बिहे गर्छु भन्नेले नै धोका दिएपछि...

 फागुन १४, २०७६ बुधबार १३:३३:४५ | इन्द्रसरा खड्का
unn.prixa.net

‘धाउँदा धाउँदै थाकिसकेँ । कहिले प्रहरी चौकी, कहिले राष्ट्रिय महिला आयोग, कहिले महिला अधिकारकर्मी । अब म कहाँ जाउँ ! न्यायको आशा गरिएकै ठाउँबाट अपहेलित हुनुपरेको छ ।

यस्तोमा न्यायको आश कसरी गर्नु ? तीन महिना भइसक्यो । न्यायकै लागि दौडेको,’ हालै एक किशोरीले पोखेको बिलौना हो यो । बिहे गर्ने आश्वासन दिएर सँगै बस्दै आएका केटा फरार भएपछि उनैको खोजीका लागि निरु (परिवर्तित नाम) दिनहुँ विभिन्न निकाय धाइरहनुभएको छ । 

निकट भविष्यमा बिहे गर्ने योजनाअनुसार गोरखाका रिजन बस्ताकोटीसँग निरु सँगै बस्दै आउनुभएको थियोए । २०७५ साल माघ ५ गतेदेखि सँगै बस्न थालेका निरु र रिजनले गएको मंसिर २५ गते बिहे गर्ने योजना बनाउनुभएको थियो ।

तर, रिजन मंसिर २३ गते फरार भए । निरुसँग भएको चार लाख रुपैयाँसमेत खाएर रिजन फरार भएपछि निरु उनको खोजीमा भौंतारिरहनु भएको छ ।

रिजनसँग यसरी भेट भयो 

ललितपुरकी निरु गाउँबाट शहर पसेको ५ वर्ष भयो । ११ र १२ कक्षा गाउँमै पढ्नुभएकी उहाँ स्नातक शिक्षा हासिल गर्न सहर पस्नुभयो । जिल्ला ललितपुर तर सुदूरका पहाडभन्दा विकट उहाँको गाउँ । 

सहर पसेपछि दाइ भाउजुसँगै उहाँ काठमाण्डौको कोटेश्वरमा बस्न थाल्नुभयो । पढाइसँगै उहाँले ‘जब सेन्टर’ खोल्नुभयो दाइको सहयोगमा । जब सेन्टर खोलेर कामदारका लागि आएका विज्ञापनको आधारमा मान्छे खोज्ने र काममा लगाइदिने काम उहाँले सुरु गर्नुभयो । काम राम्रै चलिरहेको थियो । आम्दानी पनि भइरहेको थियो । 

निरुले कर्मचारी आवश्यकताका विज्ञापनहरु आफ्नो फेसबुकबाट शेयर गर्नुहुन्थ्यो । काम गर्न इच्छुक कोही फोन गरेर सोध्थे भने कोही अफिसमै पुग्थे । यसैगरी धेरै जनालाई राम्रो जागिर लगाउन पनि उहाँ भ्याइसक्नुभएको थियो ।

गएको वर्ष उहाँको फेसबुकमा म्यासेज आयो । ‘मेरो बहिनीलाई रिसेप्सनको जागिर चाहिएको छ । के सहयोग गर्न सक्नुहुन्छ ?’ म्यासेज पठाउने थिए उही रिजन बस्ताकोटी । 

निरुले अफिसको नम्बर दिएर फोन गर्न म्यासेज गर्नुभयो । यो कुराकानी भएको थियो गएको वर्षको भदौ महिनामा । अर्को महिना असोजदेखि फेसबुकमा हेलो–हाइ हुन थाल्यो । कात्तिक महिनासम्म लगातार कुरा भएपछि भेटघाट सहमति बन्यो । तर समय मिलेको थिएन । 

कात्तिक १२ गते निरुको अफिसमै काम गर्ने एक जना साथीको जन्मदिन थियो । कोटेश्वरकै क्याफेमा साथीको जन्मदिन मनाइने योजना बन्यो । याेजनाअनुसार सबै साथीभाइ जम्मा भएर जन्मदिन मनाइरहेका थिए । त्यतिखेरै रिजनले फोन गरे । निरुले क्याफेमा साथीको जन्मदिन बनाइरहेको बताउनुभयो ।

रिजन उहाँलाई भेट्न क्याफेमै गए । कुराकानी भयो । सबै साथीहरुसँग चिनजान पनि भयो । रमाइलो गरेर सबैजना राति १२ फर्के । रिजन पनि आफ्नो कोठातिर लागे । त्यसपछि फेसबुकमा कुरा हुँदै गयो । तर निरु व्यस्त रहनुभएकोले भेट्ने समय मिलेको थिएन । 

रिजनले पुस १६ गते आफ्नो जन्मदिन परेको भन्दै निरुलाई जन्मदिनमा आउन निम्तो दिए । त्यसपछिका दिनमा निरु र रिजनको भेटघाट बाक्लिन थाल्यो । 
रिजन सानै हुँदा उनका आमाबुवा खसेका रहेछन् । उनी बालाजुमा आफ्नो दिदीको घरमा बस्दै आएका रहेछन् ।

रिजनले आफूले पाएको दुःख निरुलाई सुनाए । निरुलाई रिजनको कुरा सुन्दा माया लाग्यो । त्यसपछि उनीहरु पछि बिहे गर्ने सर्तमा सँगै बस्न सहमत भए । २०७५ माघ २ गतेदेखि उनीहरु सँगै बस्न थाले । 

दाजुभाउजुबाट अलग

निरुलाई रिजन मन पर्न थाल्यो । मान्छेभन्दा उनले पाएको दुःख सम्झेर । आफ्नो अफिस छँदैछ यहीबाट भए पनि दुवै जना खुसी रहन सक्ने सपना बुन्न थाल्नुभयो निरुले ।

रिजनले पनि निरुलाई विवाह गर्ने प्रस्ताव राखे । ‘दुवैजनाले एक अर्कालाई मन पराउन थालेपछि सँगै बस्न थाल्यौं,’ निरुले भन्नुभयो । दाइभाउजुसँग बस्दै आउनुभएकी निरु विवाहअगाडि नै प्रेमीसँग बस्न थालेपछि दाइभाउजुलाई मन परेन । दाइभाउजुसँगको दूरी बढ्दै गयो ।

यो कुरा उहाँका आमाबुवालाई पनि थाहा भयो । निरुका आमाबुवाले बरु बिहे गरिदिने कुरा चलाए । रिजनले मंसिरमा बिहे गर्ने जवाफ दिए । रिजनसँगै बस्न थालेपछि दाइभाउजुले निरुलाई आफ्नो कोठामा आउन दिएनन् । 

दुःखका दिन सुरु

जब निरु रिजनसँगै बस्न थालिन् । सुरुका केही दिन राम्रै बिते पनि त्यसपछि भने सम्बन्धमा फाटो सुरु भयो । रिजनले दिनहुँ निरुसँग पैसा माग्न थाले । पैसा नदिँदा रक्सी खाएर पिट्न थाले । 

दिनभर साथीसँग घुम्न जाने, साँझ रक्सी खाएर आउने रिजनको बानी निरुलाई मन परेन । दिनहुँ झगडा पर्न थाल्यो । निरुको एकातिर अफिस थियो भने अर्कोतिर जापानी भाषा सिकिरहनुभएको थियो । 

दिनभर अफिसको काम र पढाइ त्यसमाथि ससाना कुरामा रिजनको झगडाले निरुलाई दिक्क बनाउँदै लगेको थियो । एकदिन रिजनले दुई ठाउँ काम गर्दा समस्या हुने भन्दै अफिस बेचेर भाषा सिकाइमा मात्र ध्यान केन्द्रित गर्न सल्लाह दिए ।

निरुलाई पनि भाषा सिकेर जसरी पनि जापान जानु थियो । निरुले रिजनकाे सल्लाह मानेर अफिस बेच्नुभयो । त्यो पैसा पनि रिजनले नै राखे । 

जबरजस्ती गर्भपतन

रिजनसँगै बस्न थालेपछि निरुको पेटमा बच्चा बस्यो । रिजनले रातदिन बच्चा फाल्न दबाब दिन थाले । निरुले भने त्यो दबाब स्वीकार गर्नुभएन । यसले उनीहरुबीच विवाद झन् बढ्दै गयो ।

रिजनले कुटपिट गर्न थालेपछि निरुले ६ हप्ताको गर्भपतन गराउन तयार हुनुभयो । उनीहरु गर्भपतन गर्न राजधानीको एक अस्पताल पुगे । अस्पतालमा डाक्टरले औषधि खाएर वा मेसिनले गर्भपतन गराउनमध्ये एउटा विकल्प रोज्न भने ।

डाक्टरले बच्चा नजन्माएकी महिलालाई मेसिनले गाह्रो हुने भने पनि रिजनले जबरजस्ती मेसिन नै प्रयोग गर्न दबाब दिए । तर मेसिनको सहयोगमा गर्भपतन गराए ८ हजार रुपैयाँ लाग्ने भएपछि रिजनले औषधि खाएर गर्भपतन गराउन दबाब  दिन थाले ।  

राति घर फर्किएर ‘गुगल सर्च’ गरी सुरक्षित गर्भपतन गराउने ठाउँ फेला पर्‍याे । भोलिपल्ट बिहान गोङ्गबुमा रहेको मेरी स्टोपबाट गर्भपतनको औषधि ल्याएर खानुभयो । उहाँलाई पाठेघरको समस्या पहिलेदेखि नै थियो ।

गर्भपतनपछि झनै गाह्रो भयो । त्यसैबेला रिजनले कोठा सार्ने प्रस्ताव गरे । मंसिर १८ गते बालाजुबाट उनीहरु सातदोबाटोे कोठा सरे । 

त्यसपछि रिजन फरार भए 

निरु र  रिजनले एक वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएको कुरा रिजनकी दिदी कोपिला बस्ताकोटी र भाउजुलाई पनि थाहा थियो । मंसिर २५ गते गोरखा गएर बिहे गर्ने योजना थियो । त्यसअघि नै गत दशैंमा निरुका आमाबुवाले दुवैलाई टीकाटालो गरिदिए । तर, मंसिर २३ गते नै रिजन फरार भए । 

बिहान ८ बजेसम्म  निरु सुत्नुभएको थियो । रिजन बिहानै उठे । हातमुख धोएर तयार भए । सुतिरहेकी निरुलाई उठाए र भने, ‘म बाहिर जानुपर्ने भयो । तिमी खाना पकाएर खानु है ।’ निरु हुन्छ भन्दै सुतिरहनुभयो । एकै छिनपछि रिजन फेरि फर्केर आए । ‘म अलि ढिलो आउन सक्छु ।

दिउँसो खाजा खानको लागि पैसा राख,’ भन्दै रिजनले एक हजार दिन खोजे ।  निरुले एकहजार पर्दैन भन्दै एक सय राखिदिन भन्नुभयो । रिजनले तीन सय रुपैयाँ दिएर गए । जहिले रिसाउने रिजनले आज कस्तो माया गरेको भन्दै निरु मख्ख पर्नुभयो । 

निरुले दिउँसो १ बजे खाना बनाउनुभयो । खाना पकाइसकेपछि उहाँले रिजनलाई सम्झ्नुभयो । फोन गर्नुभयो । फोन नम्बर स्वीच अफ थियो । ब्याट्री सकियो होला भन्दै खाना खाएर लुगा धुन जानुभयो ।  

रिजनले साढे दुई बजे दुईपटक फोन गरेको रहेछ । किन गरेको होला भन्दै निरुले फेरि फोन गर्नुभयो । । फेरि फोनको स्वीच अफ थियो । राति ११÷१२ बजेसम्म पनि फोन अफ नै थियो ।  

उतिखेरै मनमा चिसो त पसेको थियो तर निरुलाई विश्वास लागेन । अर्को दिन निरु प्रहरीकहाँ जानुभयो । फेरि कतै झुक्किएर गएको होला, आज त आइहाल्छन् नि सोच्दै निरु कोठा फर्किनुभयो  ।

प्रहरीलाई खबरै नगरी कोठा फर्केपछि निरुले रिजनका लुगाफाटा र कागजात सबै खोजतलास गर्नुभयो । कपडा सबै थिए । तर २५ हजार रुपैयाँ र  कागजात भेटिएन । निरुले रिजनलाई खोजी गरिदिन मंसिर २५ गते प्रहरीमा जाहेरी दिनुभयो । तर, अहिलेसम्म भेटिएका छैनन् ।

उनको दिदीलाई फोन गरेर सोध्दा मेरो भाइलाई ‘तैले के गरिस्’ भन्दै दिदीले उल्टै गाली गरिन् । रिजनको भाउजुसँग निरुको कुरा हुन्थ्यो । रिजन बेपत्ता भएपछि उनकी भाउजु पनि निरुलाई चिन्न छोडिन । निरु अहिले आफ्नो माइती र रिजनको घरबाट एक्लो टाढा र एक्ली हुनुभएको छ ।  

प्रहरीको बेवास्ता

रिजनको खोजी गरिदिन भन्दै निरु मंसिर २७ गते बालाजु प्रहरी कार्यालय जानुभयो ।  बालाजुले घटना सातदोबाटोको भएको भन्दै जाउलाखेल प्रहरीमा जान भन्यो ।

सातदोबाटो प्रहरीमा निवेदन दिँदा प्रहरीले कहिले के मिलेन, कहिले के मिलने भन्दै दुई पटक उजुरी रद्द ग¥यो । तेस्रो पटक जाहेरी लिन माने पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको निरु बताउनुहुन्छ । प्रहरी कार्यालय जाँदा भोलि भोलि भन्दै फर्काउने गरेको उहाँको गुनासो छ ।

रिजनले अहिले पनि आफ्नो फेसबुक र इमेल चलाइरहेको भए पनि प्रहरीले खोजीका लागि कुनै कदम नचालेको निरुको भनाइ छ । 

आयोगले अनुसन्धान गर्दै

त्यसपछि निरुले राष्ट्रिय महिला आयोगमा उजुरी दिएपछि आयोगले प्रहरीलाई फोन गरेको थियो । आयोगबाट फोन गर्दा तत्काल प्रहरी कार्यालय आउन भने पनि आफू प्रहरीमा जाँदा नबोलाइ किन आएको भन्दै प्रहरीले थर्काएको निरुले बताउनुभयो ।

महिला आयोगले निरुको विषयमा अनुसन्धान भइरहेको बताएको छ । निरुको मुद्दामा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको आयोगको मुद्दा शाखाकी विमला खड्काले बताउनुभयो ।

कानुनअनुसार बिहे र लिभिङ टुगेदर फरक हुन् । पछिल्लो समय लिभिङ टुगेदरलाई पनि घरेलु हिंसाअन्र्तगत् राख्ने गरेकाले यस्ता उजुरी निकै बढेको खड्काको भनाइ छ । आयोगमा परेका उजुरीलाई पीडितको सल्लाहबमोजिम अघि बढाउनुपर्ने भएकाले सबैकुरा भन्न नमिल्ने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: असार २१, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया