महिलाले हिमाल चढ्नु हुँदैन भन्ने अन्धविश्वास तोड्न सफल बझाङी चेली

 फागुन ६, २०७६ मंगलबार १३:४४:२७ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डाै – चारैतिर ठूलाठूला हिमाल, बीचमा सानो गाउँ । चैत महिनासम्म पनि हिउँ परिरहने । सिमसिम पानीसँगै फुर्रफुर्र हिउँ पर्दा कम्ती रमाइलो लाग्दैन । हेर्दा अति रमाइलो तर बस्न अत्यन्तै कठिन । यही ठाउँमा बित्यो संगीताको बालापन ।

बझाङको हिमाली क्षेत्रमा पर्ने साइपाल गाउँपालिका वडा नम्बर ४ धुलीकी संगीता राेकाया पाखा, पखेरा, छाँगा, छहारासँगै लडिबुडी गर्दै हुर्किनुभयो । दिउँसो विद्यालय जाने र साँझबिहान लेकबेसी गर्दै दिन बित्थे । हिमालसँग संगीताको प्रगाढ माया बसिसकेको थियो ।

जब उहाँ हुर्किँदै ठूलो हुनुभयो । उहाँको महिनावारी सुरु भयो । हो, त्यसपछि बढ्यो डाँडाकाँडासँग संगीताको दुरी । किनकि महिनावारी भइसकेकी केटी र महिलाले अग्लो चुचुरो चढ्न हुँदैन भन्ने मान्यता थियो । यो सुन्दा संगीताको मनमा अनेक प्रश्न उठ्थ्यो । तर मनमै राख्नुपर्थ्याे । घर, मान्छे र गाईवस्तु छुनुहुँदैन भन्ने त ठिकै थियो । तर डाँडा, चुचुरा चढ्नुहुँदैन भन्ने सुन्दा अचम्म लाग्थ्यो । 

महिनावारी र अग्ला डाँडाबीच के सम्बन्ध छ ? मनमा यही कुरा खेलिरहन्थ्यो । उहाँले आमालाई सोध्नुहुन्थ्यो– छाउ हुँदा किन डाँडा छुनुहुन्न ? आमाको उत्तर हुन्थ्यो– अग्ला डाँडा, चुचुरामा देवताको बास हुन्छ । 

बझाङलगायत सुदूरपश्चिममा महिनावारी भएको बेला अग्ला डाँडा, चुचुरा र हिमाललाई महिलाले छुन नहुने मान्यता छ । किनकि अग्लो हिमाललाई भगवान विष्णुको अवतार मानिन्छ । भगवानको बास हुने चुचुरामा महिनावारी भएकी महिलाले पाइला राखे भगवान रिसाएर अनिष्ट हुन्छ भन्ने अन्धविश्वास व्याप्त छ ।

महिनावारी भएको बेला रात परेपछि 

यस्तो सुन्दा संगीतालाई ‘होला र’ भन्ने लाग्थ्यो । घरका मान्छेलाई नभनेर डाँडा छुन मन थियो । तर कसरी ? संगीताभन्दा आमालाई छोरीको महिनावारी हुने मिति याद हुन्थ्यो । महिनावारी केही दिन तलमाथि भए किन ढिला भयो छोरी भन्दै आमाले सोध्नुहुन्थ्यो । ढाँटेर जान पनि गाह्रो थियो ।

बालापनमा हिउँ पछ्याउदै यार्सा सङ्कलन गर्न संगीता लेकतिर निकै जानुहुन्थ्यो । महिनावारी सुरु भएपछि कहिले जान पाइन्थ्यो त कहिले जान पाइँदैन थियो । किनकि महिनावारी भएको बेला रात परेपछि घर फर्किहाल्नुपर्छ । यो कुरा भनिरहँदा संगीतालाई त्यो दिनको याद आयो, जब उहाँलाई साँझ ७ बजे एक्लै घर फर्किनुपरेको थियो ।   

२०७१ सालको जेठमा संगीताको गाउँका सबै जना यार्सा टिप्न नौमुले पुगे । नौमुले यार्सा टिप्न जाने लेकको नाम हो । संगीता पनि जानुभयो । तर उहाँ गएकै दिन साँझ ७ बजे उहाँको छाउ (महिनावारी) सुरु भयो । 

अब के गर्ने ? घर फर्किनुको विकल्प थिएन । नौमुले पुग्न नपाउँदै संगीता घर फर्किनुभयो । साँझ ७ बजे कुहिरोले ढप्पक ढाकेको थियो । फर्किँदा बाटो बिर्सिनुभयो । एकातिर रात छिपिँदै थियो, अर्कोतिर बाटो बिर्सिँदा उहाँलाई डर लाग्यो । तर पनि उहाँ राति ९ बजे घर पुग्नुभयो ।

साइपाल छुने अवसर

कक्षा ८ सम्म गाउँमै पढेकी संगीता पढाइकै लागि बझाङको सदरमुकाम चैनपुर झर्नुभयो । घरबाट हिँडेर त्यहाँ पुग्न तीन दिन लाग्छ । चैनपुरमै पढाइ थाल्नुभएकी उहाँले गएको वर्ष स्थानीय रेडियोमा विज्ञापन सुन्नुभयो । 

‘बझाङी चेलीलाई साइपाल चढ्ने अवसर’ भन्ने विज्ञापन सुन्ने बित्तिकै संगीताले आवेदन दिनुभयो । उहाँको छनोट पनि भयो । छाउ हुँदा चुचुरा, डाँडा किन चढ्नु हुँदैन भन्ने कौतुहलता बोकेकी संगीतालाई योभन्दा ठूलो अवसर अरु के हुन सक्थ्यो ! 

संगीतासँगै अन्य तीन किशोरी पनि छनोट भए । छनोट हुने बित्तिकै सबैले एउटै विषयमा छलफल गरे - आखिर के हुँदोरहेछ छाउ हुँदा चुचुरा छोएमा । यसैका लागि पनि साइपाल जान उनीहरु तयार भए । 

तर यसका लागि उनीहरुका परिवार तयार थिएनन् । अभिभावकलाई सम्झाउन निकै प्रयास गर्नुपर्‍यो । आखिर उनीहरुको जिद्दीसामु अभिभावकहरुको केही लागेन । 

छनोट भएका चारै जना किशोरी हिमाल चढ्नेबारे तालिम लिन काठमाण्डौ आए । गएको वर्ष उनीहरुले चार महिना काठमाण्डौमा तालिम लिए । त्यसपछि साइपाल हिमालको आरोहणमा गए । 

हिमाल चढ्नै गाह्रो

साइपाल हिमाल गुराँस हिमश्रृङ्खला अन्तर्गत पर्ने दोस्रो हिमाल हो । यो सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पर्दछ ।  

साइपाल हिमाल कतिले आरोहण गर्‍यो भन्ने जवाफ नेपाल पर्यटन बोर्डसँग छैन । अहिलेसम्म कति वटा टोली साइपाल आरोहणका लागि गए र कतिले सफल आरोहण गरे भन्ने जानकारी पनि छैन । 

नेपाल पर्यटन बोर्डको पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले आफूहरुले ८ हजारभन्दा माथिका हिमालको मात्रै तथ्याङ्क राख्ने गरेकाले साइपाल हिमालको आरोहणबारे तथ्याङ्क नरहेको बताउनुभयो । 

गएको वर्ष दुई टोलीले साइपाल आरोहणको लागि इजाजत लिएको र त्योभन्दा पहिले कतिले लिए भन्नेबारे थाहा नभएको निरौलाले बताउनुभयो ।

२०७५ साल कात्तिक २ गते बझाङको सदरमुकामबाट हिँडेको संगीता सम्मिलित आरोहीको टोली १० गते मात्रै हाइक्याम्पमा पुग्यो । तर खराब मौसमका कारण आरोहण सफल हुन सकेन । साइपालको उचाइ ७ हजार ३१ मिटर छ तर उनीहरु पाँच हजार ३ सय मिटरको हाइक्याम्पसम्म मात्र पुग्न सके ।

आरोहण असफल भए पनि अन्धविश्वास तोड्न सफल

गत वर्ष साइपाल आरोहणका लागि गएका किशोरीले साइपाल चढ्न नसके पनि अन्धविश्वास तोडेकोमा उनीहरु गर्व गर्छन् । यो वर्ष फेरि साइपाल आरोहणको तयारीका लागि काठमाण्डौ आउनुभएकी बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ की पवित्रा बोहोराले बताउनुभयो ।

उहाँले चार जनामध्ये तीन जना चैनपुरदेखि हाइक्याम्प पुग्दासम्म पालैपालो महिनावारी भएकाले छाउ भएकै बेला आधा भए पनि हिमाल चढ्न सफल भएको बताउनुभयो ।

‘सफलताका लागि असफलतासँग जुध्नैपर्छ । एक पटक सकिनँ त के भो । अर्को पटक सक्छु । अर्को पटक नसके फेरि अर्को पटक प्रयास गर्छु । हिम्मत हार्दिनँ । साइपाल हिमाल चढ्ने मेरो सपना एक न एकदिन कसो पूरा नहोला’, पासाङ ल्याह्मु स्पोर्टस सेन्टरमा भेटिनुभएकी पवित्राले भन्नुभयो । 

साइपाल चढ्ने सपना गएको वर्ष पूरा नहुँदा उहाँ अर्को प्रयासको लागि तयारी गरिरहनुभएको छ । यसैको लागि उहाँ हिमाल चढ्ने तालिम लिइरहनु भएको छ । 
हिमाल चढ्ने सपना अधुरै रहे पनि चेलीबेटीले हिमाल चढ्नुहुँदैन भन्ने अन्धविश्वासलाई तोड्न भने सफल भएको संगीताले पनि बताउनुभयो । 

हिमाल अपवित्र बनाएको आरोप 

अनेक चुनौतीको सामना गर्दै हिमाल चढ्न गएका किशोरीमाथि उनीहरुले हिमाललाई अपवित्र बनाएको आरोप गाउँलेहरुको छ । पवित्रा भन्नुहुन्छ, ‘अहिले पनि हामीलाई धेरैले हिमाल छोएका केटीहरु भन्छन् । तर हामीले नसुनेजस्तै गर्छौँ । हामी हिमाल छुन होइन, हिमाल चढ्न गएका हौँ । यो वर्ष फेरि हामी हिमाल चढ्न जाँदै छौँ ।’

उनीहरुलाई छोरीले हिमाल चढ्नु हुँदैन भन्दै सुरुमै रोक्न खोज्ने धेरै थिए । तर पवित्रा र संगीताले कसैको कुरा सुन्नुभएन । जब उनीहरु हिमाल चढ्न नसकेर फर्किए, तब गाउँलेले कुरा काट्न थाले । देवता रिसाएर हिमाल चढ्न नसकेको भन्नेहरुकै अगाडि यो पटक हिमाल चढेरै छाड्ने संगीता बताउनुहुन्छ । 

अन्तिम अपडेट: असार २५, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया