बाँस्कोटाले सीजीसँग २० अर्ब माग्यो भनेर खबर आएको छ, मैले घरमा राख्न मागेकाे हाेइन : मन्त्री बाँस्काेटा

 फागुन १, २०७६ बिहिबार १९:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँँस्कोटाले सीजी टेलिकमलाई दूरसञ्चार पूर्वाधार विकासका लागि उपलब्ध गराएकाे रकमबाट भएकाे कामकाे छानविन हुने बताउनुभएको छ ।

सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको एक करोड १८ लाख ६५ हजार अमेरिकी डलरबाट भएको कामकारबाहीको विवरण खोजिने  बताउनुभएकाे हाे । 

 मन्त्री बास्कोटाले लिमिटेड मोबिलिटी सर्भिसको ४४ करोड मात्रै तिरेको देखिएको उल्लेख गर्दै सरकारबाट अनुदान लिएर ४१ जिल्लामा सञ्चार सुविधा पुर्याए नपुर्यायाएको विषयमा छानविन गर्नुपर्ने बताउनुभयो  । 

सरकारले तत्कालीन समयमा विपदबाट हुने जोखिम वा अन्य कुनै आपतकालीन अवस्थामा सञ्चार सहजता होस् भनेर विश्व बैंकसँग ऋण लिइदिएकाे थियाे । सरकारले आफू धितो बसेर विश्व बैंकबाट ल्याएको १ करोड १८ लाख ६५ हजार डलर अनुदानमा दिएको उहाँले बताउनुभयो ।

बाँस्कोटाले भन्नुभयो, ‘सीजीका सञ्चालकहरु भाग्यमानी हुनुहुन्छ । किनभने अरुले कम्पनी खडा गर्न जोखिम मोल्नुपर्छ । चुनौती लिनुपर्छ । तर सरकारले ऋण काढीकाढी उहाँहरुलाई अनुदान दिएको हो । तपाईँहरुले के गर्नुभयो ? १०६८ वटा पीसीओहरु बने कि बनेनन्, १करोड १८ लाख ६५ हजार डलरकाे के हुने हाे ? ’

पूर्वका ४१ जिल्लामा सञ्चार सुविधा पुर्याउन सीजी टेलिकम (तत्कालीन एसटीएम) लाई अनुदान दिएको र अहिलेसम्म कति काम भयो भन्ने विषयमा छानबिन हुने उहाँले बताउनुभयो । साथै, बाँस्कोटाले सीजीसँग २० अर्ब माग्यो भनेर खबर आएको उल्लेख गर्दै आफ्नो घरमा राख्नका लागि पैसा नमागेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘मैले मेरो घरमा राख्न मागको होइन । कति साथीहरुले सञ्चारमन्त्रीले २० अर्ब माग्यो भन्नुभयो । मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन । चाहिँदैन पनि ।’ बाँस्कोटाले जुहारी खेल्नुभन्दा पनि प्रकृयामा आए काम हुने र आफूले कुनै आग्रह पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभएको छ । 

बाँस्कोटाले शर्तअनुसार काम नगरी ढोका हुँदाहुँदै झयालबाट छिरेर अगाडि बढेपछि काम नहुने बताउनुभयो । सबै क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुका लागि सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेको उल्लेख गर्दै बाँस्कोटाले इमानदार लगानीकर्ताको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले बार्सिलोनामा सिजी टेलिकम र टर्कसेलबीच सम्झौता हुँदा आफू साक्षी पनि नबसेको र लाइसेन्स दिन्छु भनेर पनि नभनेको स्पट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Kiran

    Feb. 14, 2020, 12:30 a.m.

    These corrupt politicians can say anything to hide their heinous crimes. Who would believe him, I don't? Certainly he may have demanded money from CG to cover-up their illegal activities.

  •  0 Reply

तपाईको प्रतिक्रिया