वुहानमा रहेका नेपालीलाई ल्याउन वाइडबडी जहाज चीन पठाउने तयारी

 माघ २७, २०७६ सोमबार १९:२४:१६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले कोरोना भाइरस फैलिएको चीनको हुबेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को वाइडबडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । 

चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक/दुई दिनभित्रै आफ्नो वाइडबडी जहाज चीन पठाउने तयारी गरेकाे जनाएको छ ।

चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । 'हामी (निगम) आन्तरिक तयारीमै छौँ, सरकारले निर्णय गर्नासाथ वाइडबडी जहाज चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौँ', उहाँले भन्नुभयो ।   

मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइडबडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको छ । निगमले पनि नियमित ‘बिजनेस’मा असर नपर्ने गरी वाइडबडी जहाज पठाउने वचन दिइसकेको छ ।   

निगमको वाणिज्य विभागका अनुसार वाइडबडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ । त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एअरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ । वाइडबडी जहाज पठाउँदा झण्डै दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसकाे व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ ।   

कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको जहाज लैजाने तयारीकोे जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइडबडी जहाज लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताउनुभयो ।   

उहाँले भन्नुभयो, 'चीनमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज पठाउने विषयमा छलफल भएको छ, हाम्रो तर्फबाट तयारी भएकै छ, शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पनि आफ्नो तयारी गरिरहेकै छ, अब यो विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ, त्यसपछि सबै काम सहज, सुलभ र व्यवस्थित ढङ्गले अघि बढ्छ ।'   

यसअघि नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपालको निजी क्षेत्र र चीन सरकारको संयुक्त लगानी रहेको हिमालय एअरलाइन्सको जहाजलाई पनि नेपालीको उद्धारका लागि चीन पठाउने बताइएको थियो । तर चीनबाट नेपाली ल्याउनका लागि हिमालयको जहाज प्रयोग गर्नेबारे औपचारिक छलफल नभएको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बताउनुभयो । यद्यपि हिमालय एअरलाइन्सका अध्यक्ष साेमबार काठमाण्डाै आएकाले त्यस विषयमा छलफल हुने उहाँले बताउनुभयो ।   

हिमालयले चीनमा उडान गर्ने सबै गन्तव्यका उडान स्थगित गरिसकेको छ । पछिल्लो पटक हिमालयले गएकाे माघ २४ गते बेइजिङको पूर्वनिर्धारित अन्तिम उडान गरेको थियो । यात्रुको अवस्था र व्यावसायिक बजारलाई मध्यनजर गरी ‘सेडुअल उडान’ गर्न सकिने कम्पनीले जनाएको छ ।   

पर्यटन मन्त्री योगेशकुमार भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभावका सम्बन्धमा भर्खरै पर्यटन क्षेत्रसँग सरोकार भएका निकायसँगको छलफलका क्रममा चीनमा रहेका नेपाली ल्याउन निगम र हिमालय एअरलाइन्सको जहाज तयारी अवस्थामा रहेको बताउनुभएको थियो । 

चीनको हुबेई प्रान्तको वुहान शहरबाट १ सय ८० नेपालीले स्वदेश फर्कनका लागि त्यहाँ रहेकाे नेपाली दूतावासमा निवेदन दिएका छन् । नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ देशमा फैलिएको छ ।

चीनबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले काेराेना भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ शैय्याकाे व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । उनीहरुले आफूहरुको छिटो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । अभिभावकले समेत आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया