विदेशको दुःखले विजयलाई परिश्रम गर्न सिकायो

 चैत १४, २०७६ शुक्रबार १७:३६:४४ | इन्द्रसरा खड्का
unn.prixa.net

अहिले उहाँ आफ्नै गाउँमा दुःखमा सुख खोज्दै हुनुहुन्छ । दुःख सुख गाउँकै दाजुभाइहरुसँग साट्दै हुनुहुन्छ । आफ्नै गाउँ, आफ्नै डाँडापाखामा उकाली ओराली गर्नुको मज्जा बेग्लै हुन्छ । परिवारसँगै मिलेर कोदालो खन्नुको रमाइलो अर्कै हुन्छ ।

करिब १७ महिना खाडीमा बसेर अहिले गाउँमै बाख्रा पालन व्यवसायमा लाग्नुभएका विजय गाउँमै रमाइरहनुभएको छ । गाउँको दुःख र विदेशको दुःख फरक हुन्छ । गाउँमा आमाले पकाएर पस्केको सिस्नु र कोदोको रोटी खाइन्छ तैपनि विदेशमा खाएको पिजा र बर्गरभन्दा मिठो हुन्छ ।

एकातिर कम्पनी बन्द भए कोठामै बस्नुपर्ने र अर्कोतिर विश्वभर फैलिएको कोरोना भाइरसको त्रासको कारण दिनभर युवाहरु कोठाभित्र बन्धकजस्तै रहनुपर्ने बाध्यता विदेशमा छ । अहिले धेरै नेपाली युवा खाडीबाट देशलाई सम्झिरहेको बेला खाडीबाटै फर्किनुभएका विजय आफूलाई भाग्यमानी ठान्नुहुन्छ ।

अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ६ का विजय खड्का । उमेरले अहिले उहाँ २३ वर्ष पुग्नुभयो । अछामको कुरा गर्दा धेरैजसो व्यक्ति परिवारसहित मजदुरी गर्न भारतमा जान्छन् । पछिल्लो समय यस जिल्लाका युवाहरु खाडी जाने क्रम बढेको छ । 

पैसा कमाउन दुबई 

विजय गाउँकै नन्देश्वरी माविमा कक्षा १२ मा पढ्दै हुनुहुन्थ्यो । उहाँका अधिकांश साथीहरु सहर छिरे । बाँकी साथी कामको खोजीमा विदेश लागे । विजयलाई एक्लै पढ्न मन लागेन । उहाँ पनि विदेश जाने तयारीमा लाग्नुभयो । बि.स. २०७४ सालमा काठमाण्डौ आएर भिसा लगाउनुभयो । 

गाउँमा बसेर पढ्नुभन्दा विदेश गएर पैसा कमाउने सपनाले विजय बि.स. २०७४ साल जेठ २७ गते दुबईका लागि उड्नुभयो । सहमति पत्रअनुसार विजयले दुबईमा किचन हेल्परको काम गर्नुपर्ने थियो । मासिक तलब त्यहाँको ८  सय ५० रुपैयाँ र ओभर टाइम गर्दा १२ सय ५० पाउने सहमति थियो ।

तर दुबई पुग्दा उहाँलाई भाँडा माझ्ने काममा लगाइयो । तलब ५ सय ५० मात्रै दिइयो भने ओभर टाइम गर्दा पनि जम्मा ७ सय ५० मात्र पाउनुहुन्थ्यो । नेपाली रुपैयाँ २२–२३ हजार मात्र हुन्थ्यो । एकातिर नेपालमा भनिएकोभन्दा फरक काम र अर्कोतिर पैसा पनि कम हुँदा विजयलाई काम गर्न मन लागेन । 

महिनामा जम्मा दुई दिन मात्र बिदा बस्न पाइन्थ्यो । बस्ने र खाने ठेगान हुँदैन थियो । काम गर्ने होटलमा सरकारी कम्पनीका १५ हजारभन्दा बढी मानिसले खाना खान्थे । ठूला ठूला भाँडा एक्लैले हल्लाउन समेत सकिँदैन थियो । एउटा भाँडा माझ्न ६–७ जना लाग्नुपथ्र्यो । 

भाडा धुने साबुन, र ‘सेफ्टी सुज’ तीन–तीन महिनामा एक पटक मात्र दिइन्थ्यो । तर ति समान १५ दिनसम्म मात्र टिक्थ्यो । काम गर्दा लगाइने ‘सेफ्टी सुज’ नहुँदा विजयको हातखुट्टाबाट रगत बग्ने र सुन्निने गर्थे । 

अचानक ​एकदिन 

विदेश गएको १० महिनासम्म विजयले जसोतसो काम गर्नुभयो । एक दिन उहाँ र अरु चार जना साथी खाना पकाएको डेक्ची सफा गर्न लाग्नुभएको थियो । चार जनामध्ये एकजना डेक्चीभित्र पसेर माझ्नुपथ्र्यो । अरुले बाहिरबाट भाँडा थाम्नुपथ्र्यो । 

एक दिन खाना खाएर साथीहरु आराम गरिरहेका थिए । विजय भने खाना पकाएको भाँडा धुने तयारी गरिरहनुभएको थियो । अचानक त्यो भाँडा हातबाट चिप्लियो र विजयमाथि घोप्टियो । पाँच मिनेट छोपिएका विजयलाई साथीहरुले थाहा पाएर बचाए । साथीहरुले नदेखेको भए के हुन्थ्यो थाहा छैन । 

त्यो घटनापछि विजयलाई त्यहाँ काम गर्न डर लाग्न थाल्यो । एकातिर नसोचेको काम गर्नुपर्ने र अर्कोतिर पैसा पनि कम भएकोले विजय १७ महिनापछि नेपाल फर्किनुभयो । 

नेपाल फर्केपछि 
बि.स. २०७५ मा विजय नेपाल फर्किनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला टेक्नेबित्तिकै विजयले फेरि विदेश नजाने वाचा गर्नुभयो । काठमाण्डौमा एक साता बसेर अछाम जानुभएका विजय अहिले बाख्रा पालेर बस्नुभएको छ । 

उसो त विजयका आमाबुबाले पहिलेपनि घरमा बाख्रा पाल्नुभएको थियो । घरमा भएका १५ बाख्रामा विजयले २४ वटा थप्नुभयो । उहाँले गाउँभन्दा करिब एक घण्टा टाढा रहेको खोदेमा बाख्रा राख्ने गोठ निर्माण गर्नुभयो ।

१ लाख ५७ हजार रुपैयाँमा किनेर ल्याएका बाख्रालाई राख्न ५० हजार रुपैयाँको गोठ निर्माण गर्नुभयो । अहिले उहाँसँग ६० वटा बाख्रा छन् । व्यवसाय सुरु गरेको डेढ वर्षपछि विजयले तीन लाख रुपैयाँ कमाइसक्नुभएको छ । 

घोडाको सवारी

विजयका साथीहरु सहरमा मोटरसाइकल कुदाइरहेको बेला विजय भने घोडा कुदाउनुहुन्छ । बाख्रा चराउन जंगल जान परोस् चाहे घाँस काट्न टाढा बारी जान परोस् उहाँ घोडा चढेर जानुहुन्छ । 

उहाँ बस्ने गाउँमा अहिले बल्लतल्ल जीप चल्न थालेपनि लेकबेसी हिँडेर नै जानुपर्छ । एक घण्टाभन्दा बढी समय लगाएर खेतबारी पग्नुपर्छ । यस्तै विजयलाई टाढा रहेको जंगल पनि जानुपर्छ । त्यसैले आवतजावतको लागि विजयले घोडा किन्नुभयो ।

‘यो जंगल, त्यो घोडा र यि बाख्रा मेरा साथी बनेका छन् । जुन सपना देखेर विदेश गएको थिएँ । त्यो त पुरा भएन । अबको सपना यिनैबाट देखेको छु ।’ विजयले भन्नुभयो । 

रमाइला दिनहरु 

विदेशभन्दा विजयका जंगलका दिनहरु रमाइला छन् । गाउँमा बाख्रा चराउन जंगलको अभाव छैन । विजयको लागि बाख्रासँग जंगल जानुको मज्जा नै बेग्लै छ । बिहान उठ्यो, खाना खायो, बाख्रासँग जंगल गयो, फर्कियो र खाना खायो अनि सुत्यो । यस्तै रमाइलोमा विजयका दिनहरु बितिरहेका छन् ।

‘बजारमा विषादी मिसाइएका फलफुल र तरकारीभन्दा प्रकृतिले दिएको काफल, ऐँसेलु र तिर्खुला खाइन्छ । लालीगुँरास र प्याउलीका फुलहरुसँग रमाइन्छ,’ विजयले भन्नुभयो । आउँदा दिनमा पनि विजयलाई यसैगरी गाउँमै रमाउने मन छ । 

अन्तिम अपडेट: असार ७, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया