सिन्धुपाल्चोकको गुम्बागाउँमा फैलिएको सामान्य रुघाखोकी हो : स्वास्थ्य मन्त्रालय

 माघ २९, २०७६ बुधबार १८:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा फैलिएको संक्रमण मौसमी फ्लु भएको जनाएको छ ।

गुम्बागाउँमा अहिलेसम्म २ सय जनाजति संक्रमित भएका र उनीहरुमा सामान्य रुघाखोकी तथा ज्वरोको समस्या रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । गएको २३ गतेदेखि अहिलेसम्म संक्रमण देखिएको तर गम्भीर तथा अस्पताल राख्नुपर्ने अनि ज्यानै जानेगरी भयावह अवस्था नआएको उहाँको भनाइ छ । 

गुम्बागाउँका बिरामीमा पनि हुम्ला र बाजुरामा देखिएको जस्तै रुघाखोकी, सामान्य ज्वरो र बान्ता हुने लक्षणहरु देखिएका छन् । ‘हुम्ला र बाजुरामा स्वास्थ्यटोली पठाएर संक्रमण नियन्त्रणमा आइसक्यो’, श्रेष्ठले भन्नुभयो, ‘मौसमी फ्लुबाट डेढ महिनामा हुम्लामा ५ जना र बाजुरामा २ जना गरी ७ जनाको ज्यान गएको छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठका अनुसार हिमाली जिल्लाहरुमा सधैजसो हुने संक्रमण रुघाखोकी, ज्वरो बढी फैलिएको छ । जुगल गाउँपालिकाले कोरोनासँग मिल्दोजुल्दो भनेर गलत जानकारी दिँदा समस्या भएको तर यो मौसमी फ्लु नै रहेको उहाँको बताउनुभयो ।

‘अहिले देशैभर रुघाखोकीको प्रकोप छ, मुख्यगरी उच्च हिमाली जिल्लामा बढी समस्या छ,‘ उहाँले भन्नुभयो, ‘काठमाण्डौमा पनि रुघाखोकीका बिरामी छन् तर आत्तिनुपर्ने अवस्था छैन ।’

मौसमी फ्लु प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहितको टोली खटाएर आवश्यक उपचार थालेको पनि मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया