मागेको पोसाकले सिकेको कराँते जसले स्वर्ण पदक दिलायाे

 माघ २७, २०७६ सोमबार ११:३:१२ | रासस
unn.prixa.net

बाग्लुङ – साथीले दिएको पोसाक लगाएर कराँते सिकेको बिर्सेका छैनन् नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, ‘स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही लगाएर कराँते सिक्न सुरु ग-यौँ ।’

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण पदक चुम्दा नवीनले तिनै सङ्घर्षपूर्ण दिनहरु सम्झे । काठमाण्डौको बालाजु कराँते-डो प्रतिष्ठान र गुरु ध्रुवविक्रम मल्लको नाम मनमनै लिए । 

बाग्लुङ, तमानखोला गाउँपालिका–२ बाट काठमाण्डौ झरेकै वर्षदेखि सुरु भएको थियो, उनको कराँते यात्रा । रसाइली परिवारभित्र २४ वर्षीय नवीनले मात्र कराँतेलाई लक्ष्य बनाएका छैनन् । 

२६ वर्षीय दाइ राजकुमारले पनि आफ्ना ऊर्जाशील १२ वर्ष कराँतेलाई दिइसकेका छन् । ‘बुबाआमासहित काठमाण्डौ गएदेखि नै कराते खेल्न सुरु गर्‍यौँ’, उनले भने, ‘दुई भाइले सँगै सिक्यौँ, अहिले खेल्दैछौँ ।’ तेह्रौँ सागमा पनि दुवैले भाग लिए ।

नवीनले स्वर्ण र राजकुमारले कास्य पदक चुमे । ‘सागमा स्वर्ण जित्नु नै मेरो अहिलेसम्मकाे ठूलो उपलब्धि हो’, नवीनले भने, ‘जुन मिहिनेत र समर्पणका साथ कराँतेमा लागेँ त्यसको प्रतिफल पाएँजस्तो लाग्छ ।’

करातेमा लाग्दाका कठिन र चुनौतीपूर्ण दिनलाई नै रसाइली दाजुभाइले सफलताको जग मान्छन् । बाग्लुङको सुदूर गाउँबाट काठमाण्डौँ छिर्दा उमेर सानै थियो । कुनै ठूलो सपना थिएन । खेलमा भविष्य देख्नु त झन् टाढैको कुरा । तत्कालको उद्देश्य पढ्नु नै थियो । विद्यालय भर्ना भए । खुरुखुरु पढाइमा जान थाले । सँगैका साथीहरु बालाजु कराँते-डो प्रतिष्ठानमा कराते सिक्थे । 

उनीहरु खेल हेर्न जान्थे । त्यही प्रतिष्ठान हो जहाँ रसाइली दाजुभाइले साथीको पोसाक लगाएर कराँते सिकेका थिए । करातेमा लागेपछि उनीहरु पछाडि फर्कनु परेन । एकपछि अर्को सफलताले पछ्याइरह्यो । खेल प्रतिभाको कदर गर्दै बालाजुको ज्ञानमन्दिर माविले राजकुमारलाई कक्षा ९ र १० छात्रवृत्तिमा पढायो । 

गोल्डेन गेट कलेजले कक्षा ११ र १२ मा ५० प्रतिशत छुट दियो । नवीनले भने एसएलसी ब्राइट हेभन स्कुलबाट गरे । दुवै भाइले पढाइसँगै खेल जीवनलाई अघि बढाए । 

‘अहिले पनि बिहान २ र बेलुकी २ घण्टा प्रशिक्षणमै हुन्छौँ’, राजकुमारले भने, ‘कराँतेमा हामीलाई यहाँसम्म ल्याउने बालाजु कराँते-डो प्रतिष्ठान र गुरु ध्रुवविक्रम मल्ल हुनुहुन्छ, उहाँ नेपाली कराँतेको ‘गडफादर’ नै हो ।’

एक दशकभन्दा बढीको खेल जीवनमा रसाइली दाजुभाइले कैयन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । नेपालका लागि खेल्न दर्जनभन्दा बढी देश पुगेका छन् । पदकमा तुलनात्मक रुपमा नवीन अगाडि छन् । 

उनले सन् २०१४, २०१६ मा भारत र २०१७ मा श्रीलङ्कामा भएको साउथ एशियन च्याम्पियनशिपमा लगातार स्वर्ण जितेर ह्याट्रिक गरेका थिए । राजकुमारले गत वर्ष बङ्गलादेशमा भएको सोही खेलमा रजत पदक हात पारेका थिए । 

उनले सन् २०१८ मा भएको कोरिया ओपन कराँते च्याम्पियनशिपमा स्वर्ण जितेका थिए । सन् २०१० देखि नै व्यावसायिक रुपमा कराँते खेल्न थालेको राजकुमारको भनाइ छ । ‘सन् २०१३ मा राष्ट्रिय खेलकुदमा भाग लिएँ, खेल्नकै लागि भारत, मलेसिया, कोरिया, जापान र थाइल्यान्डलगायतका देश पुगेको छु’, राजकुमारले भने।

उनले सातौँमा कास्य र यही वर्ष भएको आठौँ राष्ट्रिय खेलकुदमा रजत पदक जितेका थिए । नवीनले भने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक हात पारेका थिए । 

नवीन यही वर्ष जापानमा हुने ओलम्पिकमा समेत नेपालका तर्फबाट भाग लिन प्रयासरत छन् । ओलम्पिक छनोटका वर्ल्ड सिरिज, प्रिमियर लिग, एसियाली खेलकुद र एशियन कराँते च्याम्पियनशिप खेल्नुपर्ने मापदण्ड छ । 

‘ओलम्पिकको लक्ष्य लिएर केही सिरिज र लिग खेल्दैछु । विश्वभरका एक सय खेलाडीको ‘र्‍याङ्किङ्’मा मेरो नाम ९९ मा छ, मापदण्ड पूरा गरेर अन्तिम ३२ मा परेँ भने ओलम्पिक खेल्न पाउँछु’, नवीनले भने । 

आउँदो ओलम्पिकमा पहिलोपटक कराँते समावेश हुँदैछ । ओलम्पिक खेल्न पाउनु नै नवीनका लागि जीवनकाे ठूलो सफलता हुनेछ । ‘खेलले इज्जत दिएको छ, देशको गौरवका लागि खेल्न पाएका छौँ’, रसाइली दाजुभाइ भन्छन्, ‘राज्यले पनि खेल क्षेत्र र खेलाडीलाई हेरोस् ।’

राजकुमारले अहिलेसम्म परिवारको सहयोगमा खेलमा लागे पनि अब परिवारलाई सहयोग गर्ने बेला आएको बताए । ‘हामीमा पनि परिवारको जिम्मेवारी थपिँदैछ । खेलाडीलाई आर्थिक सहायता, रोजगारीजस्ता कार्यक्रम सरकारले ल्याउनुपर्छ’, उनले भने। अझै दश वर्ष सक्रिय रुपमा कराँतेमा बिताउने योजना रसाइली दाजुभाइको छ । 

तेह्रौँ सागमा पदक जितेपछि गृहजिल्लावासीले उनीहरुलाई सम्झे । जिल्ला र देशकै गौरव बढाएका खुशी साटासाट गरे । बाग्लुङ नगरपालिका, नेपाल कराँते सङ्घ बाग्लुङ, मालिका सेवा समाज बाग्लुङलगायत थुप्रै सङ्घसंस्थाले नगदसहित सम्मानित गरे । 

एकाघरका दाजुभाइले खेलमा देखाएको समर्पण र पाएको सफलता खेलाडी एवं खेलप्रेमीमाझ प्रेरणा बनेकाे छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया