अब जनयुद्धकाे नक्कल गरेर विद्राेह सम्भव छैन, शान्ति प्रक्रियामा नआएकाे भए हामी पनि सकिने थियाैँ : प्रचण्ड

 फागुन १, २०७६ बिहीबार १३:९:३४ | रासस
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणमा देश अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनुभएको छ ।

नेकपा केन्द्रीय कार्यालय  धुम्बाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलि सभा’ मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने स्पष्ट पार्नुभयाे । 

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, 'एकथरि साथीहरु फेरि विद्रोहतिर लाग्नुभएको छ, तर हामीले सबै परिस्थिति र विश्व अनुभवको समीक्षा गरेर शान्ति प्रक्रियामा आएर मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौँ, जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहजस्तै सकिने थियौँ, हामीले कम्युनिस्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ ।'

तत्कालीन नेकपा (माओवादी) ले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुद्धको आरम्भ गरेको थियो । विश्व कम्युनिस्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उहाँले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गर्नुभयो ।   

अध्यक्ष दाहालले कम्युनिस्टहरु सत्तामा पुगेपछि विचलन हुने रोगबाट माथि उठेर जनताको मनोभावनालाई आत्मसात् गर्दै त्याग, समर्पण र बलिदानको भावनाका साथ शान्तिपूर्ण सङ्घर्ष, विकास र समृद्धिबाट वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले सात राजनीतिक दलसँग १२ बुँदे सहमति हुनुअघि तत्कालीन नेकपा (एमाले) का नेता वामदेव गौतमलगायतसँग संविधान सभाका लागि सहमति भएको स्मरण गर्दै उहाँले जनआन्दोलनमा रहेका नेपाली काङ्ग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले समेत राजतन्त्रविरुद्ध अझ फौजी आक्रमण बढाइदिन आफूलाई आग्रह गरेको स्मरण गर्नुभयो ।

तत्कालीन एमाले र माओवादी जनयुद्धका सुरुवाती वर्षमा तीखो सङ्घर्षमा रहे पनि पछिल्ला समयमा कम्युनिस्ट शक्तिबीचको सहकार्यलाई जोड दिने माओवादीको निर्णयकै पृष्ठभूमिमा अहिले नेकपाको एकता भएको उहाँले बताउनुभयाे । उहाँले विसं २०२९ को झापा विद्रोह (सुखानीका शहीद) र जनयुद्धका शहीदसम्मलाई जोडेर नेतृत्वले सही विचार र सोचका साथ देशलाई सही गन्तव्यमा पुर्‍याउने दृढता पनि व्यक्त गर्नुभयो ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपालको जनयुद्धको घटना विश्व इतिहासमा बिरलै हुने ऐतिहासक घटना भएको जनाउँदै जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्राज्यवादलाई कमजोर बनाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, 'जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र सङ्घर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन, ती शहीदहरुलाई सम्मान गर्दै अब हामी बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्छ ।'

उपाध्यक्ष गौतमले जनयुद्धका क्रममा तत्कालीन एमालेका झण्डै तीन सय नेता–कार्यकर्ता मारिएकामा त्यसको लेखाजोखा पनि हुनुपर्ने बताउनुभयो । कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच गएकाे २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ गतेलाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’ का रुपमा मनाउन थालिएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया