कतारमा कोरोनाको जोखिम बढेपछि नेपाली दूतावासले कन्सुलर सेवा बन्द गर्ने

 फागुन २९, २०७६ बिहिबार १७:१०:३४ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोना भाइरसको जोखिम बढेपछि कतारमा रहेको नेपाली दूतावासले कन्सुलर सेवा अस्थायी रुपमा बन्द गर्ने भएकाे छ ।

राहदानीसम्बन्धी, मागपत्र प्रमाणीकरण, यात्रा अनुमति र मृतकका शव पठाउने काम नियमित रुपमा हुने भए पनि कन्सुलर सेवा भने आउँदो आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको दूतावासले जनाएको छ ।

यी कामका लागि फोन र इमेलबाट समय लिन सकिने छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइसकेको छ ।

कतारले प्रवेशमा रोक लगाएपछि सरकारले अस्थायी रुपमा कतारका लागि श्रम स्वीकृति दिन पनि बन्द गरेको छ । अहिले कतारले कोरोना सङ्क्रमणको जोखिम घटाउन भन्दै अस्थायी रुपमा सरकारी तथा निजी शैक्षिक संस्थाहरु बन्द गरेको छ । कतारमा अहिलेसम्म २ सय ६२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कतारमा झण्डै चार लाखको सङ्ख्यामा नेपाली रहे पनि अहिलेसम्म कसैलाई कोरोनाको संक्रमण भने भएको छैन । तर जोखिम उच्च रहेको भन्दै दूतावासले सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ ।

सूचना हेर्नुहाेस्

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया