आयोगले सरकारसँग माग्यो कुवेत घटनाको जानकारी, विदेश गएका श्रमिकको सुरक्षामा ध्यान दिन आग्रह

 फागुन २, २०७६ शुक्रबार १६:५७:४४ | उज्यालो सहकर्मी

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाएका ६ जना नेपालीकोबारेमा सरकारसँग यथार्थ जानकारी मागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई शुक्रबार पत्राचार गर्दै आयोगले घटनाबारे जानकारी मागेको हो ।

साथै आयोगले वैदेशिक रोजगारीमा गएका श्रमिकको सुरक्षा र उनीहरुको मानवअधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ ।

घटनामा घाइते भएकाको निःशुल्क उपचार गर्न, ज्यान गुमाएका श्रमिकको परिवारलाई आवश्यक राहत उपलब्ध गराउन तथा उनीहरुको सांस्कृतिक अधिकारसमेतको संरक्षण हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग आयोगले अनुरोध गरेको छ । बुधबार कुवेतमा बालुवाको ढिस्कोले पुरेर ६ जना नेपालीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमध्ये चार जनाको पहिचान खुलेका छ भने दुई जनाको पहिचान खुल्न आइतबारसम्म कुर्नुपर्ने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । केही श्रमिक घाइते पनि भएको भनिएकाले घटनाका सम्बन्धमा आयोगले ध्यानाकर्षण गराएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया