‘क्यासब्याक’ को नाममा सरकारले तोकेभन्दा धेरै हवाई भाडा

 चैत ८, २०७६ शनिबार १७:५९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विद्युतीय भुक्तानी प्रदायकहरुले सरकारले तोकेभन्दा धेरै हवाई भाडा लिएको पाइएको छ । 

एअरलाइन्स कम्पनीहरुले सरकारले तोकेभन्दा धेरै भाडा नलिएको दाबी गरेपनि विद्युतीय भुक्तानी प्रदायक कम्पनीले भने तोकेभन्दा धेरै भाडा लिएका छन् ।तर उनीहरुले त्यसलाई पैसा फिर्ता दिने अर्थात ‘क्यासब्याक’ मा लगेर समायोजन गरेका छन् । 

उदाहरणको लागि काठमाण्डौ-भद्रपुरको भाडा सरकारले आठ हजार नौ सय ६५ रुपैयाँ तोकेको छ । कुनै पनि हालतमा आठ हजार नौ सय ६५ रुपैयाँभन्दा धेरै भाडा लिन पाइँदैन ।

तर ई-सेवा, खल्तीलगायतका विद्युतीय सेवा प्रदायकले भने ९ हजार रुपैयाँ लिइरहेका छन् । तर उनीहरुले त्यसमा ‘क्यासब्याक’को व्यवस्था गरेको भनेर पन्छिएका छन् । 

काठमाण्डौ-पोखराको अधिकतम हवाई भाडा चार हजार नौ सय ७५ रुपैयाँ हो । तर ई-सेवाले आइतबार बिहान ८ बजेको उडानको लागि पाँच हजार रुपैयाँ भाडा तोकेको छ । त्यसमा उसले ९४ रुपैयाँ क्यासब्याक दिने जनाएको छ । 

यस्तै यती एअरलाइन्सको भाडा पनि ई-सेवाले पाँच हजार नै तोकेको छ । काठमाण्डौ-विराटनगरको अधिकतम भाडा सात हजार चार सय ४० रुपैयाँ हो । तर ई-सेवाले सात हजार चार सय ५० रुपैयाँ लिएर टिकट दिएको छ । यसमा उसले एक सय ६२ रुपैयाँ क्यासब्याक दिएको छ । 

तर सरकारले तोकेको अधिकतम भाडाभित्रै रहेर क्यासब्याक दिनुपर्ने भएपनि भुक्तानी सेवा प्रदायकले अधिकतम सिमा नाघेर भाडा निर्धारण गर्ने र त्यसमै क्यासब्याक दिएर उपभोक्तालाई छलेका छन् । 

‘भुक्तानी सेवा प्रदायकले अधिकतम भाडाको सिमाभित्रै रहेर टिकट काट्नुपर्ने हुन्छ । अधिकतम भाडाबाटै उनीहरुले क्यासब्याक दिनुपर्छ । अहिले गलत अभ्यास गरेको देखियो ’ एक एअरलाइन्स सञ्चालकले भने । 

‘नियोजित हल्ला फैलाइयो’

आन्तरिक एअरलाइन्सहरुले सरकारले तोकेकै भाडामा यात्रु ओसारपसार गरिरहेको बताएका छन् । २ दिनअघिसम्म निकै सस्तोमा उडान गरिरहेका एअरलाइन्सले शुक्रबार बिहानदेखि भाडा बढाएका थिए । 

तर बढाएको भाडा नेपाल नागरिक उडड्यन प्राधिकरणले तोकेको अधिकतम सीमाभन्दा धेरै नभएको उनीहरुको भनाइ छ । ‘यात्रु कम हुँदा अस्तिसम्म हामीले निकै सस्तो दरमा टिकट दिएका थियौं, हिजोदेखि अचानक यात्रु बढे त्यसैले भाडा बढेको हो । तर सरकारले तोकेकोभन्दा एक रुपैयाँ पनि महङ्गो लिएका छैनौं ।’ श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले भन्नुभयो । 

माग र आपूर्ति हेरेर विश्वभरि नै एअरलाइन्सको भाडा तलमाथि हुने उहाँको दाबी छ । ‘विराटनगरको भाडा केही दिनअघि १८ सय रुपैयाँसम्म झरेको थियो । त्यो बेला हामीलाई कति गाह्रो भएको थियो होला । तर अहिले सरकारले तोकेको अधिकतम सीमामा रहेर भाडा लिएका छौं । हामीलाई ठग भनेर नियोजित रुपमा हल्ला भैरहेको छ ’ मानन्धरले भन्नुभयो । 

श्री एअलाइन्सले सरकारले तोकेको अधिकतम सीमाभन्दा कम मूल्यमै टिकट बेचेको उहाँले दाबी गर्नुभयो । बुद्ध एअरका बजार प्रबन्धक रुपेश जोशीले पनि सामाजिक सञ्जालमा हल्ला गरिएजस्तो बढी भाडा नलिएको दाबी गर्नुभयो । सरकारले तोकेको भाडादरको उच्च बिन्दु कसैले पनि पार गर्न नहुने र अहिले उच्च सीमाभित्रै रहेर भाडा लिइएको उहाँले बताउनुभयो । 

‘एअरलाइन्स बिजनेस भनेको यस्तै हो । माग कम हुँदा भाडा निकै तल झर्छ । माग धेरै हुँदा माथि जान्छ । तर हरेक ठाउँमा सीमा तोकिएको हुन्छ । हाम्रोमा पनि सीमा छ, त्यसभन्दा बाहिर गएका छैनौं ।’ जोशीले भन्नुभयो । 

कोरोना भाइरसको सङ्क्रमणको डरले यात्रु कम हुँदा ३ दिनअघिसम्म देशका विभिन्न गन्तव्यमा निकै सस्तोमा टिकट बेचेका एअरलाइन्सले अहिले सरकारले तोकेको भाडाको उच्चतम बिन्दुमा टिकट बेचिरहेका छन् । 

उदाहरणको लागि काठमाण्डौबाट धनगढीको भाडा बिहीबारसम्म ४५ सय रुपैयाँसम्म झरेको थियो । तर अहिले १२ हजार चार सय पुगेको छ । पोखराको भाडा १५ सय रुपैयाँसम्म झरेकोमा अहिले ४६ सय रुपैयाँसम्म पुगेको छ । 

यस्तो छ नेपाल सरकारले तोकेको अधिकतम हवाई भाडादर 
धनगगढी-१२,४५०

माउनण्टेन फ्लाइट-११,१५०

सुर्खेत-११,२४५

भद्रपुर-८,९६५

नेपालगञ्ज-९,८५०

विराटनगर-७,४४०

राजविराज-६,११०

भैरहवा-६,१०५

लुक्ला-४,९७०

तुम्लिङटार-५,९२०

जनकपुर-४,२४०

सिमरा-३,०८०

जोमसोम-२९६०

भरतपुुर-३६०५

पोखरा-४९७५
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया