उज्यालाे समाचार प्रभाव : नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा

 माघ २४, २०७६ शुक्रबार १८:१२:४४ | कपिल कोइराला
unn.prixa.net

काभ्रे - नमोबुद्ध नगरपालिकामा राजश्वमा अनियमितता भएको समाचार बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार छापा मारेको छ ।

नमोबुद्ध नगरपालिकाले प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर उठाउने विषयमा अनियमितता भएको समाचार गएकाे माघ १७ गते उज्यालो अनलाइनले प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि (आज) शुक्रबार अख्तियारको टोलीले छापा मारेको हो ।

 

अख्तियारबाट आएको दुई सदस्यीय टोलीले नगरपालिकाको राजस्व संकलनको लागि प्रयोग भएका रसिद लगायतका कागजपत्र नियन्त्रणमा लिएको श्रोतले जानकारी दिएको छ । अख्तियारको टोलीले आवश्यक कागजात संकलन गरी अनुसन्धान सुरु गरिएको बताएको छ । 

 

नगरपालिकाले राजस्व संकलनमा कर्मचारीहरुको मिलेमताेमा करदातालाई ३ हजारको रसिद दिएर १ हजार राजश्व खातामा दाखिला गर्ने गरेको प्रमाणसहित समाचार प्रकाशित भएका थिए । अनियमितता भएको समाचार बाहिरिएपछि विभिन्न पदमा बसेकाहरुले शक्तिका आधारमा रसिद नै नकाटी राजस्वमा मनलाग्दी गर्ने खुलासा भएको थियो । 

नगरपालिकाले लेखा समिति संयोजक एवं वडा नम्बर १० का अध्यक्ष रामकृष्ण उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।

अख्तियारको टोलीले नगरपालिकामा छापा मारेसँगै छानबिन समितिका तीन जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । वडा नं २ का वडाध्यक्ष सञ्जिव ढकाल, वडा नं ७ का अध्यक्ष धर्म सिं लामा, नगर कर्मचारी एवं समितिका सदस्य सचिव राजिव श्रेष्ठले विज्ञप्ति निकालेर राजीनामा दिएका हुन् ।

नगरपालिकाको कार्यपालिका बैठकले १५ दिनको समय तोक्दै वडाध्यक्ष एवं लेखा समिति अध्यक्ष रामकृष्ण अधिकारीको संयोजकत्वमा धर्म सिं लामा, सञ्जिव ढकाल र कर्मचारी राजिव श्रेष्ठ सदस्य सचिव रहेको समिति बनाएको थियो ।

नगरले त्यसमा थप छानबिन गर्न सहज होस् भनेर नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित वडा नं ६ का अध्यक्ष कुलप्रसाद न्यौपानेलाई सदस्य थपेको थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया