कोरोना भाइरस : बेलायतमा ज्यान गुमाउनेको संख्या २४ घण्टामै दोब्बर

 चैत २, २०७६ आइतबार ५:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस (कोभिड-१९ )को सङ्क्रमणबाट बेलायतमा गएकाे २४ घण्टामा थप १० जनाको ज्यान गएको छ । अहिलेसम्म काेराेनाकाे कारण बेलायतमा ज्यान गुमाउनेको संख्या २१ पुगेको बीबीसीले जनाएको छ । बेलायतमा ११ सय ४० जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएको छ । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि राष्ट्रिय प्रयासमा भाग लिन स्वास्थ्य लगायत सबै क्षेत्रसँग आग्रह गर्नुभएको छ । यसैबीच अमेरिकाले बेलायत र आयरल्याण्डलाई पनि यात्रामा प्रतिबन्ध लगाएको छ । अमेरिकाले यसअघि बेलायत बाहेक युरोपका सबै देशमाथि यात्रामा प्रतिबन्ध लगाएको थियो ।

युरोपेली सङ्घका दुई ठूला देश फ्रान्स र स्पेनले पनि कोरोनाको प्रकोप सामना गर्न इटालीको जस्तै आपतकालिन प्रतिबन्ध लगाएका छन् । इटालीले देशभर यात्रामा प्रतिबन्ध लगाउँदै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गरिसकेको छ ।

न्युजिल्याण्डले पनि यात्रामा कडाइ गर्दै देश भित्रिएकालाई क्वारेण्टाइनमा बस्न भनेकाे छ । युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, नर्वे लगायतका देशमा सङ्क्रमण र ज्यान जानेको संख्या बढीरहेको छ । 

चीनको वुहानबाट सुरु भएकाे  कोरोना भाइरस अहिलेसम्म विश्वका १५१ देशमा फैलिसकेको छ । अहिलेसम्म  १ लाख ५६ हजार ४५६ जनामा काेराेनाकाे सङ्क्रमण भएकाे पुष्टि भएको छ भने सङ्क्रमित ७४ हजार ४ सय ६० जना उपचारपछि घर फर्किएका छन् ।

काेरानाकाे कारण विश्वभर ५ हजार ८ सय २१ जनाको ज्यान गइसकेको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया