क्वारेन्टाइनमा राखिएका १ सय ९३ जनाको दोस्रो पटक स्वास्थ्य परीक्षण गरिने

 फागुन १६, २०७६ शुक्रबार १२:२२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भक्तपुरमा क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको शनिबार दोश्रोपटक स्वास्थ्य परीक्षण गरिने भएको छ ।

कोरोना भाइरसको संक्रमण शुरु भएको चीनको वुहानबाट ल्याएका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनालाई कोरोना भए नभएकोबारे शनिबार फेरि जाँच गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको ३ गतेदेखि विश्व स्वास्थ्यको मापदण्डअनुसार क्वारेन्टाइनमा राखेको भोलि १४ दिन पुग्दैछ । यसअघि गएको ४ गते नै उनीहरुको रगत र -यालको परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले भोलि फेरि परीक्षण गर्ने भएको हो । नमूना संकलन गरिएको तीन दिनपछि रिपोर्ट आउनेछ ।

रिपोर्टमा कोरोना नभएको पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका सबैजनालाई घर पठाउने सरकारको तयारी छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुईहप्ता पछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोश्रोपटक स्वास्थ्य परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया