'चीनबाट फर्काउने नेपालीलाई उपत्यकामै राख्नु खतरनाक' : नेता बिजुक्छे

 माघ २६, २०७६ आइतबार १८:५२:५९ | रासस
unn.prixa.net

फाइल फाेटाे

भक्तपुर – भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्ने गरी क्वारेन्टाइन राख्न लागेकाेप्रति आपत्ति जनाएका छन् ।

उनीहरुले सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै उपत्यकाको घनाबस्तीमा कतै पनि क्वारेन्टाइन बनाउन नहुने बताएका हुन् । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले चीनबाट फर्काउन लागेको नेपालीलाई उपत्यकामै राख्नु खतरनाक भएको बताउनुभयो ।

सरकारले चीनबाट फर्काउने नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेकाे नेपाल विद्युत् प्राधिकरणकाे भवनमा राख्ने तयारी गरेपछि उहाँले यस्तो बताउनुभएको हो । बिजुक्छेले सरकारले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल फर्काउने र तिनीहरुलाई काठमाण्डाैका चार ठाउँमा राख्ने प्रस्ताव अदूरदर्शी भएको बताउँदै विद्यार्थीलाई नेपाल भित्र्याउनुभन्दा चीनमै राख्नु उनीहरुका लागि सुरक्षित रहेको बताउनुभयो ।

चीनबाट फर्काइएका विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइए त्यसले काठमाण्डाैमा महामारीको रूप लिनसक्ने सम्भावनालाई नकार्न नमिल्ने भन्दै उहाँले त्यस्तो अवस्थामा सरकारसँग रोग नियन्त्रण गर्नसक्ने क्षमतासमेत नरहेको बताउनुभयो ।

कोरोना भाइरस लागेका सङ्क्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारीसमेत नभएको बताउँदै उहाँले चीनले भाइरसको सङ्क्रमणलाई प्रतिरोध गर्न तीव्रगतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी नहुने बताउनुभयो । सरकारले हचुवाको भरमा भक्तपुरमा राख्न खोज्नु गलत भएको बताउँदै भक्तपुरमा मात्रै नभइ उपत्यकामै राख्ने निर्णय गलत रहेको बताउनुभयो ।

नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले चीनको वुहानबाट फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्न नहुने बताउँदै बस्तीको बीचमा राख्दा यसले ठूलो जोखिम निम्त्याउने बताउनुभयो । उहाँले चीनबाट फर्काइएका नेपालीमा नेपाल आइपुग्दा सङ्क्रमण भएको पाइए त्यसले सङ्कट निम्त्याउने भन्दै अहिलेसम्म केही नबिग्रिएकाले मानवबस्तीमा राख्ने तयारीलाई रोक्नुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसले पनि विज्ञप्ति निकालेरै त्यसको विरोध गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला सभापति दुर्लभ थापाले सरकारले कोरोना भाइरसलाई अहिलेसम्म गम्भीररूपमा नलिएको बताउँदै सङ्क्रमण भए उपचार कसरी गर्ने भन्नेसमेत तयारी नगरेको बताउनुभयो ।

नेपाललाई सङ्क्रमणबाट कसरी जोगाउने भन्नेमा सरकार गम्भीर नभएको बताउँदै उहाँले भक्तपुरको मानवबस्ती बीचमा जटिल रूप लिने भाइरसको जोखिम भएका व्यक्तिलाई ल्याएर राख्ने सरकारको निर्णय सच्याउन माग गर्नुभयो ।

राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले स्थानीय बासिन्दाको आवाजलाई सरकारले बेवास्ता गरेको भन्दै भक्तपुरका जनताले जोखिम नसहने र यसबाट आइपर्ने कुनै पनि घटनाको जिम्मेवार सरकार हुने बताउनुभयो । उहाँले भक्तपुरमा मात्रै नभइ मानवबस्तीको बीचमा चीनबाट फर्कने नेपालीलाई राख्न नहुने जनताको आवाजलाई सरकारले सुन्नैपर्ने बताउनुभयो ।

स्थानीय जनताले आइतबार पनि त्यस क्षेत्रमा सरकारको निर्णयको विरोध गरेका छन् भने स्थानीय बासिन्दा त्रासमा बसेका छन् । चाँगुनारायण नगरपालिकाले यसअघि नै नगर सभाबाटै उक्त निर्णय सच्याउन सरकारसँग माग गरेको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया