प्रेरणाले दाबी गरेको दाइजो ट्रष्टकै सम्पत्ति भएको ठहर

 माघ २५, २०७६ शनिबार ७:२५:३८ | रासस
unn.prixa.net

काठमाण्डौ - सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले आफ्नो दाइजो भनी दाबी गर्दै आएको काठमाण्डौको छाउनीमा रहेको १५ रोपनी जग्गा नेपाल ट्रष्टकै भएको ठहर गरेको छ ।  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले शुक्रबार त्यो जग्गा नेपाल ट्रष्टकै भएको फैसला गरेको हो । 

अदालतले छाउनीमा रहेको नेपाल ट्रष्टको जग्गामा प्रेरणाको माग दाबी नपुग्ने उल्लेख गर्दै मुद्दा नै खारेज गरेको छ । अदालतको निर्णयसँगै जग्गामा नेपाल ट्रष्टकै भएको छ । 

सर्वोच्च अदालतबाट एक प्रेरणाको दाइजो भएको फैसला र अर्को पटक नेपाल ट्रष्टकै सम्पत्ति भएको ठहर गर्दै दुईपटक फैसला भइसकेको थियो । तेस्रोपटक संवैधानिक इजलासमा पुनरावलोकन निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले नेपाल ट्रष्टकै सम्पत्ति भएको ठहर गरेको हो । 

सरकारले पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको सम्पूर्ण सम्पत्ति २०६४ पुस १ गते नेपाल ट्रष्टमा राख्ने निर्णय गरेको थियो । ट्रष्टकै नाममा रहेको यो जग्गा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी छोरीलाई दाइजो दिएको उल्लेख गर्दै २०७१ माघ २५ मा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । 

तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले नेपाल ट्रष्टको नाममा रहेको जग्गा प्रेरणाको दाइजो नै भएको फैसला गरेको थियो ।

नेपाल ट्रष्टको उक्त फैसलाविरुद्ध दायर गरेको पुनरावलोकन निवेदनमा अदालतले त्यो जग्गा प्रेरणाको माग दाबी नपुग्ने हुँदा नेपाल ट्रस्टकै भएको फैसला सुनाएको थियो । 

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले २०७३ पुस २१ गते पूर्वराजा वीरेन्द्र र उहाँका परिवारको नाममा रहने व्यवस्थाअनुसार सबै सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी ट्रष्टकै भएको हुँदा छाउनीको जग्गा ट्रष्टकै भएको फैसला गरेको थियो । 

अदालतले नेपाल ट्रष्टकै सम्पत्ति भएको फैसला सुनाएपछि फैसलामाथि चित्त नबुझेर २०७५ पुस ६ गते प्रेरणा शाहले संवैधानिक इजलासमा पुनरावलोकन निवेदन दायर गर्नुभएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले गत असार २० गते यसअघि सर्वोच्च अदालतले फैसला गरेका दुईवटा फैसलाको मिसिल झिकाउने आदेश जारी गरेको थियो ।

ट्रष्टको वा प्रेरणाको दाइजो भन्ने विवाद अन्त्य हुँदै त्यो जग्गा ट्रष्टकै भएको ठहर भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया