शेयर बजारमा आज पनि कीर्तिमानी रकमकाे काराेबार

 फागुन १५, २०७६ बिहिबार १६:११:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साताको अन्तिम कारोबारको दिन आज पनि काराेबार रकमले रेकर्ड कायम गरेकाे छ ।

बुधबार ४ अर्ब १५ कराेड हाराहारीमा कीर्तिमान कायम गरेकाे शेयर बजारमा आज ४ अर्ब ३६ कराेड ५ लाख ३६ हजार २ सय ५१ रुपैयाँकाे काराेबार भएकाे छ । याे अहिले सम्मकै कीर्तिमानी रकमकाे काराेबार हाे ।

खरिदकर्ता र बिक्रीकर्ताको चाप परिवर्तन भइरहँदा बजार खुलेको केही समयसम्म तीव्र उतारचढाव देखिएको थियो तर पछि खरिदकर्ता हावी भएपछि नेप्से बढेर काराेबार बन्द भएको छ । 

नेप्से परिसूक ३६ दशमलव शुन्य ५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ११ दशमलव ६३ अंकले बढेर ३ सय ४७ दशमलव ६८ अंकमा बन्द भएको छ । आज १ सय ८० कम्पनीको १ करोड ८ लाख ५९ हजार ६ सय ५६ कित्ता शेयर खरिद बिक्री भएको छ ।

पछिल्लो एक महिनामा नेप्से परिसूचक ३ सय २६ दशमलव २९ अंकले बढेको छ । गत माघ १५ गते नेप्से परिसूचक १ हजार ३ सय ५ दशमलव ८८ अंकमा बन्द भएको थियो । बजारमा उच्च कारोबार हुनु र शेयरको माग बढ्नुको मूख्य कारण चीनमा देखिएको नोेवल कोरोना भाइरस रहेको केही लगानीकर्ताहरुको भनाइ छ ।

लगानीक्र्ता हरिश दाहालले चीनमा कारोना भाइरस देखिएपछि चीनसँग हुने व्यापारिक कारोबार ठप्प भएको र उक्त पैसा शेयर बजारमा आएकाले कारोबार रकम उच्च भएको बताउनुभयो । उहाँले दैनिक २ अर्ब भन्दा बढी रकमको आयात चीनबाट हुने गरेकोमा अहिले व्यापार रोकिँदा व्यवसायीहरुले शेयर बजारमा लगानी गरेको तर्क गर्नुभयो ।

चीनसँगको व्यापार सहज भएपछि शेयर बिक्री गरी व्यापार गर्न सजिलो हुने भएकाले पनि त्यस्ता व्यवसायीहरुले आफ्नो पूँजीलाई शेयर बजारमा लगाइरहेका छन् । जसका कारण कारोबाररम दिन दिनै बढेको छ ।  

बजारका विश्लेषकहरु भने अर्थतन्त्रका अधिकांश सूचकहरु सकरात्मक हुनु, बैंकहरुले शेयरमा लगानी बढाउनु र कम्पनीहरुको वित्तीय प्रगति राम्रो देखिनु नै बजार बढ्नुको मूख्य कारण भएको बताउँछन् । शेयर विश्लेषक रुक्मागत काफ्लेले अर्थतन्त्र सकारात्मक भएको अवस्थामा ठूला लगानीकर्ताले शेयर खरिद बढाउँदा बजार सकारात्मक भएको बताउनुभयो ।

उहाँले कुनैपनि बेला ठूला लगानीकर्ताले विक्री बढाउन सक्ने भएकाले लगानी गर्दा ध्यान दिनुपर्ने समय आएको समेत बताउनुभयो । त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिने हल्लाका कारण बजारमा कुनै असर नपर्ने तर्क विश्लेषक काफ्लेको छ ।

बजारमा ठूला लगानीकर्ता र म्युचुअल फण्ड कम्पनीहरुले शेयर खरिद बढाएकोले लगातार कारोबार रकमसँगै नेप्से बढेको छ । विश्लेषक काफ्लेले कुनैपनि बेला ठूला लगानीकर्ता र स्पेकुलेसन गर्ने लगानीकर्ताले बिक्रीचाप बढाएमा बजार फेरि तल आउन सक्ने र त्यो अवस्थामा नयाँ र साना लगानीकर्तालाई समस्या हुन सक्ने सम्भावना फेरीपनि दोहोरीन सक्ने देखिएको बताउनुभयो ।

बिहीबार नेप्से परिसूचक बढेपनि अधिकांश समूहका सूचकहरु भने घटेका छन् । बैंकिङ, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहका सूचक मात्र बढेका छन् । बैंकिङ समूह ६ दशमलव १४ प्रतिशतले, विकास बैंक समूह १ दशमलव ९१ प्रतिशतले र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५१ प्रतिशतले बढेको छ । त्यसबाहेक ९ वटा समूहका सूचकहरु घटेका छन् ।

बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार २८ करोड ९२ लाख ३७ हजार २ सय ८३ रुपैयाँ, एनआइसी एसियाको शेयर २० करोड ५९ लाख ४६ हजार ५ सय ५ रुपैयाँको खरिद बिक्री भएको छ ।

सबैभन्दा बढी एभरेष्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । त्यस्तै नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नबिल बैंक, वोमि माइक्रोफाइनान्सका शेयरधनीले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् । तर ङादि ग्रुप पावरका शेयरधनी, सिनर्जी पावर र समृद्धि फाइनान्सका शेयरधनीले ६ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया