नेपालमा कोरोनाको आशङ्कामा ४ सय ५० जनाको नमूना परीक्षण, ६ जना आइसोलेसनमा

 फागुन २९, २०७६ बिहिबार १७:१९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा कोरोना भाइरसको आशङ्कामा ४ सय ५० जनाको नमूना परीक्षण गरिएको छ । तीमध्ये अहिले ६ जना मात्रै आइसोलेसनमा रहेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म नेपालमा एक जनामा मात्रै कोरोनाको सङ्क्रमण देखिएको र उनी पनि निको भएर घर फर्केको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा‍ विकास देवकोटाले ४ जना टेकु अस्पताल र २ जना पाटन अस्पतालमा आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।

यस्तै कोरोनाको आशङ्कामा निजामती अस्पतालमा एक जना बिरामी निगरानीमा रहेको तर अहिलेसम्म परीक्षण भइनसकेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्ड अनुसार नै सङ्क्रमण रोकथाम र नियन्त्रणका काम भैरहेको जनाएको छ । पूर्वतयारीको क्रममा सङ्क्रमण फैलिन नदिन उच्च जोखिममा रहेका ८ वटा देशहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट नेपाल आउनेहरुलाई रोग नभएको प्रमाणित कागजात लिएर आउने प्रावधान अनिवार्य गरिएको छ । 

उच्च जोखिम भएका देशहरुबाट आउने सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रिनिङ र फारम भर्ने काम पनि लागु गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

विदेशबाट आउने व्यक्तिले आफैँ क्वारेण्टाइनमा बस्नेगरी नियम पालना गर्नु पर्नेछ । सरकारले चीन र भारतसँग सिमाना जोडिएका ४३ वटा नाकामा हेल्थ डेस्क राखेको उहाँले जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमणको निगरानी, रोकथाम र नियन्त्रणका लागि १८ जना करारका कर्मचारी खटाउने गरी तयारी भएको स्वास्थ्य सचिव यादव कोइरालाले बताउनुभयो ।

उहाँले आवश्यक आइसोलेसन कक्ष, औषधि उपकरण र जनशक्तिको अनुमानसहित योजना तयार पारेको पनि जानकारी दिनुभयो । 

शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राख्न र आवश्यक उपचार गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र एपीएफ अस्पताललाई तोकिएको छ । अरु अस्पताललाई पनि सूचीकरण गरिसकिएको मन्त्रालयले जनाएको छ । 

साथै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले २ वटा ल्याब तयारी अवस्थामा रहेको जानकारी दिनुभएको छ । तयारी अवस्थामा रहेका २ वटा ल्याबमध्ये अहिले एउटा मात्रै प्रयोग ल्याइएको पनि झाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sanjib Thapa

    March 13, 2020, midnight

    नेपालमा "सेन्टी भाईरस" कोरोना भन्दा पहिले तैयार भएको ले , कोरोना को प्रभाव पर्न न सकेको हो भन्ने गाई गुइ छ , धन्यवाद सेन्टी भाईरस टिम । सम्बन्धित निकाये पनि धुक्क भएर बसे भो । पशुपतीनाथ ले सबै को कल्याण गर्छन् , नसके नजिकै अर्को बेवस्ता गरेकै छन भोले बाबा ले जय भोले बाबा

  •  0 Reply

तपाईको प्रतिक्रिया