'कोरोना राेकथामका लागि सरकारकाे तयारी सन्तोषजनक छैन'

 फागुन २९, २०७६ बिहिबार १७:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस रोकथामको लागि सरकारको तयारी सन्तोषजनक नभएको बताएका छन् । 

संघीय संसद्बाहिर पत्रकारहरुसँग कुरा गर्नुहुँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले कोरोना भाइरस फैलिन नदिनका लागि सरकारी व्यवस्थापन अपुग रहेकाे बताउनुभयो ।

विश्वलाई त्रसित बनाएको कोरोना नेपाल प्रवेश गरे नियन्त्रण गर्न गाह्रो हुने उल्लेख गर्नुहुँदै उहाँले बाहिरबाट आउने जाेकाेहीलाई पनि क्वारेण्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

सरकारले पूर्व सतर्कताका लागि विदेशबाट आउने र विदेश जाने नेपालीलाई तत्काल रोक्नुपर्ने बताउनुभयो ।

यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले काेराेना रोकथामका लागि सरकारले गरेको प्रयास पर्याप्त नभएको बताउनुभयो । 

जनतालाई सही सूचना दिन एकद्वार प्रणालीको विकास गर्न नसकेको, कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न नसकेको तथा आइसोलेसन र क्वारेण्टाइन पर्याप्त मात्रामा व्यवस्था गर्न नसकेको बडुले बताउनुभयो । 

उहाँले भाइरसकाे सङ्क्रमण भइहाल्यो भने उपचारका लागि गर्नुपर्ने तयारीमा सरकार पछाडि रहेको बताउनुभयो । जनताले उपभोग्य वस्तु र औषधि उपचारका लागि चाहिने उपकरणहरुकाे अभाव रहेकोले व्यवस्थापनका लागि सरकार समयमै सचेत हुनुपर्ने उहाँकाे भनाइ छ।

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका सांसद डा. बाबुराम भट्टराईले जुन तरिकाले तयारी हुनुपर्ने थियो त्यो हुन नसकेको बताउनुभयो । 

खुला सिमाना रहेका चीन र भारतजस्ता धेरै जनसङ्ख्या भएको देशको बीचमा रहेकाे नेपालमा जति सतर्कता अपनाउनुपर्ने थियो त्यो हुन नसकेको उहाँले बताउनुभयो ।

डा. भट्टराईले सरकारले सकारात्मक प्रयत्न गरिरहे पनि जनतालाई आतङ्कित नभएर सजग हुनुपर्छ भन्ने कुरा बुझाउन नसकेको बताउनुभयो ।

समाजवादी पार्टीका अर्का सांसद राजेन्द्र श्रेष्ठले राष्ट्रिय समस्या आउँदा मिलेर काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिम भएको देश घोषणा गरेपनि आवश्यक जनशक्ति र अन्य व्यवस्थापनतर्फ ध्यान दिन नसकेको उहाँले बताउनुभयो ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइसको संक्रमण अहिले विश्वभरि फैलिएको छ । नेपालमा यसको सङ्क्रमण नदेखिएपनि जनतामा सन्त्रास भने फैलिएको छ। 

बजारमा उपभोग्य सामान पाउन छाडेको र मूल्य बढेको गुनासाहरु जनमानसबाट आइरहेका छन् । सरकारले भने तत्कालको अवस्थामा कालोबजारी हुन नदिने र ६ महिनासम्म कुनै पनि खाद्यान्न तथा औषधिको अभाव नहुने बताउँदै आएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया