यूएईमा अलपत्र परेकी यामकुमारीको नेपालमा परिवार भेटियो

 फागुन ६, २०७६ मंगलबार १३:३२:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – दुबईमा उपचाररत मानसिक सन्तुलन गुमाएकी ४६ वर्षीया यामकुमारी थापाको नेपालमा परिवार भेटिएको छ ।

चार वर्षअघि घरेलु काममा गएको र गएको कात्तिकदेखि सम्पर्क नभएकी श्रीमतीको खबर सञ्चारमाध्यममा देखेर थाहा पाएको यामकुमारीका श्रीमान् लालबहादुर थापाले उज्यालोसँग टेलिफोनमा बताउनुभयो ।

‘बिरामी छ भनेर कसले हो फोन गरेको थियो, त्यसपछि उसले फोन पनि गरेन, यताबाट पनि लागेन, हिजो पो फेसबुकतिर कताकता छोराछोरीले अलपत्र परेको भन्ने खबर देखेछन्,’ लालबहादुरले भन्नुभयो । श्रीमती अस्पतालमा अलपत्र परेको खबर सुनेपछि मंगलबार बिहानै गाडी चढेर लालबहादुर काठमाण्डौ आइपुग्नुभएको छ ।

यामकुमारीको उद्धारका लागि निवेदन दिन कन्सुलर सेवा विभागमा जाँदै गरेको उहाँले बताउनुभयो । यामकुमारीले घरको काममा दुःख भएकाले कम्पनीको काम गर्छु भनेर फोनमा बताउने गरेको छोरी सृजना थापाले बताउनुभयो ।

‘प्रेसरको बिरामी हुनुभएछ, काम पनि धेरै गर्नुपर्छ भन्नुहुन्थ्यो,’सृजना भन्नुहुन्छ, ‘आमाको फोन आउला भनेर बसेक थियौं, त्यस्तो पो भएछ ।’ सृजनाका अनुसार यूएई गएपछि केही समयसम्म यामकुमारीले पैसा पठाउनुभएको थियो । तर पछिल्लो समय उहाँले पैसा पनि पठाउनुभएको थिएन । हप्तामा एकपटक शुक्रबार घरमा फोन गर्ने गर्नुहुन्थ्यो ।

यामकुमारीको घर गोरखा नगरपालिका फिनाम–८ हो । यामकुमारी सन् २०१४ मा हिमालयन लजिस्टिक एण्ट रिक्रुटमेन्ट प्रालिबाट अन्तिम श्रम स्वीकृति लिएर यूएई जानुभएको हो ।

उहाँले अल मुसाइदुना इम्प्लोइमेन्ट सर्भिस कम्पनीमा अन्तिम श्रम स्वीकृति लिनुभएको छ । यामकुमारीको तीन छोरा र एक छोरी छन् । सोमबार गल्फ न्युजले यामकुमारीको बारेमा समाचार प्रकाशित गरेको थियो ।गल्फ न्युजको समाचार साभार गर्दै सोमबार यामकुमारीको अवस्थाबारे उज्यालो अनलाइनमा पनि समाचार प्रकाशित भएको थियो । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया