हुलाकी राजमार्ग निर्माण गरिरहेका ६ ओटा गाडीमा आगजनी

 फागुन २२, २०७६ बिहिबार १५:५१:३२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - हुलाकी राजमार्ग निर्माण गरिरहेको शर्मा एण्ड कम्पनीका ६ ओटा गाडीमा नचिनेका मानिसहरुकाे समूहले आगजनी गरेको छ । 

कपिलवस्तुकाे विजयनगर गाउँपालिका राजमार्गअर्न्तगत लोहारौलाको सडक निर्माण गरिरहेको २ वटा एक्स्काभेटर, २ वटा ब्याक हो लोडर र २ वटा पिक अपमा आगजनी भएकाे हाे ।

कार्यालयमा रहेका कर्मचारीको कोठामा बाहिरबाट चुकुल लगाइदिएर गाडीमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । आगलागीको खबर पाएलगत्तै कृष्णनगर नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको थियो ।  

शिवराज नगरपालिका-९, तुरुन्तपुरमा पनि निर्माणाधीन सडक किनारमा राखिएकाे स्काभेटरमा आगजनी भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयाे । आगजनीबाट ६ वटै गाडीमा नोक्सान पुगेकाे छ ।

घटनास्थलमा नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु लेखिएको पर्चा भेटिएकोे प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो । घटनाकाे थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाएकाे उहाँले बताउनुभयाे ।  

कम्पनीले रुपन्देही जिल्लामा यसअघि गरेका काममा गुणस्तर नभएको तथा कम्पनीका सञ्चालक र कर्मचारीले पार्टीको सुराकी गरेको पर्चामा उल्लेख छ । हुलाकी मार्ग निर्माण स्थल वरपरका स्थानीयलाई मुआब्जा नदिइ आफ्नै ढङ्गबाट जबरजस्ती काम सुरु गरेको पर्चामा उल्लेख छ ।                                                                                                                              


 

अन्तिम अपडेट: चैत १५, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया