एमसीसी सम्झौता संसदमा पेश भएलगत्तै पारित हुन्छ : प्रधानमन्त्री ओली

 फागुन ३, २०७६ शनिबार १३:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाबारे सम्झौता सभामुखले संसदमा पेश गर्नासाथ पारित हुने दावी गर्नुभएको छ । 

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले एमसीसी सम्बन्धित प्रस्ताव संसदमा रहेको र सभामुखले संसदमा निर्णयार्थ पेश गर्नासाथ पारित हुने दाबी गर्नुभएको हो । 

एमसीसी पारित गर्ने कि नगर्ने भन्नेबारेमा सत्तारुढ नेकपाभित्रै विवाद रहेका बेला प्रधानमन्त्री ओलीले सभामुखले संसदमा पेश गर्नासाथ त्यो पारित हुने दावी गर्नुभएको हो । 

एमसीसीका बारेमा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समितिले अध्ययन गरिरहेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले एमसीसीमार्फत हुने सहयोगले नेपाली अर्थतन्त्रको तस्बिर नै फेरिने दावी पनि गर्नुभएको छ ।  

आउँदाे ५ वर्षभित्र  एमसीसी परियोजना पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर बदलिने निश्चित रहेको उहाँको दावी थियो । 

एमसीसी कम्प्याक्ट अन्तर्गत अमेरिकाले दिने र नेपाल सरकारले खर्च गर्ने रकबाट निर्माण हुने प्रसारण लाइन लगायतका कामबाट देशको अर्थतन्त्र नै बदलिने उहाँकाे भनाइ थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया