खरिपाटीमा चीनबाट फर्कने विद्यार्थी राख्ने क्वारेन्टाइन निर्माण पूरा : संक्रमण फैलन नदिन उच्च सतर्कता

 माघ २९, २०७६ बुधबार १९:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेका नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायण नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो । 

काेराेना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायहरुसँग समन्वय गरी काम गरिरहेको जनाएको छ । चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने सन्दर्भमा खरिपाटीमा रहेकाे नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरेको क्वारेन्टाइनमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट्र, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको साथै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको समन्वयमा काम भइरहेको उहाँले बताउनुभयो । चीनबाट ल्याइने नेपालीमा भाईरसको संक्रमण नहुने दावी गर्दै उहाँले अन्तर्राष्ट्रिय मान्यता अनुसार क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले यस्तो व्यवस्था गरिएको बताउनुभयो ।  

चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, हवाईजहाजका पाइलट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने भएको उहाँले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठाहरु, प्रयोग गरिएका सामानहरुको उचित संक्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. फडिन्द्रप्रसाद बरालले बताउनुभयो । क्वारेन्टाइनमा रहेका विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शंका हुनासाथ उपचारका लागि अस्पतालहरुमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ । 

डा. बरालले चीनमा स्वास्थ्य परीक्षण गरेर संक्रमण नभएकालाई ल्याउने र एयरपोर्टमा फेरि स्वास्थ्य जाँच गरी त्यहाँबाट पाँचवटा बसमा हालेर खरिपाटीको क्वारेन्टाइनमा राखिने जानकारी दिनुभयो । क्वारेन्टाइनमा दुई वटा भवनमा पुरुष, एउटा रातो भवनमा महिला र निर्देशकको क्वार्टरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ । 

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले सरकारसंग प्राधिकरणको खेर गएको एउटा भवन वा जग्गा नगरपालिकाको भवन निर्माणलाई दिन वा मानव अंग प्रत्यारोपण केन्द्रको डायलोसिस केन्द्र बनाउन दिन माग गर्दा नदिने तर जोखिम भएका व्यक्तिलाई राख्न भने यही ठाउँ रोज्नु गलत भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी वडाध्यक्षहरुले भने कार्यक्रम बहिष्कार गरेको बताउदै केन्द्रीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरी लाद्ने प्रयास गरेको भन्दै जनताको भावनाको कदर गर्न आग्रह गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले स्थानीय बासिन्दाका लागि खरिपाटीमा रहेकाे सामुदायिक भवनमा नेपाली सेनाको एक, भक्तपुर अस्पतालको एक गरी दुई चिकित्सक सहितको टोलीले स्थानीय नागरिकको पनि निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गरिने बताउँदै स्थानीयमा संक्रमण भए सरकारले जिम्मा लिने बताउनुभयो ।    
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया