काेराेना सङ्क्रमण नेपाल पस्न नदिने गरी सरकारले तयारी गरिरहेकाे छ : मन्त्री ढकाल

 चैत २, २०७६ आइतबार १५:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले नेपालमा कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमणलाई प्रवेश नदिने गरी आवश्यक तयारी गरेको भन्दै भयभित र आतङ्कित नहुन सबैलाई अपिल गरेको छ । 

राष्ट्रिय सभाको आइतबारको बैठकमा कोरोना सङ्क्रमणको जोखिमबाट देशलाई बचाउनका लागि सरकारबाट भइरहेका प्रयासबारे जानकारी गराउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले भयभित र आतङ्कित नबन्न सबैलाई आग्रह गर्नुभएको हो । अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट एक जना पनि सङ्क्रमित भएको नपाइएको जानकारी गराउँदै उहाँले सङ्क्रमणलाई प्रवेश नै नदिने ढङ्गले सरकारले तयारी गरिरहेको स्पष्ट पार्नुभयो ।

मन्त्री ढकालका अनुसार अहिलेसम्म नेपालमा चार सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् । सन् २०२० जनवरी ९ तारिखमा नेपाल आएका विद्यार्थीले १३ तारिखमा परीक्षण गराउँदा पोजेटिभ देखिए पनि १० दिन हस्पिटल बसाइपछि फेरि परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।

उहाँले कोरोना सङ्क्रमणलाई नेपाल प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइएको र एक अर्कामा हात मिलाउने, गला मिलाउने भन्दा पनि निश्चित दुरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुनेलगायतका काम गर्न सर्वसाधरणलाई अपिल गरिएको बताउनुभयो ।

सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले उपत्यकाभित्र र बाहिर दुई सय ३५ वटा आईसीयू बेड थप्ने तयारी गरेको उहाँले स्पष्ट पार्नुभयो । अहिले काठमाण्डौमा एक सय ७० बेडको आईसीयू सञ्चालनमा छन् । उपत्यकाभित्र एक सय २० र बाहिर एक सय १५ वटा गरेर दुई सय ३५ वटा आईसीयूको व्यवस्था तत्काल गर्ने काममा भइरहेको उहाँले बताउनुभयाे । 

त्यसैगरी एक सय ५५ वटा आईसोलेटेड बेडको व्यवस्था गरे पनि सङ्क्रमण फैलिएको अवस्थामा तीन वटा अस्पतालमा केन्द्रित भइ तीनै अस्पतालबाट कोरोना सङ्क्रमणको मात्रै सेवा दिने गरी काम भइरहेकाे उहाँले प्रष्ट पार्नुभयाे । त्यसका लागि व्यवस्था मिलाउन आवश्यक औषधि र औजारहरुको जोहो गर्ने तयारीमा सरकार लागेको उहाँकाे भनाइ छ । 

उहाँले प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन गरिएको र अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका भय आतङ्कलाई हटाउनका लागि सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको बताउनुभयो ।

चीनबाहेकका देशमा कोरोना सङ्क्रमण फैलिदै जाँदा नेपालमा पनि कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले तेस्राे देशका नागरिक र नेपाली नागरिकले १४ दिन क्वारेन्टाइनमा बस्न भनिएको उहाँले स्पष्ट पार्नुभयो ।

विदेशबाट अत्यावश्यक नेपाल आउनुपर्‍याे भने एक हप्ताकाे खकार जाँचको रिपोर्ट हेरेर कोरोना सङ्क्रमण नभएको प्रमाणित भएपछि मात्रै नेपाल प्रवेश गर्न दिने, विदेशी नागरिकको हकमा आफै क्वारेनटाइनमा बस्नुपर्ने र नेपालीहरुको हकमा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको उहाँले बताउनुभयाे । 

उहाँले भन्नुभयो, 'प्रत्येक दिन ज्वरो नाप्न ३ वटा इण्डिकेटर छन् । सुख्खा खोकी लाग्ने, ज्वरो आउने भयो भने हामी अस्पतालमा जाँच गर्छौँ । जाँच गर्दा त्यसको रिपोर्ट पोजेटिभ भयाे भने राज्यले सम्पूर्ण उपचारको जिम्मा लिन्छ । यदि त्यो भएन नेगेटिभ रिजल्ट आयो भने १४ दिनसम्म होम क्वारेन्टाइनमा बसेर सबैले देशकाे अप्ठ्यारोमा सहयोग गर्ने विश्वासका साथ यो नीतिलाई अगाडि बढाएका छौँ ।'

कुटनीतिक सम्बन्धभन्दा बाहेकका भिसाहरु वैशाख १८ गतेसम्मका लागि स्थगित गरिएको,अन्तर्राष्ट्रिय क्षेत्रमा पढ्न जाने पुराना विद्यार्थीलाई रोक नलगाइए पनि नयाँ र श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

अहिले नेपालका एक सय २९ नाकामध्ये ४३ वटा नाकामा स्वास्थ्य बिन्दु स्थापना गरिएको, छिमेकी राष्ट्रसँग जोडिएका एक सय २८ वटा पालिकाहलाई २१ बुँदे निर्देशन जारी गरी आवश्यक सावधानी अपनाउन भनिएको बताउनुभयो ।

कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको चैत ५ गतेभित्र परीक्षा सकिने र त्यसपछि स्वतः एक महिना स्कुल बन्द रहने भएकाले कोरोना महामारीको २/४ दिनको स्थिति हेरेर एसईई परीक्षा तालिकाबारे निर्णय गरिने उहाँले स्पष्ट पार्नुभयो ।

अन्तर्राष्ट्रिय फोरमहरुमा भाग नलिने, स्वदेशमै पनि कार्यक्रम नगर्ने तथा अतिआवश्यक बाहेक भोजभतेर नगर्न आमसमुदायलाई आव्हान गरिएको उहाँले बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया