वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्नेलाई पुरस्कार

 चैत २, २०७६ आइतबार १२:३०:१० | उज्यालो सहकर्मी

काठमाण्डौ – के तपाईं वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय सञ्चालन गरिरहनुभएको छ ? यदि हुनुहुन्छ भने तपाईं राष्ट्रिय स्तरको पुरस्कारको लागि आवेदन दिन सक्नुहुन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका उद्यमीहरुलाई उनीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गर्न लागेको हो ।

‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ । श्रमिक भिसामा विदेश गई कम्तिमा एक वर्ष काम गरी फर्किएर व्यवसाय गरेकाहरुले आवेदन दिन सक्छन् । चैत २३ गतेभित्र आवेदन भरेर पठाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ । 

आवेदन दिन चाहनेले कार्यालय समयभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन सक्नुहुन्छ । तथा मन्त्रालयको वेबसाइटमा गएर आवेदनका ढाँचा डाउनलोड गरी त्यहीअनुरुप मन्त्रालयको  इमेलमा पठाउन सक्नुहुन्छ ।

आवेदनसँगै नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको पासपोर्टको प्रतिलिपि पनि अनिवार्य पेश गर्नुपर्ने हुन्छ । यस्तै व्यवसाय दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणको प्रतिलिपि, आर्थिक वर्ष २०७५/७६ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि साथमा पठाउनुपर्नेछ । 

आवेदन डाउनलाेड  यहाँबाट  गर्नुहाेस् ।

 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • surendra bdr thapa

    March 15, 2020, 1:37 p.m.

    यो न्युज अपुरो भयो, कुन चाहिं वेबसाइटमा गएर फर्म डाउनलोड गर्ने हो त्यो पनि थाहा हुनु पर्यो , त्यो भयो भने फर्म भर्न चाहने मानिसको लागि सजिलो हुने थियो /

  •  0 Reply

तपाईको प्रतिक्रिया