भरियाबाट सफल व्यवसायी बन्नुभएका कमल

 फागुन ४, २०७६ आइतबार १४:४:३७ | टेकमान शाक्य
unn.prixa.net

भनिन्छ, जहाँ इच्छा त्यही उपाय । यो आहान धादिङ ज्यामरुङका रामप्रसाद सापकोटा (कमल) सँग ठ्याक्कै चरितार्थ हुन्छ । पारिवारिक अवस्था दयनीय भए पनि उहाँले हार खानु भएन । भरियाबाट सफल व्यवसायी बन्ने सपना देख्नुभयो । त्यो सपना पूरा गर्ने उपाय पनि मिल्यो । 

परिवारको कमजोर अवस्थाले सफल व्यवसायी बन्नबाट उहाँलाई रोकेन । कुल्लीदेखि भारी बोक्ने भरिया हुँदै धेरै दुःख र सङ्घर्ष गर्नुभएका सापकोटा अहिले सफल व्यवसायी बन्नुभएकाे छ । उहाँ अहिले ठमेलमा सफल पर्यटन व्यवसायीका रुपमा काम गरिरहनुभएको छ । ट्राभल एजेन्सी र होटललगायत सामाजिक जिम्मेवारीहरुमा पनि उहाँ सक्रिय हुनुहुन्छ । 

बिहान बेलुकाको छाक टार्न पनि अरुको काम गर्नुपर्ने अवस्थाको परिवारमा हुर्किएका कमल सफल व्यवसायी बन्छन् भन्ने कसैले सोचेकै थिएन । आर्थिक अवस्थाकै कारण उहाँलाई स्कुल पढ्न पनि समस्या थियो । कक्षा १० सम्म पढ्नका लागि खर्च जुटाउन कमलले धेरै जुक्ति निकाल्नुपर्‍यो । उहाँ भन्नुहुन्छ, ‘मैले स्कुल पढ्दादेखि नै धेरै दुःख गरेको छु । बिहान र बेलुका काम गरेर जम्मा गरेको पैसाले स्कुलको पढाइ सकेँ ।’ 

कमललाई उहाँकी आमाले एउटा बाख्रा दिनुभएको थियो । कक्षा १० सम्म जसरी पनि पढ्ने अठोट लिएका कमलले बाख्रा बेचेर पसल थाप्ने योजना बनाउनुभयो ।
उहाँले १५ सय रुपैयाँमा बाख्रा बेच्नुभयो । अनि त्यही रकमले घर नजिकै रहेको स्कुल छेउमा एउटा पसल खोल्नुभयो । बिहान बेलुका पसलमा बस्ने र कपी, कलम, चकलेटलगायत सामान बेच्ने गर्नुभयो । त्यसबाट आएको आम्दानी नै उहाँको पढाइ खर्चको स्रोत बन्यो ।

पसलका लागि सामान नजिकै पाइँदैन थियो । कसैलाई सामान ल्याइदिन लगाउने हो भने पनि फाइदा जति सबै ल्याउने मान्छेलाई नै दिनुपर्थ्याे । काम सानो/ठूलो केही हुँदैन भन्ने सोचका कमलले आफ्नो पसलको सामान डोकोमा राखेर धादिङबेसीदेखि बोकेर लैजानुहुन्थ्यो ।

‘त्यतिखेर गाडी चल्दैनथ्यो । घरबाट पाँच घण्टा हिँडेर सामान ल्याउनुपर्थ्याे । शनिबार बिदा हुने भएकोले म हप्ताभरि पुग्ने सामान शनिबार नै डोकोमा राखेर बोकेर ल्याउथेँ,’ उहाँ सम्झनुहुन्छ, ‘अरु कसैलाई सामान बोकाएको भए मेरो नाफा सबै उसलाई दिनुपर्दथ्यो । त्यसैले मैले आफैँ बोकेर ल्याउँथेँ ।’

उच्च शिक्षाका लागि भरिया

विद्यालय तहको पढाइ धान्न नसकेको कमलको परिवारले उहाँलाई उच्च शिक्षा पढाउने त परैको कुरा थियो । तर कमलले हरेस खानु भएन । भारी बोकेरै भए पनि पढेरै छाड्ने अठोट गर्नुभयो । 

पढाइ खर्च जुटाउन कतै न कतै काम गर्नु पर्ने थियो । सुरुमा पोखरामा झण्डै ६ महिना भारी ‘लोड अनलोड’ गर्ने काम गर्नुभयो । कसैले भारी बोक्न दिन्छन् कि भनेर नाम्लो समातेर बाटो कुरेर बस्नुभयो । 

पोखरा बस्दा उहाँले सिमेन्ट बोक्ने, रडहरु उचाल्नेदेखि चाउचाउ र चकलेट बोक्नेसम्मको काम गर्नुभयो । भोक लागेको बेला चाउचाउ खानुहुन्थ्यो । उहाँ सम्झनुहुन्छ, ‘लोड अनलोड गर्दा चाउचाउ र चकलेटहरु फुट्ने र झर्ने गर्थ्याे । त्यहीँ झरेका चाउचाउ टिपेर गोजीमा हालिन्थ्यो । त्यसैले भोक मेटाइन्थ्यो ।’ उहाँले यसरी दुःख गरेर उहाँले उच्च शिक्षा हासिल गर्नुभयो ।

उहाँ काठमाण्डौ आउनुको एउटै उद्देश्य थियो –उच्च शिक्षा हासिल गर्नु । तर उहाँसँग आफै कमाएर पढ्नुको विकल्प थिएन ।

औपचारिक शिक्षाको लागि प्राइभेट फारम भर्नुभयो । दिनभरि सुकिलामुकिला विदेशी पाहुनाको भारी बोक्नुभयो । नयाँ नयाँ बाटो हिँड्नुभयो । नयाँ–नयाँ परिवेश घुम्नुभयो । सधैँ क्याम्पस गएर पढ्ने र नयाँ नयाँ साथी बनाउने रहर भए पनि उहाँको अवस्थाले त्यसो गर्न दिएन ।

भरियापछि पर्यटक भरियामा ‘प्रमोशन’

भारी बोक्ने काम गर्दागर्दै उहाँ पर्यटक भरिया बन्नुभयो । पर्यटक भरिया बनाउन उहाँलाई दुई जना व्यक्तिले सहयोग गरे । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, खहरेका विष्णु धरेलको साथ लागेर पोखराबाट उहाँ काठमाण्डौ हिँड्नुभयो । 

खहरेकै हरि धरेलको ट्रेकिङ्ग कम्पनी काठमाण्डौमा थियो । त्यही कम्पनीमार्फत् पर्यटक भरियाको रुपमा काम गर्न थाल्नुभयो । उहाँ यसरी पर्यटक भरियाको रुपमा प्रमोशन हुनुभयो । पोखरामा नाम्लो बोकेर अरुको भारी बोक्ने कमलको पर्यटक भरियाको पहिलो अनुभव पनि पोखराबाटै हुने भयो ।

गाउँमा उकाली ओराली गरेको र भारी बोकेको अनुभव भए पनि भारी बोकेरै हिउँमा हिँडेको अनुभव भने उहाँसँग थिएन । अन्नपूर्ण पदयात्रामा पर्ने पोखराको घोरेपानीमा भारी बोकेर जानुपर्ने भयो । त्यो पनि ‘क्याम्पिङ ट्रेकिङ’ मा । ‘ट्रि हाउस ट्रेकिङ’ मा सामान्य सामग्री मात्रै बोक्नुपर्ने भए पनि ‘क्याम्पिङ ट्रेकिङ’ मा क्याम्प खडा गर्न आवश्यक सबै सामान बोक्नुपर्ने हुन्थ्यो । खानेकुरा, ओढ्ने र ओछ्याउनेदखि पालसहितका सामान बोकेर लैजानुपर्ने भयो ।

हिउँमा हिँड्न नजानेका कमल भारी बोक्दाबोक्दै धेरैपटक चिप्लिनुभयो । आफू हिउँमा चिप्लिएर लडे पनि विदेशी पर्यटकको भारीलाई भने उहाँले कहिल्यै लड्न दिनुभएन । 

एक हप्ताको त्यो ट्रेकिङ्ग सकेर पोखरा फर्कने समय भयो । फर्कने समयसम्म यो क्षेत्र छाड्ने सोच बनाइसक्नुभएको थियो । तर जब कमलले विदेशी पर्यटकबाट पाँच सय रुपैयाँ टिप्स पाउनुभयो, उहाँको मन फेरियो । यही क्षेत्रमै रमाउने योजना बनाउनुभयो ।

‘पहिलो गाँसमै ढुङ्गा लागेजस्तो भयो, अब यो क्षेत्र छाडेर अर्कै केही गर्नुपर्छ कि भन्ने लाग्यो,’ उहाँ भन्नुहुन्छ, ‘तर पर्यटकले दिएको त्यो पाँच सय रुपैयाँ टिप्स र केही लत्ताकपडाले मेरो मन फेरि पग्लियो । यही क्षेत्रलाई नै निरन्तरता दिनुपर्छ भन्ने लाग्यो । अनि निरन्तर पर्यटकको भारी बोक्न तल्लिन भएर लागिरहेँ ।’ 

७० रुपैयाँ ज्याला तोकिएका कमलले पाँच सय रुपैयाँ पाउँदा निकै खुशी हुनुभयो । त्यो पैसाले उहाँले कोठा भाडा तिर्नुभयो । अरु केही सामान पनि जोहो गर्नुभयो । एउटा कलेजमा पढाइ पनि सुरु गर्नुभयो । उहाँले पर्यटक गाइड भएर काम गर्नुभयो ।

‘गाइड’ भइसकेपछि पनि भारी बोक्ने काम

भरियाबाट ‘गाइड’ मा प्रमोशन भएका कमलका थुप्रै अनुभवहरु छन् । त्यसमध्ये पनि केही अनुभव उहाँले कहिल्यै बिर्सन सक्नुहुन्न । 

केही वर्षअघि सिन्धुपाल्चोकको पाँचपोखरीमा उहाँ ट्रेकिङमा जानुभएको थियो । त्यतिबेला भने उहाँ भरियाको रुपमा नभइ पर्यटक गाइडको रुपमा जानुभएको थियो । हिउँ निकै परेको थियो । पर्यटकलाई पारि तारिसक्नुभएको थियो । खोँचमा निकै हिउँ भएकोले भारी बोक्नेहरु पारि तर्न सकिरहेका थिएनन् । आफू पनि भारी बोकेरै पर्यटक गाइडमा प्रमोशन भएकाले पनि होला, उहाँले भारी बोक्नेको दुःखलाई देख्न सक्नुभएन । टुलुटुलु हेरेर बस्न मनले मानेन ।

रात पर्न लागिसकेको थियो । पर्यटकलाई त्यही राखेर उहाँ भारी बोक्नेहरुको ठाउँमा फर्कनुभयो । अनि १० देखि १२ जनाको भारी पालैपालो आफैले बोकेर पारि तारिदिनुभयो ।

‘मैले भारी बोक्ने साथीहरुलाई रित्तै हिँडाएर आफूले सबैको भारी बोकेर पारि तारिदिएँ,’ उहाँ भन्नुहुन्छ, ‘आफू गाइड भएँ भन्दैमा उहाँहरुको दुःखलाई टुलुटुलु हेरेर बसिरहन सकिनँ ।’ 

हिउँको खोँच पार गरुन्जेलसम्म निकै रात परिसकेको थियो । सबैका जुत्ताहरु भिजेका थिए । क्याम्प बनाउने ठाउँ हिउँले ढाकेको थियो । विदेशी पर्यटक जाडोले काँप्न थालिसकेका थिए । त्यस्ता धेरै अप्ठ्यारालाई उहाँले पार लगानुभएको छ । उहाँ अगाडि भन्नुहुन्छ– ‘काम सानो र ठूलो हुँदैन, आवश्यक परेको ठाउँमा जो कोहीलाई पनि सहयोग गर्नुपर्छ । अरुलाई सहयोग गरे पो आफूलाई पनि सहयोग गर्नेहरु धेरै पाइन्छ ।’

ट्रेकिङ्ग गाइड हुँदै अरु व्यवसाय

उहाँ कहिल्यै पनि खाली बस्न रुचाउनुभएन । पर्यटकको चहलपहल बढी हुने समयमा ट्रेकिङ्ग गाइड भए पनि अरु समयमा भने अन्य व्यवसाय गर्नुहुन्थ्यो । उहाँले घरमा राख्ने सिसा (ग्लास) को व्यापार गर्नुभयो । काठमाण्डौमा किराना पसल पनि चलाउनुभयो । साइबर क्याफे पनि सञ्चालन गर्नुभयो । तर पर्यटन क्षेत्रलाई भने कहिल्यै माया मार्नुभएन । 

१५ वर्षदेखि आफ्नै कम्पनी

काठमाण्डाैकाे ठमेलमा उहाँको आफ्नै कम्पनी छ । केही युवाले उहाँमार्फत् रोजगारी पनि पाएका छन् । भरियाबाट पर्यटक भरिया, अनि पर्यटक गाइड हुँदै प्रगति गर्नुभएका कमलले झण्डै १५ वर्षदेखि आफ्नै व्यवसाय गर्नुभएको छ । सन् २००४ मा उहाँले आफ्नै कम्पनी दर्ता गरी पर्यटन व्यवसायलाई निरन्तरता दिनुभएको छ ।

'काठमाण्डौ गार्डेन होम' नामक होटल सञ्चालन गर्नुभएका उहाँले माउण्टेन डिलाइट्स टुर्स एण्ड ट्राभल कम्पनीलाई साढे १ दशकदेखि अगाडि बढाइरहनु भएको छ ।

'माउण्टेन डिलाइट्स ट्रेक्स एण्ड एक्सपिडिसन ट्रेकिङ्ग कम्पनी' मार्फत् उहाँको ट्रेकिङ व्यवसाय सञ्चालन भइरहेको छ । 

कामलाई सानो वा ठूलो नभनी अघि बढेकै कारण कमल अहिले सफल पर्यटन व्यवसायी बन्नुभएको छ । अहिले उहाँसँग काठमाण्डाैमा बस्ने घर र गाडी छ । पहिले निकै सङ्घर्ष गर्नुपरेको भए पनि अहिले उहाँलाई दैनिकी चलाउन कुनै समस्या छैन ।

जे छ नेपालमै छ

उहाँका साथीहरु कोही गाउँमा नै निर्वाहमुखी कृषि पेसामा छन् भने कोही खोरिया बन्धकी राखेर कोरिया हानिएका छन् भने कोही खाडी देशमा । तर उहाँले स्वदेशमै बसेर राम्रो आर्जन सकिने उदाहरण दिनुभएको छ । युवालाई नेपालमै उद्यमशील बनाउनुपर्छ भन्ने सोचका उहाँले लामो समयदेखि उहाँले अभियान पनि चलाउँदै आउनुभएको छ । 

आफ्नो सङ्घर्षका कथा विद्यार्थीलाई सुनाएर प्रेरित गरिदिन भन्दै केही कलेजले बेलाबेलामा उहाँलाई बोलाउने गर्छन् । सङ्घर्षका कथा सुनाउन पाउँदा कमललाई अत्यन्तै गर्व र आनन्द लाग्ने गर्दछ । साँच्चै इच्छा शक्ति छ भने नेपालमै धेरै गर्न सम्भव रहेको उहाँको जीवन सङ्घर्षले प्रष्ट पारेको छ । 

अहिले राम्रै आर्थिक अवस्था भएकाहरु पनि विदेशी भूमिमा काम गर्न गएको देख्दा कमललाई निकै दुःख लाग्ने गरेको छ । उहाँले नेपाली युवाका लागि सबैभन्दा उत्तम विकल्प कृषि र पर्यटनलाई देख्नुभएको छ । 

पैसाले मात्रै व्यवसायी बनिँदैन

सफल व्यवसायी बन्नका लागि सबै थोक पैसा मात्रै हो भन्न उहाँ रुचाउनुहुन्न । पैसा आवश्यक परे पनि इच्छाशक्ति र योजना छ भने पैसा जहाँबाट पनि जुट्ने सापकोटाको अनुभव छ । सुरुमा पर्यटन व्यवसाय सञ्चालनका लागि कमलसँग पर्याप्त पैसा थिएन । सिङ्गापुरका एक जना विदेशी साथीले ९० हजार रुपैयाँ व्यवसायका लागि सहयोग गर्नुभयो । विदेशी साथीको त्यो रकमले उत्साह झनै थपियो । केही रकम उहाँले ऋण खोज्नुभयो ।

उहाँलाई हरेक व्यवसाय विस्तार गर्दा ऋण नलागेको वर्ष नै हुँदैन । तर उहाँ हरेस खानुहुन्न । सापकोटाका अनुसार ऋण लाग्दैमा डराउनु पर्दैन । बरु सुरु गरेको व्यवसायलाई कसरी फत्ते गर्ने भन्नेबारे योजना चाहिँ आफूसँग हुनुपर्छ ।

सफल व्यवसायी बन्ने सूत्र

सफल व्यवसायी बन्ने पहिलो सूत्र नै इच्छाशक्ति हो । अरुले नगरेको काम गर्नु पनि सफल व्यवसायी बन्ने लक्षण हो । नेपालमा एक जनाले एउटा व्यवसायमा सफल भएको देख्यो भने अर्कोले पनि त्यसकै नक्कल गर्ने परम्परा छ । अर्काको सिको गरेर त्यस्तै बन्छु भन्न थालियो भने कहिल्यै पनि प्रगति गर्न नसकिने सापकोटाको भनाइ छ । 

एउटै व्यापारलाई पनि नयाँ ढङ्गमा ढाल्न सकियो भने त्यसले सफलता हात पर्न सक्छ । अरुले गरिरहेको कामलाई पनि फरक ढङ्गले गर्न सकियो भने पनि सफल व्यवसायी बन्न सकिन्छ । कमलको अनुभवले के भन्छ भने व्यवसाय भनेको नै ‘नयाँ आइडिया’ हो ।

‘ट्रेकिङ व्यवसायमा पनि ठूलो प्रतिस्पर्धा छ । दुई हजारदेखि २५ सय कम्पनीले काम गरिरहेका छन् तर मैले नयाँ ढङ्गले काम गरेँ’, उहाँ भन्नुहुन्छ, ‘मैले कसैले पनि सुरु नगरेको सामाजिक पर्यटन, अर्थ पर्यटन, कृषि पर्यटनलगायतका क्षेत्रमा काम गर्ने योजना बनाएँ । अरुभन्दा फरक ढङ्गले काम अघि बढाएकै कारण आज म सफल बन्न सकेको छु ।’

सफल उद्यमीको रुपमा उहाँले एक सयभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान पाउनुभएको छ ।  

अन्तिम अपडेट: असार ३, २०७७

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया