कोरोना भाइरसको डरले नाका बन्द भएको किमाथांकामा हेलिकप्टरबाट खाद्यान्न लगियो

 माघ २५, २०७६ शनिबार १७:२९:५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - कोरोना भाइरसको डरले नाका बन्द भएपछि भएलगत्तै किमाथांकामा खाद्यान्न संकट देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न लगिएको छ ।

नाका बन्द हुँदा किमाथांकाका बासिन्दा भोकभोकै बस्नु परेको गुनासो आएपछि आज खाद्यान्न लगिएको हो । तुम्लिङ्गटार विमानस्थलबाट सेनाको हेलिकप्टरमार्फत ४ हजार २ सय ५० किलो चामाल, १ सय ८२ लिटर तेल र एक सय किलो नुन तत्काल राहत पुगोस् भन्ने उदेश्यले लगिएको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताउनुभयो ।

यति खाद्यान्नले झण्डै हप्ता, दश दिन पुग्ने, त्यसपछिका लागि खाँदबारीदेखि हटियासम्म ट्याक्टरबाट नै ढुवानी गर्ने र त्यहाँ भरियामार्फत किमाथांका पुर्‍याइने योजना रहेको अध्यक्ष भोटेको भनाइ छ ।

चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण किमाथांका नाका अनिश्चितकालका लागि बन्द गरिएको छ । भोटखोला गाउँपालिका–१ मा रहेको किमाथांका गाउँमा ८६ घरधुरी, सशस्त्र प्रहरी पोष्टका कर्मचारी, नेपाल प्रहरी, मकालु वरुण राष्ट्रिय निकुञ्ज र स्वास्थ्यका कर्मचारीहरु समस्या परेका छन् ।

किमाथांका नाका बन्द हुँदा किमाथांका गाउँका साथै छिमेकी गाउँहरु चेपुवा, च्याम्ताङ, रिदाक र छुमसुर लगायतका ठाउँहरुमा समेत खाद्यान्न संकट देखिने स्थानीयबासिन्दाको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया