‘खोइ, हाम्रो देशमा पढेका मान्छेले खेती गरेको ?’

 फागुन २८, २०७६ बुधबार १७:५३:९ | लक्ष्मण कार्की
unn.prixa.net

मन्त्री बन्नुअघिसम्म नेकपा नेता घनश्याम भुसालका कुरा सुन्दा धेरैलाई लाग्थ्यो– यी मान्छे मन्त्री बने केही गर्छन् । अध्येता तथा माक्र्सवादको व्याख्याता भएर मात्रै होइन, शीर्ष नेताहरुकै अगाडि पार्टीमा जनवादभन्दा धनवाद हावी भयो, नेतृत्वले व्यापारी र दलालसँगको संगत हटाउनुपर्‍यो भन्ने आँट गरेको केही समयमै भुसाललाई मन्त्री बन्ने अवसर मिल्यो । 

तर कृषि तथा पशुपक्षी विकास मन्त्री बनेको चार महिना बित्नै लाग्दा मन्त्री भुसाल र उहाँको मन्त्रालयले खास केही गर्न नसकेको र के गर्ने भन्ने योजनासमेत सार्वजनिक गर्न नसकेको टिप्पणी हुन थालेको छ ।

नेपालमा रोजगारका लागि विदेश जाने, खेतीयोग्य जमिन बाँझै रहने तथा अन्न, फलफुल र तरकारीदेखि मसलासम्म विदेशबाट ल्याउनुपर्ने अवस्था छ । जग्गा बाँझो छ । काम खोज्ने मान्छे मनग्य छन् । तर काम नपाएर विदेश जानुको विकल्प छैन भन्नेहरु पनि धेरै छन् ।

यस्तो अवस्थामा गर्न खोज्नेको लागि कृषि मन्त्रालय साँच्चिकै गज्जबको मन्त्रालय हो भन्नुहुन्छ, विद्यार्थीलाई खेतीसँग जोड्ने अभियान चलाइरहनुभएका जनज्योति मावि बड्डीचौर, सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देल । उहाँका अनुसार अरु मन्त्रीलाई काम देखाउन समय लाग्ला तर कृषि मन्त्रीलाई काम देखाउन सबैभन्दा सजिलो छ । 

कृषिमा सरकारको लगानी   

नेपालमा २० लाख बिगाहा जमिन बाँझो रहेको तथ्याङ्क छ । हामी अरबौं रुपैयाँको कृषिजन्य उत्पादन आयात गरिरहेका छौँ । मकैको मात्र कुरा गर्ने हो भने वर्षमा १२ अर्बको मकै आयात हुने गरेको छ । यसको मतलब मकैको मात्र उत्पादन बढाउने हो भने १२ अर्ब रुपैयाँ देशबाहिर जानबाट जोगिन्छ । अहिले सरकारले ५ अर्ब रुपैयाँ बेरोजगारका लागि भनेर छुट्याएको छ ।

त्यो ५ अर्ब मकै खेतीमा लगानी गर्ने हो भने देशलाई चाहिनेजति मकै उत्पादन गर्न सकिन्छ । त्यसैगरी लसुन, प्याज र खुर्सानीजस्ता मसला उत्पादनमा मात्रै जोड दिने हो भने पनि अर्बौं नेपाली रुपैयाँ विदेश जानबाट रोकिन्छ । 

सरकारले वर्षमा यो यो बालीको खपत यति यति परिमाणमा हुन्छ भन्ने लेखाजोखा गरेर किन्ने ग्यारेण्टी गर्ने हो भने खेतीमा सर्वसाधारणलाई आकर्षित गर्न सकिन्छ । उदाहरणका लागि लसुन उत्पादनका लागि प्रतिकेजी ५० रुपैयाँ लाग्छ । सरकारले कम्तीमा ६० रुपैयाँमा खरिद गर्ने ग्यारेण्टी गरिदिने हो भने धेरै किसानले लसुन खेती गर्न उत्साहित हुन्छन् ।

विदेशी लसुन त्योभन्दा सस्तोमा आउने भयो वा मानि लिउँ प्रतिकेजी ४० रुपैयाँमा आउने भयो भने सरकारले किलोको २० रुपैयाँ अनुदान दिन सक्नुपर्छ । यस्तो भयो भने किसानले लसुन उत्पादन गर्ने र सबैले नेपाली लसुन नै किन्ने प्रधानाध्यापक सिग्देलको तर्क छ । 

विद्यार्थीलाई खेतीसँग जोड्नुपर्छ 

सरकारले चुनावका लागि २२ अर्ब खर्च गरेर ९० दिन म्यादी प्रहरी राख्यो । ८० हजार युवालाई महिनाको १५ हजारका दरले ज्याला दियो । यसको मतलब १५ हजार रुपैयाँ ज्याला पाएर आफ्नै गाउँठाउँमा बसेर काम गर्ने युवाको कमी छैन । स्नातकोत्तर पास गरेका युवा लौरो बोकेर म्यादी प्रहरी बन्न जान्छन् भने उनीहरु खेती गर्न मान्दैनन् भन्नु तर्कसंगत होइन । त्यसैले राज्यले आह्वान गर्ने हो भने युवा जमातलाई खेतीमा आकर्षित गर्न असम्भव छैन । 

यस्तै विद्यार्थीलाई पनि खेतीसँग जोड्न सकिन्छ । नेपालमा ८३ लाख विद्यार्थी रहेको तथ्याङ्क छ । उनीहरुलाई केही काम गर्न सिकाइँदैन । केवल पढ्न, घोक्न, लेख्न र पास गर्न सिकाइन्छ । नपढे हलो जोत्नुपर्ला भनिन्छ र हलो जोत्नु सजाय हो भन्ने बुझाइन्छ । यो गलत हो । अझ अहिलेसम्म कृषि नै पढिरहेका विद्यार्थीलाई पनि खेतीसँग जोडिएको छैन । कर्णालीमा कृषि पढिरहेका १० हजार विद्यार्थीलाई पास हुनुअघि सम्भव भएसम्म खेती गर्न  प्रोत्साहित गर्न सकिन्छ । 

पढेकाले खेती गर्नुपर्ने  

उनीहरुको प्रयोगात्मक अभ्यास नै कुनै खेती गर्न वा बिरुवा हुर्काउन वा पशुपालन गर्नमा गराउन सकिन्छ । यसो नगरेसम्म पास गरेको प्रमाणपत्र नै दिनु हुँदैन । उनीहरुले फलफुलका १०÷१० वटा बिरुवा हुर्काए वा केही कुखुरा पालन गरे भने पनि धेरै कुरा सिक्छन् । यसले उत्पादन पनि बढाउँछ । लसुन, प्याज, धनियाँ र खुर्सानीलगायतका खेती वा फलफुल खेती गराउन सकिन्छ । 

बर्सेनि नेपालको अरबौँ रुपैयाँ प्याज र लसुन खरिद गर्दा बाहिर गइरहेको छ । मसुरो ३ महिनामा पाक्छ । मसुरो छर्न के नै गाह्रो छ र ! तर हामीले यसको खेती गरेका छैनौँ । मसुरो पनि विदेशबाट ल्याइरहेका छौँ । हामीले अहिलेसम्म नपढेका मानिसले गरिरहेको उत्पादन खाइरहेका छौँ । खोइ, हाम्रो देशमा पढेका मान्छे खेतीमा लागेको ? 

युवा उमेर यस्तो हो मान्छेहरु मर्नका लागि तयार हुन्छन् । ज्यानको माया मारेर लड्न तयार छन् भने मिहिनेत गर्दा मनग्य आम्दानी गर्न सकिन्छ भन्दा उनीहरु किन मान्दैनन् ।  

मलमूत्रलाई मल बनाऔं 

यस्तै, कृषि विज्ञ भनिएका मानिसका खोइ कृषि फर्म ? एउटा डाक्टरले ल्याबमा काम गर्छ । अस्पताल र क्लिनिकमा काम गर्छ । आफूलाई अपडेट राख्छ । मेडिकल अभ्यास गर्छ । तर कृषि क्षेत्रका वैज्ञानिक र विज्ञले केही गर्नुपर्दैन ? उनीहरु के अभ्यास गरेर विज्ञ वा विशेषज्ञ भइरहेका छन् ? सरकारले खोज्नुपर्छ । २०–२५ वर्षअघि पढेको मान्छेले बिना अभ्यास विज्ञ भइरहने ? 

खेती परम्परागत भयो भनिन्छ । अब त धेरै कुराका मेसिन आइसके । मेसिनको प्रयोग गरौँ । सरकारले ट्याक्टरमा दिएकोजस्तो अनुदान दिनुपर्छ । विद्यार्थीलाई मुख्य खेतीको याममा बिदा दिउँ र काम गर्न खेतबारीमा पठाउँ । यहाँ त खेती गर्नेलाई हेला गर्ने चलन छ । यो चलनलाई हटाउनुपर्‍यो । नजिकको विद्यालयसँग सहकार्य गरौँ । यसरी कृषिले काँचुली फेर्न सक्छ । 

हरेक पल्ट खेती गर्ने बेलामा बिउबिजन, मलखाद र मेसिनरी किन्न टेण्डर हुन्छ । त्यो सबै सकेर काम थाल्न ३ महिना लाग्छ । बाली पाक्ने बेलामा पनि मेसिनरी सामान र बिउ आइपुग्दैन । यो त कर्मकाण्ड मात्र भयो । 

यस्तै, कृषि अनुदान वितरणको पारा हेरौँ न । कति सास्ती छ । वास्तविक किसानलाई कति सास्ती छ अनुदान पाउन ! यस्तो अवस्थामा कोही कसरी कृषिमा आकर्षित हुनसक्छ ? मैले जनज्योतिमा डिप बोरिङ्ग खन्न ४ वर्ष सरकारी कार्यालय धाउनुप¥यो । यस्ता प्रवृत्ति हटाउनुप¥यो । त्यसैले चाहना भए बहाना बनाउनै पर्दैन । कर्मचारीले गरेनन् वा कानुनले छेक्यो वा ह्यानत्यान भन्ने कुरा सबै बहाना मात्र हुन् ।

पेटबाट खेतमा र खेतबाट पेटमा लैजाने अवधारणा लागु गर्न सकिन्छ । एक जना मानिसले वर्षभरिमा ५५० लिटर पिसाब र ५५ किलो दिसा गर्ने रहेछ । हामी मल भएन भनेर हाहाकार गरिरहेका छौँ । तर मानव मलमूत्रलाई मल बनाउन किन सकिँदैन ? सिग्देलको प्रश्न छ ।

क्युबामा कृषि क्रान्ति 

क्युबाको हरित क्रान्ति नामक पुस्तकका अनुसार आर्थिक रुपमा जर्जर बन्न थालेपछि  क्युबालाई अमेरिकाले आफूसँग झुके मात्र सहयोग गर्ने सर्त राख्यो । तर क्युबाले मानेन ।  त्यहाँको सरकारले आफ्नै अर्गानिक उत्पादनमा जोड दियो । सरकारले बाँझो जमिन भएका किसानहरु खोज्यो, भेट्यो र खेती गर्न प्रोत्साहित गर्‍यो । सुरुमा आफ्नो बाँझो जमिनमा खेती थाल्ने, त्यसपछि छिमेकमा कसैको जमिन बाँझो भए त्यहाँ पनि खेती गर्ने अभियान चलाइयो । 

आफू खेती नगर्ने र अरुलाई पनि गर्न नदिनेलाई सरकारले त्यो जग्गा सरकारको हुने ब्यहोरासहितको चिठी पठाएपछि सबैले खेती गर्न थाले । यो तरिका लोकप्रिय र प्रभावकारी भयो । जैविक विषादीका लागि १० लाख वटा निमका बोट रोपियो । अर्गानिक उत्पादन सुरु भयो । जसले क्युबामा आर्थिक क्रान्ति भयो । 

जनज्योतिको उदाहरण 

सुर्खेतको बड्डीचौरको जनज्योति उच्च माविमा १२ कक्षासम्म र प्राविधिकतर्फ १८ महिने कृषि र भेटेरिनरी तथा ३ वर्षे कृषि र भेटेरिनरी पढाइ हुन्छ । कृषि पढ्ने ३ सयभन्दा धेरै विद्यार्थी छन् । उनीहरुले कृषि र पशुपक्षीका फर्म चलाइरहेका छन् । ६० भन्दा धेरै बाख्रा, ६५ घार मौरी, केही बङ्गुर, करिब एक बिगाहामा माछापालन र च्याउ खेती पनि गरिरहेका छन् ।

विद्यार्थीले पढाइसँगै खेती पनि गर्छन् । रोजगारी पाउँछन् र उद्यम चलाउने साहस पनि बटुलिरहेका छन् । यो विद्यालयले पढ पढ मात्र भन्दैन, उत्पादन गर्न पनि सिकाइरहेको छ । विद्यालयले विद्यार्थीलाई ऋण पनि दिन्छ । 

विद्यार्थीले के खेती गर्ने वा कस्तो पशुपक्षी पालन गर्ने भनेर प्रस्ताव बनाउँछन् । सम्बन्धित विषयका शिक्षकले प्रस्ताव हेरेर सिफारिस गरेपछि एक जनालाई ५ हजारका दरले विद्यालयले निब्र्याजी ऋण दिन्छ । ५ जनाको समूह बनाए २५ हजार रुपैयाँ ऋण पाइन्छ । उनीहरुले त्यसैबाट खेती वा पशुपालन गर्छन् र पछि उत्पादन बिक्री गरेर सावाँ रकम विद्यालयलाई फिर्ता गर्छन् । 

यो विद्यालयमा पढेका धेरै विद्यार्थीले बाहिर गएर खेती वा पशुपालन गरिरहेका छन् । उनीहरुले काठमाण्डौको बूढानीलकण्ठमा ४६ वटा फर्म सञ्चालन गरिरहेको प्रधानाध्यापक सिग्देलले सुनाउनुभयो । यस्तै केही विद्यार्थीले कपिलवस्तुको चन्द्रौटामा ३० बिगाहा क्षेत्रफलमा फलफुल खेती गरिरहेका छन् ।
विद्यालयले महायज्ञ लगायो र मानिसलाई जग्गा दान गर्न आग्रह गर्दै प्राप्त जग्गामा खेती गर्ने बतायो । करिब २ सय रोपनी जग्गा दानबाट प्राप्त भयो ।

वरपरको पनि जग्गा किनेर त्यहाँ अहिले अनार खेती गरिएको उहाँले सुनाउनुभयो । यसले बाँझो जग्गामा पनि खेती गर्ने अभिप्रेरणा मिलेको छ । बाँझो जमिनमा आफूसमेत मिलेर खेती गर्दा र उत्पादनबाट कमाइ गर्दा विद्यार्थीलाई पनि आफ्नो गाउँठाउँमा गएर काम गर्ने अभिप्रेरणा मिलिरहेको प्रधानाध्यापक सिग्देलको भनाइ छ । कक्षा ६, ७ र ८ मा पेसा व्यवसाय तथा कक्षा ९ र १० मा कृषि ऐच्छिक विषय राखिएको छ । जसमा उनीहरु पढाइसँगै खेती किसानी पनि गर्छन् । 

सम्भावना देख्ने आँखा 

सिग्देलको भोगाइमा सम्भावना देख्ने कुरा आँखामा भर पर्छ । उदाहरणको लागि कुनै गाउँमा जुत्ता कारखाना खोल्न एक जना साहुले दुई जना व्यक्तिलाई सम्भाव्यता अध्ययनका लागि पठाएछ । गाउँमा कोही पनि मानिसले जुत्ता लगाउँदैन थिए । स्थलगत भ्रमणपछि पहिलो व्यक्तिले आफ्नो रिपोर्टमा भनेछ, ‘गाउँमा एक जनाले पनि जुत्ता लगाउँदैन । त्यसैले यहाँ कारखाना खोलेर काम छैन ।’ 

त्यही ठाउँमा सम्भाव्यता अध्ययन गर्न गएका अर्का व्यक्तिले चाहिँ ‘यो ठाउँमा कसैले पनि जुत्ता लगाउँदैन । उनीहरुलाई जुत्ताको बानी लगाउन सकिन्छ । त्यसैले जुत्ता कारखानाको प्रचुर सम्भावना छ’ भनेछ । उद्योगीले दोस्रो व्यक्तिलाई जागिर दिएछ । त्यसैले सम्भावना देख्ने आँखामा भर पर्छ भन्नेमा आफू सहमत भएको उहाँ बताउनुहुन्छ । ‘हामी दोस्रो व्यक्तिकोजस्तो आँखा लिएर जाग्नुपर्ने बेला भइसकेको छ’ उहाँको भनाइ छ । 

अन्तिम अपडेट: साउन २, २०७७

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया