाल एक ठाउँमा हुनुपर्छ, त्यसैले १० लाख भनेको हो मैले तर ३ करोड उतार्छु त भनेको छैन नि ।’

उहाँले निजगढमा जग्गा अधिग्रहणको काम लगभग सकिएको, तारबार भैरहेको र लगानी बोर्डले आयोजना निर्माणकर्ता छान्न प्रक्रिया सुरु गरेको पनि बताउनुभयो । 

‘जहाज चार्टर गरेर पत्रकारलाई भैरहवा लैजाने हो’

भैरहवा अन्तरांष्ट्रिय विमानस्थलको म्याद पटक पटक थपिएको छ । उडानको टुंगो छैन । बुधबार भएको कार्यक्रममा मन्त्री भट्टराईले यो विषयमा पनि ठट्यौली जवाफ दिनुभयो । 

भैरहवा विमानस्थल सञ्चालनबारे तपाइँले भनेका २ वटा मितीमा नै विमानस्थल सञ्चालन नहुने भयो, तपाइँ आफैले अनुमानमा भरमा बोल्नुहुन्छ कि नागरिक उड्डयन प्राधिकरणबाट गलत ब्रिफिङ भैरहेको छ ? 

पत्रकारको प्रश्नमा मन्त्री भट्टराईले उल्टै प्रश्न गर्नुभयो, ‘कतैबाट पनि गलत सूचना आएको होइन, यो परियोजनाको समयसिमा गएको डिसेम्बरमै थियो, आयोजना प्रमुखले डिसेम्बरमै आयोजना बन्छ भनेपछि मैले बन्दैन भन्न मिल्छ ?’

मन्त्री भट्टराईले अब आयोजनाको म्याद मार्च ३१ सम्म थपिएकोले त्यो मितिमा विमानस्थलको काम सकिने मन्त्री भट्टराईको दावी छ । 

आयोजना सम्पन्न त मार्चमा हुन्छ भन्नुभयो, सञ्चालनमा कहिले आउँछ त ?

पत्रकारको प्रश्नमा उहाँले ठट्यौली पारामा भन्नुभयो, ‘तपाइँलाई छिटै भन्नेछु, तपाईँ मार्फत म सबै पत्रकार साथीहरुलाई भन्न चाहन्छु, भैरहवा एअरपोर्ट सञ्चालन भएको दिन प्लेन चार्टर गरेर पत्रकार साथीहरुलाई लगिन्छ र विमानस्थल सञ्चालनको घोषणा गर्छौँ, एकदमै छिटै त्यो हुनेछ ।’

मन्त्रीको भनाइले नागरिक उड्डयन प्राधिकरणको हलमा एकाएक हाँसोको फोहरा छुट्यो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया