हवाई पूर्वाधारमा २ वर्षमै ८९ अर्ब रुपैयाँ खर्च,  पाँच वर्षभित्र साढे ३ खर्ब चाहिने

 माघ २२, २०७६ बुधबार १९:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्ला २ वर्षमा हवाई पूर्वाधारको लागि ८९ अर्ब रुपैयाँ खर्च गरेको छ । 

विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलको पूर्वाधार निर्माणमा पछिल्ला २ वर्षमा ८९ अर्ब रुपैयाँ खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । 

२ वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलको लागि जग्गा अधिग्रहणमा ३३ अर्ब रुपैयाँ र पूर्वाधार निर्माणमा ५० अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै आन्तरिक विमानस्थलको लागि जग्गा अधिग्रहणमा १ अर्ब र पूर्वाधार निर्माणमा ६ अर्ब रुपैयाँ खर्च भएको छ । अहिले देशभरी ५४ वटा विमानस्थल रहेका छन् भने ३२ वटा मात्रै सञ्चालनमा रहेका छन् । 

५ वर्षभित्र ३ खर्ब ३५ अर्ब रुपैयाँ  चाहिने

नागरिक उड्डयन प्राधिकरणले अबको ५ वर्षमा हवाइ पूर्वाधारको लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ चाहिने जनाएको छ । प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि जग्गा अधिग्रहणमा ५ अर्ब रुपैयाँ आवश्यक पर्नेछ भने पूर्वाधार निर्माणमा २ खर्ब ५० अर्ब रुपैयाँ चाहिनेछ ।

‘हामीले भैरहवा, पोखरा र  निजगढमा जग्गा अधिग्रहणको काम लगभग सकिसकेका छौँ, त्यसैले अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहणमा धेरै पैसा खर्च भयो, तर अब जग्गा अधिग्रहणमा धेरै खर्च लाग्नेछैन,’ निर्देशक प्रदीप अधिकारीले भन्नुभयो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले अबको ५ वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ खर्च हुने २ खर्ब ५० अर्ब रुपैयाँमध्ये १ खर्ब ५० अर्ब रुपैयाँ निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा खर्च हुने जनाएको छ । 

यस्तै ४० देखि ५० अर्ब रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारमा लाग्ने र अरु रकम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा खर्च हुनेछ । 

यस्तै अबको ५ वर्षमा आन्तरिक विमानस्थलको लागि ८० अर्ब ६० करोड रुपैयाँ खर्च हुनेछ । यसमध्ये जग्गा अधिग्रहण गर्न ३४ अर्ब ६० करोड खर्च हुनेछ भने विमानस्थलको पूर्वाधारमा ४६ अर्ब रुपैयाँ खर्च गरिने प्राधिकरणले जनाएको छ । 

नेपालगञ्ज, धनगढी, विराटनगर लगायतका विमानस्थल विस्तार गर्ने प्राधिकरणको योजना छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया