अख्तियार सरकारकाे छायाँ बन्याे, गच्छदारलाई लगाइएकाे मुद्दाकाे राजनीतिक र कानुनी रुपमा सामना गर्छाैँ : काङ्ग्रेस

 माघ २७, २०७६ सोमबार २०:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली काङ्ग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामाथि राजनीतिक र कानुनी रुपमा सामना गर्ने भएको छ । 

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति गच्छदारलाई लागेको मुद्दामाथि राजनीतिक र कानुनी दुवै ढङ्गले सामना गर्ने विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो ।

उहाँले बलुवाटारकाे ललिता निवासको जग्गा प्रकरणमा अख्तियार सरकारको छायाँ बनेको काङ्ग्रेसले निष्कर्ष निकालेकाे बताउनुभयो । उहाँले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मन्त्रिपरिषदबाट भएको नीतिगत निर्णयमा मन्त्रीलाई तान्न नमिल्ने भएकाले काङ्ग्रेसले राजनीतिक रुपमा समेत सामना गर्ने बताउनुभयो ।

उहाँले संसद्का सन्दर्भमा नेपाली काङ्ग्रेस संसदीय दलले नै निर्णय लिने र यसमा बैठकले कुनै निर्देशन नदिएको समेत बताउनुभयो । प्रवक्ता शर्माले संसदीय दलले आवश्यकताअनुसार मङ्गलबार निर्णय गर्ने समेत जानकारी दिनुभयो ।

त्यस्तै बैठकले फागुन ३ गते सरकार गठन भएको दुई वर्ष पूरा हुने र यो अवधिमा सरकारले जनविरोधी विधेयकहरु ल्याएको, प्रतिशोधपूर्ण व्यवहार गरेको, शान्ति सुरक्षाको स्थिति खस्केको र भ्रष्टाचारका विषयलाई कारबाही गर्ने नाउँमा उन्मुक्ति दिँदै संस्थागत ढङ्गले संरक्षण गरेको निष्कर्ष निकालेको प्रवक्ता शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया