नेपालले एकदिवसीय क्रिकेटकाे मान्यता पाएकाे २ वर्ष पूरा, १० खेल खेल्दा यस्ताे नतिजा

 चैत २, २०७६ आइतबार १३:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमले एकदिवसीय मान्यता पाएको आइतबार दुई वर्ष पूरा हुँदैछ । सन् २०१८ मार्च १५ तारिखका दिन पपुवा न्युगिनी (पीएनजी) लाई हराएर पहिलो पटक आईसीसीको एकदिवसीय टिम भएको नेपाली क्रिकेट त्याे बेला अभिभावक बिना नै अगाडि बढिरहेको थियो ।

जिम्बाब्वेमा भएको विश्वकप छनोटमा नवौँ स्थानको प्लेअफमा पीएनजीलाई हराएर नेपालले ऐतिहासिक सफलता हात पारेको थियो । त्यसपछि आईसीसीको मार्गनिर्देशनमा अगाडि बढिरहेको नेपाली क्रिकेटले यो दुई वर्षमा सोचेको भन्दा निकै कम एकदिवसीय खेल खेल्यो । नेपालले अहिलेसम्म मात्र १० वटा एकदिवसीय खेल खेलेको छ । जसमा पाँच जित र पाँचमा हार बेहाेरेकाे छ ।

नेपालले सबैभन्दा धेरै यूएईसँग चार र बाँकी नेदरल्याण्ड्स, ओमान र अमेरिकासँग दुई–दुई खेल खेलेको छ । नेपालले आफूले खेलेका एकदिवसीय खेलमा राम्रो अमेरिकासँग सबैभन्दा राम्राे प्रदर्शन गरेकाे छ । जसमा दुई खेलमा दुवैमा जित निकालेको छ ।

त्यस्तै नेदरल्याण्ड्ससँग दुई खेलमा एकमा जित र एकमा हार बेहाेरेकाे छ भने यूएईसँग चार खेलमा दुईमा जित र दुईमा हार बेहाेरेकाे छ । यस्तै ओमानसँग दुई खेलमा दुवैमा हारेको छ ।

एसोसियट क्रिकेटमा राम्रो क्रिकेट समर्थक देश भनेर परिचय बनाएको नेपाली क्रिकेट टिम पछिल्लो पटक भने नतिजाका आधारमा खस्कँदो अवस्थामा रहेको छ । नेपालले घरेलु मैदानमा खेलेको त्रिकोणात्मक सिरिजमा चार खेलमा दुईमा मात्र जित निकाल्न सक्यो । टी–२० मा बढी अभ्यस्त भएका कारण एकदिवसीयमा नेपाली टिमले सोचेको जस्तो खेल्न नसकेको क्रिकेटका विश्लेषक बताउँछन् ।

एकदिवसीय क्रिकेटमा नेपालकाे तर्फबाट धेरै रन बनाउने पाँच ब्याट्सम्यान

पारस खड्का

एकदिवसीय मान्यता दिलाउँदाका कप्तान जसले नेपाली क्रिकेटलाई सतहबाट सफलताको शिखरमा पुर्‍याए । धेरैजसो समय उनकै प्रदर्शनमा नेपालको नतिजा भर पर्थ्याे । पूर्वकप्तान पारस खड्का एकदिवसीय क्रिकेटमा धेरै रन बनाउने नेपाली खेलाडी हुन् । उनले १० पारीमा तीन सय १५ रन बनाएका छन् । जसमा एउटा शतक पनि छ । उनी एकदिवसीयमा शतक बनाउने पहिलो नेपाली खेलाडी हुन् ।

पारसले यूएईविरुद्धको सिरिजमा शतक बनाएका थिए । उनले त्याे बेला एक सय १५ रनको उत्कृष्ट पारी खेलेका थिए । एकदिवसीयमा पारसले तीन सय ९८ बल खेल्दा तीन सय १५ रन बनाएका छन् । जसमा एउटा अर्धशतक पनि रहेको छ । यस्तै उनले कुल ४० चौका र पाँच छक्का प्रहार गरेका छन् । उनको ब्याटिङ औसत ३५ को रहेको छ भने स्ट्राइक रेट ७९ दशमलव १४ को छ ।

ज्ञानेन्द्र मल्ल

दोस्रो स्थानमा वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । उनले १० खेलमा दुई सय २२ रन बनाएका छन् । एकदिवसीयमा ज्ञानेन्द्रको उच्च स्कोर ५६ रन हाे । उनले एकदिवसीयमा कुल तीन सय २१ बल सामना गरेका छन् । उनकाे नाममा दुई वटा अर्धशतक पनि छ । एकदिवसीय क्रिकेटमा दुई अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी हुन् ।

यो विधाको क्रिकेटमा ज्ञोनन्द्र एक पटक 'डगआउट' भएका छन्, उनी भर्खरै घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा डगआउट भएका थिए । उनले कुल २९ चौका र एक छक्का प्रहार गरेका छन् । उसको ब्याटिङ औसत २२ दशमलव २० को रहेको छ भने ६९ दशमलव १५ को स्ट्राइक रेट छ ।

दिपेन्द्रसिंह ऐरी

एकदिवसीय क्रिकेटमा नेपालबाट धेरै रन बनाउने तेस्रो खेलाडी हुन् दिपेन्द्रसिंह ऐरी । उनले १० खेलमा एक सय ५९ रन बनाएका छन् । जसमा उनको उच्च स्कोर ४० रन रहेको छ । उनको ब्याटिङ औसत १७ दशलमव ६६ को रहेको छ भने उनले कुल दुई सय ३१ बलकाे सामना गरेका छन् ।

दिपेन्द्र अहिलेसम्म तीन पटक खाता नखोलिकन नै आउट भएका छन् । एकदिवसीयमा उनले कुल १६ चौका र तीन छक्का प्रहार गरेका छन् ।

विनोद भण्डारी

विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारीले अहिलेसम्म सात वटा एकदिवसीय खेलेका छन् । जसमा उनले एक सय ५५ रन बनाएका छन् । यो क्रममा उनले एउटा अर्धशतक पनि बनाएका छन् ।

२५ दशमलव ८३ को ब्याटिङ औसत रहेको विनोदको स्ट्राइक रेट ६७ दशमलव ९ छ । उनले अहिलेसम्म एकदिवसीयमा दुई सय २८ बल सामना गरेका छन् । जसमा उनको उच्च स्कोर ५९ रन छ । यस्तै उनले १६ चौका र दुई छक्का प्रहार गरेका छन् ।

सोमपाल कामी

नेपाली क्रिकेट टिमका ओपनर बलर सोमपाल पछिल्लो पटक स्वास्थ्य समस्याका कारण टिमबाहिर रहेका छन् । उनले बलिङमा जसरी टिमलाई जितका लागि सहयोग गरेका छन्, त्यसरी नै ब्याटिङमा पनि उनको योगदान निकै उत्कृष्ट रहेको छ ।

एकदिवसीयमा सोमपालले कुल ६ खेल खेलेका छन् । जसमा उनले एक सय ४६ रन बनाएका छन् । यो क्रममा उनको उच्च स्कोर ६१ रनको रहेको छ । उनले यो पारी यूएईमा खेलेका थिए ।

साेमपालकाे औसत ३६ दशलमव ५० को रहेको छ । उनले कुल एक सय ६४ बल खेलेका छन् । जसमा उनको स्ट्राइक रेट ८९ दशमलव ०२ को रहेको छ । उनी एक पटक शून्य रनमा पनि आउट भएका छन् । एकदिवसीयमा सोमपालले १२ चाैका र पाँच छक्का प्रहार गरेका छन् ।

एकदिवसीयमा नेपालका लागि धेरै विकेट लिने पाँच बलर

नेपाली टिमले एकदिवसीय मान्यता पाएपछि खेलेका सबै १० वटा खेलमा नेपालका सन्दीप लामिछानेले खेलेका छन् । अहिलेसम्म उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् ।

उनले अहिलेसम्म २३ विकेट लिएका छन् । सन्दीपको सर्वाधिक सफल बलिङ १६ रन खर्चिएर ६ विकेट हो । जुन उपलब्धि सन्दीपले भर्खरै अमेरिकाविरुद्ध त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हात पारेका थिए ।

दोस्रो स्थानमा सोमपाल कामी छन् । सोमपालले ६ खेलमा १३ विकेट हात पारेका छन् । भर्खरैकेा सिरिजमा भने सोमपाल टिममा थिएनन् । सोमपालको सर्वाधिक सफल बलिङ स्पेल भनेको ३३ रन दिएर ५ विकेट हाे । 

तेस्रो स्थानमा रहेका करण केसीको पनि विकेट सङ्ख्या समान १३ नै छ । तर उनले ९ वटा खेलमा यो उपलब्धि हासिल गरेका छन् । करणको उत्कृष्ट बलिङ स्पेल १५ रन खर्चिएर ४ विकेट हो ।

चौथो स्थानमा युवा खेलाडी सुशन भारी पर्छन् । उनले अहिलेसम्म ११ विकेट लिएका छन् । ओमान र अमेरिकाविरुद्धको सिरिजबाट राष्ट्रिय टिममा डेब्यू गरेका सुशनले अहिलेसम्म चार खेलमा बलिङ गर्दा ११ विकेट हात पारेका हुन् । उनको उत्कृष्ट स्पेल भनेको ५ रन खर्चिएर ४ विकेट लिनु हो । जुन अमेरिकाविरुद्ध कीर्तिपुर मैदानमा हात पारेका थिए ।

पाँचौँ नम्बरमा पारस खड्का पर्छन् । पारसले एकदिवसीय क्रिकेटमा अहिलेसम्म ९ विकेट लिएका छन् । पारसको सर्वाधिक सफल स्पेल २६ रन खर्चिएर ४ विकेट लिनु हो ।

नेपालका लागि अहिलेसम्म २ जना बलरले एकदिवसीय क्रिकेटमा पाँच वा त्याेभन्दा बढी विकेट लिएका छन् । यो गर्ने खेलाडीमा सन्दीप लामिछाने र सोमपाल कामी पर्छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया