कोरोना प्रभाव : अमेरिकामा देशव्यापी संकटकाल

 चैत १, २०७६ शनिबार ११:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेपछि अमेरिकाले देशव्यापी संकटकाल घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।  राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकामा आगामी आठ हप्ता गम्भीर हुने बताउनुभयो ।

संकटकाल घोषणा गरेपछि अमेरिकाको संघीय सरकारले आपतकालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ । अमेरिकामा अहिलेसम्म कोरोनाको संक्रमणबाट ५० जनाको ज्यान गएको छ भने २३२९ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेको कोरोनाको प्रकोप नियन्त्रणका लागि अमेरिकाका विभिन्न राज्यले विभिन्न उपाय अपनाइरहेका छन् । त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ ।

के हुन्छ त राष्ट्रिय संकटकाल पछि 

स्वास्थ्यमन्त्री र अन्य अधिकारीले केही कानुनी प्रावधानलाई खुकुलो पारिदिन सक्छन्,  त्यसबाट स्वास्थ्यसेवा प्रदायकहरूलाई काम गर्न सजिलो हुन्छ । अस्पतालहरूलाई आपत्कालीन तयारीका योजना सक्रिय पार्न भनिएको छ ।

अर्को हप्तासम्म थप पाँच लाख परीक्षण उपलब्ध हुनेछन् तर आवश्यक नभएको खण्डमा परीक्षण नगराउन अधिकारीहरूको आग्रह गरेका छन् । निजी प्रयोगशाला र खोप विकासकर्ताहरूले एक महिनाभित्र ५० लाख परीक्षण उपलब्ध गराउन सक्नेछन् तर लक्षण नभएका मानिसले परीक्षण नगराउन अधिकारीहरूको सिफारिस छ ।

विद्यार्थीहरूले लिएको ऋणको ब्याज अर्को सूचना प्रकाशित नभएसम्म मिनाहा गरिएको छ । देशभरि विश्वविद्यालयहरू बन्द भएका छन् । यस्तै कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबाट प्रभावित भएका मानिसलाई सघाउन दुईहप्ते तलबी बिरामी बिदा र तीनमहिने तलबी बिदाको व्यवस्था, बीमा तथा खाद्यान्न सहयोग लगाएतका सुविधाहरु उपलब्ध हुने बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया