बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै - कोरोना भाइरस नेपाल भित्रने डरले अहिले नागरिकले अत्यावश्यक वस्तुको भण्डारण गरिरहेका छन् । खासगरी ग्यास, दाल, चामल, नुनतेल लगायतका वस्तुको भण्डारण गर्दा बजारमा अभाव पनि देखिएको छ ।
सामान्य अवस्थामा भन्दा धेरै परिमाणमा ग्यास आयात भैइरहे पनि बजारमा ग्यास पाइन छाडेको छ । नागरिकले घर घरमा सिलिन्डर थुपारिरहेका छन् । मासिक ४३ हजार टन ग्यास खपत हुने गरेकोमा अहिले निगमले मासिक ४५ हजार टन ग्यास आयात गर्दा पनि बजारमा अभाव देखिएको छ । आयल निगम र ग्यास उद्योग संघले ग्यास नथुपार्न आग्रह गरेपनि उपभोक्ता भने ग्यासको लाइनबाट पछि हटेका छैनन् ।
ग्यास सहज रुपमा उपलब्ध हुने र यसको विकल्प पनि रहेको सरकारले जनाएको छ । खासगरी नाकाबन्दीका बेला ग्यासको अभाव रहेको र बिजुली पनि अनियमित भएको सम्झेर उपभोक्ता आत्तिएको तर अहिले ग्यास नभए पनि बिजुली नियमित भैरहेकाले नआत्तिन नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ ।
ग्यासको लाइनमा नबस्नुस्, बिजुली उपयोग गर्नुहोस : कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासको लाइनमा नबस्न उपभोक्तलाई आग्रह गर्नुभएको छ । उहाँले विद्युतीय चुल्हो र अन्य उपकरणमार्फत खाना पकाउन पनि आग्रह गर्नुभएको छ । अहिलेको अवस्थामा ग्यास आयात ठप्प नै भएपनि प्राधिकरणले नियमित बिजुली दिन सक्षम रहेको पनि दावी गर्नुभयो ।
‘अहिले ग्यासको लाइनमा बस्नु भन्दा इन्डक्सन चुल्हो किनेर खाना पकाएमा उत्तम हुन्छ, हामीले अहिले बिजुली नियमित बनाएका छौं, लोडसेडिङ छैन उपभोक्ता ग्यासको लाइनमा नबसेकै राम्रो हुन्छ ।’ घिसिङले उज्यालो अनलाइनसँग भन्नुभयो ।
उपभोक्ताले इन्डक्सन चुल्हो र अन्य विद्युतीय उपकरण बढाएमा प्राधिकरणलाई थप हौसला मिल्ने पनि घिसिङले बताउनुभयो ।
प्राधिकरणले ट्रान्सफर्मर, प्रसारणलाइन लगायतका संरचना मर्मत र विस्तार गरेकाले बिजुली अनियमित हुने सम्भावना नरहेको पनि दावी गर्नुभयो ।
अहिले बिजुलीको माग अधिकतम १३ सय मेगावाटसम्म पुगेको छ । प्राधिकरणले अत्याधिक माग हुने समय अर्थात पिक आवरमा भारतबाट ३ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ ।
४ हजारमै इन्डक्सन चुल्हो बेचिरहेको छ खाद्य व्यवस्था कम्पनी
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले पनि ४ हजार रुपैयाँमै विद्युतीय चुल्हो अर्थात इन्डक्सन चुल्हो बिक्री वितरण गरिहेको छ । २०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि चीनले नेपाललाई ११ हजार थान इन्डक्सन चुल्हो उपहार दिएको थियो ।
तत्कालीन समयमा कम्पनीले १२ हजार रुपैयाँ मूल्य राखेपछि चुल्हो बिक्री भएको थिएन । अहिले कम्पनीले मूल्य घटाएर ४ हजार रुपैयाँ कायम गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।